काठमाडौं। करिब तीन वर्षदेखि सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) एउटै बिन्दु वरिपरी घुमिरहेको छ। सेयर बजारमा छाएको सुस्तताले सयौं लगानीकर्ता बजार छोडेर बाहिरिएका छन्।
नीतिगत रुपमा कुनै सुधारको काम नभएको र पुँजी बजारलाई राज्यले बेवास्ता गरेको विषय पटकपटक उठ्ने गरेको छ। यस्तो समयमा सेयर बजार चलयमान बनाउन लगानीकर्ता एक जुट भएर आवाज उठाउनुपर्ने हो।
तर, नेपाली सेयर लगानीकर्ताहरु एकआपसमा आरोपप्रत्यारोप गर्न नै व्यस्त देखिन्छन्। समग्र बजारको हितमा काम गर्ने भन्दा पनि एका अर्कोको पोल खोलाखोल गर्ने र सामाजिक सञ्जालहरुमा चर्चा कमाउने प्रवृत्ति हाबी छ।
धेरै लगानीकर्ताहरु क्लबहाउस, फेसबुक, ट्विटर, भाइबर, टेलिग्रामजस्ता सामाजिक सञ्जालमा सक्रिय छन्। यस्तो प्लेटफर्मको प्रयोग गरेर उनीहरु नेप्सेमा कुन समूहको सेयर मूल्य बढ्ने वा घट्ने, दोस्रो लगानीकर्तालाई कसरी नराम्रो देखाउने भन्ने विषयमा केन्द्रित छन्।
हालै मात्र लगानीकर्ता नवराज दाहाल र विष्णुप्रसाद बस्यालबीच एक प्रकारको द्वन्द्वकै स्थिति चलिरहेको छ। बुधबार लगानीकर्ता दाहालले आफ्नो फेसबुकमा पोस्ट गर्दै लेखेका छन्, ‘विष्णु बस्याल (मेरो नजरमा नेप्सेको भाइरस)ले नेपालबाट सबै सेयर बेचेर विदेशी फन्डमा लगानी गरेको हाल नेप्सेमा नरहेको खुलासा।’ दाहालले यही पोस्टमा एउटा सञ्चारमाध्यमसँगको भिडियो अन्तर्वार्ता पनि सेयर गरेका छन्। उक्त अन्तर्वार्तामा पनि यही विषयबारे बोलेको पाउन सकिन्छ।
नीतिगत रुपमा कुनै सुधारको काम नभएको र पुँजी बजारलाई राज्यले बेवास्ता गरेको विषय पटकपटक उठ्ने गरेको छ। यस्तो समयमा सेयर बजार चलयमान बनाउन लगानीकर्ता एक जुट भएर आवाज उठाउनुपर्ने हो।
फेसबुकमा गरेको उक्त पोस्ट लगत्तै बस्याल केन्द्रित दोस्रो पोस्ट पनि दाहालले राखेका छन्। उनले लेखेका छन्, ‘१८ वर्ष भारतमा बस्यो। ५ वर्ष नेपालमा आएर बस्यो। नेपालमा लगानी गरेको सबै बेचेर विदेशी फन्डमा लगानी गर्यो अब के भन्ने त्यस्तालाई?’ दाहालले यस्तो पोस्ट लेखे पनि बस्यालले हालसम्म यसको कुनै प्रतिक्रिया दिएका छैनन्। उक्त पोस्टमा अन्य व्यक्तिहरुले मिलेर जान सुझाव दिएका छन्।
यद्यपि, यस्तो किसिमको द्वन्द्व लगानीकर्ताबीचमा धेरै हुने गरेको छ। केही समय अगाडि मात्रै तिलक कोइरला र छोटेला रौनियार (इन्भेष्टर्स फोरम नेपालका पूर्वअध्यक्ष) बीचको तिक्ततापूर्ण स्थितिको विषय बाहिर आएको थियो।
सेयर बजार सुधारको माग राखेर अनसन बस्दा रौनियारले असहयोग गरेको आरोप एक सञ्चारमाध्यमसँगको कुराकानीका क्रममा कोइरालाले लगाएसँगै उनीहरुको विवाद सतहमा देखिएको थियो।
