काठमाडौं। वाणिज्य बैंकहरुद्वारा प्रवाहित कर्जाको औसत ब्याजदर घटेको छ। चालू आर्थिक वर्षको ९ महिनामा कर्जाको ब्याजदर २.३ प्रतिशत बिन्दुले घटेको हो। गत वर्षको चैत मसान्तसम्म वाणिज्य बैंकहरुको औसत कर्जाको ब्याजदर १२.८४ प्रतिशत थियो। जुन चालू वर्षको सोही अवधिमा १०.५५ प्रतिशत कायम भएको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ।
राष्ट्र बैंकले चालू आर्थिक वर्षको ९ महिनाको वित्तीय अवस्था सार्वजनिक गर्दै वाणिज्य बैंकहरुको आधारदर (बेसरेट) समेत १.९७ प्रतिशत बिन्दुले घटेको बताएको हो। गत वर्षको चैत मसान्तसम्म १०.४८ प्रतिशत रहेको वाणिज्य बैंकहरुको औसत बेसरेट चालू वर्षको सोही अवधिमा ८.५१ प्रतिशत कायम भएको हो।
बैंकहरुको आधार दर नै घट्दा कर्जाको ब्याजदर समेत घटेको देखिन्छ। ब्याजदर घटेसँगै बैंकहरुबाट गत वर्षको चैत महिनासम्म परिवर्तित ब्याजदरमा ऋण लिने पुराना ऋणीलाई ब्याजको भार २.३ प्रतिशतले कम परेको छ। पुराना ऋणीहरुका लागि ब्याजभार घटिरहँदा नयाँ ऋणीहरुका लागि भने बैंकहरुले ब्याजदर घटाउने देखिँदैन।
चालु वर्षको चैत मसान्तसम्म वाणिज्य बैंकहरुको बेसरेट ८.६१ प्रतिशत कायम थियो। जुन अघिल्लो त्रैमासको तुलनामा घटेको हो। गत पुस मसान्तमा वाणिज्य बैंकहरुको औसत बेसरेट ९.४४ प्रतिशत, असोज मसान्तमा १० प्रतिशत र गत असार मसान्तमा १०.०५ प्रतिशत कायम थियो।
यही आधार दरमा वाणिज्य बैंकहरुले केही प्रतिशत प्रिमियम जोडेर कर्जाको ब्याजदर निर्धारण गरेका थिए, चालू वर्षभित्रै कर्जाको ब्याजदर बजारको मागअनुसार घटिसकेको हुँदा अब घटाउने ठाँउ नरहेको राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठ बताउँछन्। यो आर्थिक वर्षका लागि बजारको माग अनुसार नियामकीय प्रावधान पालना गर्दा र बजार व्यवस्थापन गर्दा बैंकहरुले घटाउनुपर्ने ब्याजदर घटाइसकेको हुँदा थप नघटाउने उनको अनुमान छ। राष्ट्र बैंकले समेत थप ब्याजदर घटाउने प्रवृत्तिका नयाँ नीति निर्देशन जारी नगर्ने श्रेष्ठको भनाइ छ।
कर्जाको ब्याजदर घटेसँगै निक्षेपको ब्याजदरसमेत औसतमा १.७३ प्रतिशत बिन्दुले घटेको छ। गत वर्षको ९ महिनासम्म वाणिज्य बैंकहरुको औसत निक्षेप ब्याजदर ८.२६ प्रतिशत कायम रहेकोमा चालू वर्षको सोही अवधिमा ६.५३ प्रतिशत कायम छ।
निक्षेपको ब्याजदर घट्दा बैंकहरुको खर्च घटेसँगै कर्जाको ब्याजदर समेत घटेको हो। बैंकहरुले निक्षेपकर्तालाई दिने ब्याजदरमा औसत ४ प्रतिशतसम्म स्प्रेड कायम गरी बेसरेट तय गर्न पाउँछन्। यस्तै, समीक्षा अवधिमा विकास बैंकहरुको औसत बेसरेट १०.४१ प्रतिशत र वित्त कम्पनीहरुको १२.०२ प्रतिशत कायम छ।
औसत कर्जाको ब्याजदर विकास बैंकहरुको १२.१७ प्रतिशत र वित्त कम्पनीहरुको १३.३६ प्रतिशत कायम छ। निक्षेपतर्फ चालू वर्षको चैत मसान्तसम्म विकास बैंकहरुको ७.५८ प्रतिशत र वित्त कम्पनीहरुको ८.८२ प्रतिशत कायम छ।