कोभिड महामारी, रुस–युक्रेन द्वन्द्व र त्यसपछि जारी आर्थिक मन्दीको असर विश्वभर फैलिएको छ। मन्दीको प्रभाव नेपालको पर्यटन क्षेत्रमा देखिए पनि अहिले विस्तारै लय समात्न थालेको यस क्षेत्रका व्यवसायी बताउँछन्। संख्यात्मक रुपमा पर्यटक नेपाल आउने क्रम बढेसँगै आतिथ्य क्षेत्रको व्यापारमा पनि सुधार आएको छ। काठमाडौं उपत्यकाभित्र मात्रै २ दर्जन बढी ठूला होटल सञ्चालनमा छन्। उपत्यकाबाहिर सुविधासम्पन्न होटल तथा रिसोर्ट सञ्चालन र सञ्चालनको प्रतीक्षामा छन्। तर, अहिलेको मन्दीको कारण होटल व्यवसायीहरु समस्यामा परेको र सञ्चालन खर्च धान्न नसकेर होटल बिक्री गरिएका कुरा पनि बाहिर आएका छन्। पछिल्लो समय होटल व्यापारमा कमी आए पनि यस क्षेत्रमा लगानी गर्नेहरुको आकर्षण बढेको छ। आफ्नो लगानी सुरक्षित गर्न कतिपय होटलले सञ्चालनसँगै सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) जारीसमेत गरिरहेका छन्। सञ्चालनमा रहेका केही होटलबाहेक अधिकांश समस्यामा छन्। यस्तो बेला पनि बैंक तथा वित्तीय संस्थाबाट होटल क्षेत्रमा लगानी भइरहेको छ। यिनै विषयमा होटल एसोसिएसन अफ नेपाल (हान)का पूर्वअध्यक्ष, नेपाल भ्रमण वर्ष २०११ का संयोजक एवं एसई ग्रुपका अध्यक्ष योगेन्द्र शाक्यसँग क्यापिटल नेपालका सुवास योञ्जनले गरेको कुराकानीको अंशः
पछिल्लो समय होटलहरु धेरै खुलिरहेका छन्। सञ्चालनमा रहेका केही बाहेक धेरै होटल समस्यामा परेको भन्ने सुनिन्छ। तपाईं लामो समयदेखि यो क्षेत्रमा हुनुहुन्छ? यस्तो समस्या किन आयो र कहिलेसम्ममा अन्त्य होला?
समस्या भनेको भूकम्प, कोभिडको समस्या एक ठाउँमा रहँदारहँदै पनि होटल क्षेत्रमा अहिले जारी समस्या र अझ आउनेवाला धेरै रहेको छ। अहिले होटलको संख्या आवश्यकताभन्दा धेरै छ। अहिले भएका होटलको संख्या र रुमअनुसार वार्षिक ३५ लाख पर्यटक चाहिन्छ। होटलमा न्यूनतम ७० प्रतिशत अकुपेन्सी गर्न वार्षिक ३५ लाख पर्यटक न्यूनतम ३ दिन बस्ने गरी आउनुपर्छ। त्यो भयो भने होटल सञ्चालनका लागि सहज हुन्छ, नभए सञ्चालन खर्च धान्न मुस्किल हुन्छ भन्ने तथ्य छ। भ्रमण वर्ष १९९८ मा ५ लाख , २०११ मा १० लाख र २०२० मा २० लाख पर्यटक ल्याउने टार्गेट बनाइएको थियो। धेरै जनाले प्रश्न गर्छन्, यो टार्गेट कहाँबाट आयो भन्ने। यो टार्गेट भनेको होटलको अकुपेन्सीलाई ध्यानमा राखेर गर्ने गरिन्छ। जुन संख्या आउँदा होटलले आफ्नो ऋण तिर्नेदेखि कर्मचारीलाई सेवा सुविधासहित आम्दानी गरोस् भन्ने धारणा सरकारको हो।
तर, टार्गेटअनुसारका पर्यटकहरु ल्याउन नसकेको र मुलुकभित्रको अशान्तिका कारण पटक पटक होटल व्यवसायी समस्यामा पर्दै आएका छन्। माओवादी द्वन्द्वकाे समय त्यो बेलाको सुपर लक्जरी होटल हायातले ठमेलमा रहेका होटलको मूल्यमा कोठा दिएका थिए। साेही कारण साना होटल निकै समस्यामा परेका थिए। अहिले फेरि त्यही स्थिति आउला कि भन्ने चिन्ता बढ्न थालेको छ।
पाँचतारे होटलमा कोठा बिक्रीभन्दा क्यासिनो सञ्चालन गरेर नाफा कमाउन सकिन्छ भन्ने आसमा आकर्षण भएको देखिन्छ, जुन गलत छ। हामीले दीर्घकालीन सोच राख्ने हो भने होटलको कोठा बिक्रीलाई बढी प्राथमिकता दिनुपर्छ।अहिले जति सञ्चालनमा रहेका छन्, ती सबै होटल चलेका छैनन्।
हुन त, पछिल्लो दशकमा नेपालीहरु घुमघाममा निस्कने प्रचलन बढेकोले उपत्यकाबाहिरका होटल तथा रिसोर्टको अकुपेन्सीमा केही सुधार भने आइरहेको छ। एड्भेन्चर टुरिजममा रमाउन चाहने नेपालीहरुको संख्या बढ्न थालेको छ। ट्रेकिङका लागि निस्कनेहरुको संख्या पनि बढ्न थालेको छ। कोभिडपछि नेपालीहरु घुम्न ननिस्किएको भए होटल व्यवसायमा ठूलो दुर्घटना हुने स्थिति थियो तर नेपालीले नै केही आशा दिलाइदिए। यद्यपि नेपालीहरु काठमाडौंका ठूलाठूला होटलमा बस्ने सम्भावना निकै कम रहन्छ।
काठमाडौं केन्द्रित भएर ठूला–ठूला होटल खुल्ने प्रतिस्पर्धा बढेको छ। बाह्य पर्यटकले मात्र धान्न सक्ला त?
