काठमाडौं। गुण एयरलाइन्सबाट उडान अनुमति(एओसी) निलम्बन फुकुवाका लागि किस्ताबन्दीमा बक्यौता तिरेर तीन वटा एटिआर जहाज उडान गर्ने प्रस्ताव नेपाल नागरिक उड्डयन प्राधिकरणले अस्वीकृत गरेको छ। प्राधिकरणका स्राेतका अनुसार गुण एयरलाइन्सले एओसी निलम्बन फुकुवाका लागि तीन वटा एटिआर जहाज ल्याएर उडाउने प्रस्ताव अगाडि सारेकोमा त्यसलाई तत्कालका लागि अस्वीकृत गरिएकाे हो।
गुणले प्राधिकरणलाई ६ करोड बढी बक्यौता तिर्न बाँकी छ। लामो समयदेखि जहाज ग्राउन्डेड भएपछि बक्यौता तिर्न सकिरहेको छैन। पटक पटक ताकेता गर्दा पनि गुणले बक्यौता नतिरेपछि केही समयअघि १ करोड रुपैयाँ बैंक ग्यारेन्टीसमेत प्राधिकरणले तानिसकेको छ।
प्राधिकरणले गुणको एओसी निलम्बन किन नगर्ने भनेर २ महिनाअघि पत्र पठाएको थियो। प्राधिकरणले पठाएको पत्रको जवाफ दिँदै गुणले किस्ताबन्दीमा बक्यौता तिर्ने र यही बीचमा ३ वटा एटिआर जहाज ल्याउने योजना पेस गरेको थियो। तर, प्राधिकरणले भने तत्कालीन अवस्थामा बक्यौता तिर्ने र कर्मचारीको तलब भुक्तानीसमेत गरेपछि मात्र बाँकी काम अगाडि बढाउने जवाफ दिएको छ।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले गुण एयरलाइन्सको एओसी खारेजी चरणमा पुगेको बताए। ‘निलम्बन भएको ६ महिना कटेपछि खारेजी प्रक्रिया अगाडि बढाउनुपर्छ,’ सूचना अधिकारी भुलले भने, ‘सकेसम्म खारेज नहोस् भन्ने धारणा हाम्रो रहन्छ, बक्यौता र कर्मचारीको तलब भुक्तानी बटमलाइनको रुपमा राखेका छौं।’ बक्यौता नतिरेसम्म एओसी निलम्बन फुकुवा नहुने भएकोले जहाज ल्याउने र उडाउने भन्ने कुरा असम्भाव रहेकाे उनले बताए।
आर्थिक संकट गहिरिएर कर्मचारीलाई तलबसमेत दिन सक्ने स्थिति नभएपछि प्राधिकरणले २०७९ फागुनमा गुण एयरलाइन्सको सम्पूर्ण उडान अनिश्चितकालका लागि बन्द गराएको थियो। प्राधिकरणले उडान बन्द गराएपछि आफूसँग भएका पाँचवटै जेटस्ट्रिम जहाज बेच्न लागेको जवाफ मौखिक रूपमा दिएको थियो।
हुन त, गुणले आफ्नो जहाज बिक्रीका लागि विदेशका विभिन्न कम्पनीसँग डिल गरे पनि हालसम्म फाइनल हुन सकेको छैन। जहाज बिक्री वा सञ्चालनका लागि एओसी नवीकरण भएको हुनुपर्छ। तर, लामो समयदेखि बक्यौता नतिरेको भन्दै प्राधिकरणले गुणको एओसी निलम्बन गरिरहेको छ।गुणसँग हाल पाँच थान ‘जेटस्ट्रिम’ र दुई थान ‘बिचक्राफ्ट‘ जहाज छन। कोभिड–१९ र त्यसपछि जारी आर्थिक मन्दीका कारण पर्यटन क्षेत्र असरको प्रत्यक्ष प्रभाव गुणमा पनि परेको थियो।
आर्थिक संकट गहिरिएर कर्मचारीलाई तलबसमेत दिन सक्ने स्थिति नभएपछि प्राधिकरणले २०७९ फागुनमा गुण एयरलाइन्सको सम्पूर्ण उडान अनिश्चितकालका लागि बन्द गराएको थियो।
खासगरी जेटस्ट्रिममा अन्य जहाजभन्दा सञ्चालन खर्च नै धेरै हुने भएकाले पनि सञ्चालक मारमा परेका थिए। अन्य जहाजभन्दा जेटस्ट्रिमले इन्धन धेरै खपत गर्ने र पार्टपुर्जासमेत महँगो भएपछि ती जहाज बिक्री गरेर ‘एटिआर’ जहाज ल्याउने योजना गुणका सञ्चालकको थियो।
तर, जारी आर्थिक मन्दीका कारण आर्थिक संकटमा पर्दै गएपछि ती जहाज विमानस्थलमै थन्काएर राखिएका छन्। जहाज पार्किङमै राखिरहँदासमेत पार्किङ शुल्क, बिमा प्रिमियम र बक्यौता रकम बढिरहेको छ।