काठमाडौं। मास्टर सेफ सन्तोष साहले मिथिला परिकार र संस्कृतिलाई प्रवर्द्धन गर्न ललितपुरको झम्सीखेलमा नयाँ रेस्टुरेन्ट ’मिथिला थाली’ सञ्चालनमा ल्याएका छन्। करिब ५० लाख रुपैयाँको लगानीमा दाजु दिलीप र सेफ लक्ष्मणसँगको सहकार्यमा सन्तोषले मिथिला थाली सञ्चालनमा ल्याएका हुन्।
गत वर्ष जेठ ६ मा जनकपुरबाट सुरु भएको मिथिला थालीलाई काठमाडौंमा एक वर्षपछि सुरु गरिएको सेफ सन्तोषले बताए। उनले भने, ’मिथिला खाना तथा कला संस्कृतिको प्रवर्द्धनका लागि मिथिला थाली सञ्चालनमा ल्याइएको हो।’ आफू बाल्यकालदेखि नै मिथिला संस्कृति र खानपानमा रमाएको स्मरण गर्दै यसको प्रवर्द्धनका लागि काम गरेको उनको भनाइ छ।
जनकपुरमा आवासीय सुविधासहित करिब ३ करोड रुपैयाँ लगानीमा मिथिला थाली सञ्चालनमा आइसकेको छ। जनकपुरपछि मिथिला थालीलाई झम्सीखेलमा सञ्चालनमा ल्याइएको हो।
बिहान १० देखि राती १० बजेसम्म मिथिला थालीमा रमाउन सकिनेछ। केही समयभित्रै ब्रेकफास्ट मेनुसहित बिहानैदखि रेस्टुराँ सञ्चालनमा ल्याइने सेफ सन्तोष बताउँछन्।
सेफ साहले डेली डाइट शीर्षकको थालीमा तीन वटा ननभेज करी, जनकपुरको लस्सी र रसमलाईलगायत परिकार राखेका छन्। मिथिला थाली ५५० रुपैयाँअन्तर्गत चोखा, भात, घिउ रोटी, तरुवा, तिलौरी, सलादको संयोजन गरेका छन्। उनका अनुसार झम्सीखेलको यो रेस्टुराँमा जनकपुरको तावा माछा पनि पाइनेछ।
रेस्टुराँलाई विभिन्न प्रकारका मिथिला आर्टले सजाइएको छ। “हामीले मिथिला कलाकारका कलाकृतिलाई रेस्टुराँमा राखेका छौं। ग्राहकले यी कला खरिद गरेर उहाँहरुलाई आर्थिक रुपमा सहयोग गर्न सक्नुहुनेछ’, उनले भने।
यस्तै, मिथिला थालीमा ग्राहकले सेवा लिएबापत तिर्ने रकमबाट १ देखि ३ रुपैयाँसम्म गरिब, अनाथ, असहाय, एकल महिला र छोरीका लागि खर्चिने उनले बताए। साहले यसअघि पनि विभिन्न सामाजिक काममा आर्थिक सहयोग गर्दै आएका छन्।
जनकपुरमा मिथिला थाली प्रतिथाली ३०० रुपैयाँ पर्ने गरेको छ। यसमा साढे एक दर्जन भेराइटीको मज्जा लिन सकिने दिलीप बताउँछन्। अहिले झम्सीखेलमा पनि धेरैभन्दा धेरै मिथिला परिकार खुवाइने उनको भनाइ छ। मिथिला थालीमा मिथिला र तराईको मेनु सेटअप गरिएकाले धेरैले रुचाउने विश्वास रहेको उनले गरे।
उनी भन्छन्, ’केही समयपछि केराका परिकार राख्नेछौं। सिर्जनात्मक रुपले सेटअप गरिने थालीलाई ग्राहकले मन पराउने अपेक्षामा छौं।’
आफूलाई भान्से भनेर चिनाउने सेफ लक्ष्मणले नेपाली खानाको ब्राण्डिङ गर्न पछाडि परिरहेको अवस्थामा मिथिला खानाको प्रवर्द्धनले विदेशीलाई समेत यसप्रति आकर्षित गर्न सकिने बताए। उनले अब मिथिला खाना पनि नेपाली खाना नै हो भन्ने बनाउनुपर्नेमा जोड दिए।
उनी भन्छन्,’यहाँको आलुको रोटी, करीलगायतलाई विश्व बजारमा लैजान सकिन्छ। ‘भ्यालु क्रिएट’ गर्न सकिन्छ।’
मिथिला थालीलाई मुलुकभित्र र बाहिरसमेत विस्तार गर्ने उनीहरुको योजना छ। केही समयमै काठमाडौंको गौशाला, विराटनगर र वीरगञ्जमा मिथिला थाली विस्तार हुनेछ। त्यसपछि केही समयमा भारत र कतारको दोहामा समेत मिथिला थाली विस्तार गरिने दिलीप बताउँछन्।