साथै, कोइरालाले लगानीकर्ता अम्बिकाप्रसाद पौडेल (नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य तथा नेपाल इन्भेस्टर्स फोरमका पूर्वअध्यक्ष) र छोटेलाल रौनियारबीचको विवादका कारण त्यतिबेलाको लगानीकर्ताको आन्दोलन बिथोलिएको पनि तर्क गरेका थिए। ‘छोटेलाल र अम्बिकाबीच जुन झगडा छ त्यसको समाधान तिलक कोइरालाले गर्नुपर्ने हो र? त्यसको भारी मैले बोक्नुपर्ने हो र?’ कोइरालाले एक अन्तर्वार्ताका क्रममा भनेको यो विषयले सामाजिक सञ्जालमा निकै चर्चा पाएको थियो।
कोइरालाले आफूहरु अनसन बसेको समयमा छोटेलाल र अम्बिकाले असहयोग गर्दै बीचमै छोडेर भागेको आरोप लगाइरहेका छन्। यो भन्दा अगाडि छोटेलाल रौनियारले एक अन्तर्वार्ताका क्रममा आमरण अनसन बस्ने नाममा लुकेर खाएको आरोप लगाएका थिए। सो पश्चात् कोइराला र रौनियार बीचको विवाद चुलिएको हो।
रौनियारले कोइरालालाई खाना खाएर अनसन बसेको आरोप लगाएपछि त्यसको प्रतिवादमा अर्का लगानीकर्ता दिपेन्द्र अग्रवाल उत्रिएका थिए। अग्रवालले लगानीकर्ताको आन्दोलमा एक दिन पनि उपस्थित नहुने र पछि गएर खाना खाएर अनसन बस्यो भनेर आक्षेप लगाउने काम रौनियारबाट हुनु गलत भएको बताएका थिए। यस्तो पश्न उठाउने अधिकार रौनियारलाई नभएको तर्क अग्रवालको थियो।
बजारका लागिभन्दा पनि आफ्नो व्यक्तिगत फाइदाका लागि संघसंगठन खोलेर बस्नेहरुले सेयर आन्दोलनमाथि आक्षेप लगाउँदा आक्षेप लगाउने व्यक्तिको औंला भाचिन सक्ने अग्रवालको भनाइ थियो। अग्रवालले आन्दोलनमा उपस्थित हुँदा लगानीकर्ताले पिट्छन भन्ने डरले रौनियार लगानीकर्ताको आन्दोलनमा उपस्थित नभएको पनि आरोप लगाएका छन्।
यही विषयमा तिलक कोइराला र नवराज दाहालबीच पनि आरोप प्रत्यारोपको स्थिति सिर्जना भएको थियो। तिलक कोइरालाले अरुबाट परिचालित भएर आन्दोलन गरिरहेको आरोप दाहालले लगाएका थिए। जुन विषयमा पछि रौनियारले मुख खोलेपछि फेरि चर्चा पाएको थियो।
दाहालले फेसबुकमा पोस्ट लेख्दै, ‘तिलक कोइराला अरुबाट परिचालित भएर आन्दोलन गर्दैछ भन्दा मेरो खेदो खन्नेहरु अहिले छोटेलाल रौनियारले सबै पोल खोलिदिए छन् अब के भन्छौ?’ भनेर सोधेका थिए।
तत्कालीन समयमा पुँजी बजार सुधार संघर्ष समितिका संयोजक भएर तिलक कोइराला अनसनमा बस्दै गर्दा उनलाई साथ दिने हरि ढकाल (प्रतिनिधिसभा सदस्य, राष्ट्रिय स्वतन्त्र पार्टी)को भने सामाजिक सञ्जालमा खोजी हुन थालेको छ।
कोइराला आरोप्रत्यारोपमा व्यस्त हुँदै गर्दा लगानीकर्ताले भने व्यंग्य गर्दै सांसद ढकालको पोस्टर बनाएर खोजी कार्य सुरु गरेका हुन्। ‘विगतमा सेयर बजारको विकास गर्छु भनेर लागि परेका, लगानीकर्तालाई विश्वासमा पारि चितवनबाट चुनाव जितेपछि हालसम्म लगानीकर्ता माझबाट बेपत्ता हुनुभएको हुँदा देख्नु भेट्नु हुने महानुभावले साना लगानीकर्ताको जिम्मा लगाइदिनु हुन हार्दिक अनुरोध गर्दछौं’ ढकालको खोजी गर्दै बनाइएको तस्बिर सहितको पोस्टरमा लेखिएको छ। उक्त पोस्टको कमेन्टमा पनि सांसद ढकालमाथि धेरैले असन्तुष्टि पैदा गरिरहेको देख्न सकिन्छ।
पोस्टमा प्रतिक्रिया जनाउनेहरुले जुन जोगी आए पनि कानै चिरेको भनेजस्तै भयो, २०८४ पछि घण्टी हराएर मन्दिरहरुमा मात्र झुण्डिएको देख्नि पाइन्छ होला, अब नेता हो देश विकास गर्नुहुन्छ उहाँले भन्नेजस्ता विषय उल्लेख गरेका छन्। यद्यपि, उक्त पोस्टमा प्रतिक्रिया जनाउनेहरु पनि एकआपसमा पक्षविपक्षमा उभिएका छन्।
केही दिन अगाडि मात्रै लगानीकर्ता दिपेन्द्र अग्रवाल र विष्णुप्रसाद बस्यालबीच यस्तै प्रकृतिको असहमितको स्थिति देखिएको थियो। दुई लगानीकर्ताबीच एउटा लगानीकर्तालाई मूल्य यति पुग्छ भनेर किन्न लगाउने र पछि घट्दै गएर उक्त लगानीकर्ता निरास हुनुपर्ने अवस्थामा पुग्ने गरेको भन्दै दोहोरी नै चलेको थियो। अग्रवालले विष्णुलाई र विष्णुले अग्रवाललाई लगानीकर्ता मुर्ख बनाएर सेयर किन्न लगाउने गरेको आरोप लगाउँदै फेसबुकमा पोस्ट गरेका थिए।
नेपाली सेयर बजारमा करिब दर्जन हाराहारी लगानीकर्ताका संघसंगठनहरु छन्। यी संगठन र संगठनमा रहेका व्यक्तिहरु नयाँ अर्थमन्त्री, नयाँ धितोपत्रबोर्ड अध्यक्ष तथा प्रधानमन्त्री नयाँ आउँदा भेट्न पुग्ने र सामाजिक सञ्जालमा तस्बिर राख्नेसम्ममा सक्रिय देखिन्छन्। अन्यथा, सेयर बजारका सन्दर्भमा राज्यले खेल्नुपर्ने भूमिका र सुधारका सुझावहरुमा एकमत र एक स्वर भएको देखिँदैन। यही विषयलाई व्यंग्य गर्दै लगानीकर्ता तिलक कोइरालाले लेखेका छन्, ‘साथीहरुले मन्त्रीको दर्शनभेट नपाएर अझै रुवाबासी गर्दै रैछन्, एउटो फोटो खिचाउन कति मरिहत्ते हो? केही हुँदैन क्या, अनुभवले यही भन्छ।’
लगानीकर्ताहरु नै संस्थाका नाममा स–साना पसल थापेर बस्ने र एकअर्काबीच आरोपप्रत्यारोपमा उत्रिने प्रवृत्तिले नियामक तथा सम्बन्धित निकायले पुँजी बजारलाई बेवास्ता गरेको देखिन्छ।
लगानीकर्ताबीचमै केही व्यक्तिहरुले एउटा साझा संस्था बनाएर अगाडि जानुपर्ने आवाज उठाए पनि सो अनुसारको काम भएको देखिँदैन। लगानीकर्ताबीचको बेमेलको स्थितिले पुँजी बजारका लागि काम गर्नुपर्ने निकाय हाइसन्चोले बस्न पाएका छन्।