काठमाडौं इन्ट्री पोइन्ट हो। धेरैको रहर काठमाडौंमै होटल खोलौं भन्ने चाहना रहेकाले पनि खुल्ने क्रम बढेको देखिन्छ। त्यति मात्र हैन, पछिल्लो समय पाँचतारे होटल वा तारे होटलमा रहेका बैंक्विट हलमा विवाह, व्रतबन्धलगायतका पार्टीहरु गर्ने प्रचलन बढेको छ। ती हलहरु राम्रोसँग चलेको कारणले तारे होटल निर्माणमा बढी आकर्षित भएको देखिन्छ। पाँचतारे होटलमा सबैभन्दा बढी चल्ने भनेकै बैंक्युट हल रहेको र ती हलबाट ५० प्रतिशत आम्दानी आउने भएकाले पनि धमाधम होटल बनेको देखिन्छ। अर्कोतर्फ पाँचतारे होटलमा कोठा बिक्रीभन्दा क्यासिनो सञ्चालन गरेर नाफा कमाउन सकिन्छ भन्ने आसमा आकर्षण भएको देखिन्छ, जुन गलत छ। हामीले दीर्घकालीन सोच राख्ने हो भने होटलको कोठा बिक्रीलाई बढी प्राथमिकता दिनुपर्छ।
अहिले जति होटलहरु सञ्चालनमा छन्, ती सबै चलेका छैनन्। भारतमा निर्माण हुने हजारौं फिल्ममध्ये थोरै मात्र चलेको देखिन्छ र उसले यति धेरै रकम कमायो भनेर हल्ला हुन्छ। ती फिल्ममा धेरैजसो कालोधन प्रयोग भएका आरोप लाग्दै आएका छन्। अहिले नेपालका होटलहरुमा पनि अदृष्य लगानी आएको हो कि भन्ने आशंका गर्न सकिन्छ। जोखिम मोलेरै भए पनि लगानी गर्नेको संख्या बढेको देखिन्छ।
लगानीकर्तालार्ई लगानीको नाफा चाहिन्छ भने बैंकलाई ब्याज र किस्ता। त्यसका लागि कि त होटल नै बेच्नुपर्ने स्थिति आउँछ। त्यसैले प्रमोटरले १० वर्षसम्म नचल्दा पनि होटल बेचेरै भए पनि बैंकको ऋण तिरेर साँवाब्याज लिन सकिन्छ भन्नेमा ढुक्क हुन्छन्। तर, आईपीओ भर्ने र लगानी गर्ने बैंकहरु भने घाटामा जाने देखिन्छ। त्यस कारण वार्षिक ५ प्रतिशत नाफा हुने ठाउँमा लगानी गर्नु मूर्खता हो।
पछिल्लो समय धेरै होटलहरुले प्राथमिक सेयर (आईपीओ) जारी गर्न लागेका छन्। तत्कालै लगानी उठाउन हो कि नाफा बाँड्न हो?
अहिले केही होटलहरुले आईपीओ जारी गरेका छन् र अझै जारी गर्ने तयारी धेरैको छ। आईपीओ जारी गर्नेबित्तिकै सर्वसाधारणले पनि बुझ्दै नबुझी हानाथाप गरेर पैसा हाल्ने गरेका छन्। तर, होटलले नाफा कहिले दिन्छ र कसरी दिन्छ भन्ने धेरैले बुझ्न सकेका छैनन्। अझ २०/२५ वर्षका लागि जग्गा भाडामा लिएर चलाएको होटलको समेत आईपीओ हानाथाप गरेर भरेको देखिन्छ। पछिल्लो दशकमा बनेका होटलमा ७० प्रतिशत बैंकको ऋण र ३० प्रतिशत सञ्चालकको पैसा हालेको हुन्छ। कसैकसैले त त्यही ७० प्रतिशत बैंकको ऋणबाटै आफ्नो ३० प्रतिशत लगानीसमेत मिलान गरेको भन्ने सुनिन्छ, जुन मूर्खता हो। होटलबाट लगानीको पाँच प्रतिशत मात्र नाफा आयो भने पनि खुसी हुनुपर्ने स्थिति आउँछ। होटलमा ठूलो लगानी तर आम्दानी न्यून हुन्छ किनभने नगद आम्दानी तत्कालै हुनेदेखि जग्गाको मूल्यांकनसमेत बढ्दै गएको हुन्छ। ५ प्रतिशत आम्दानी हुँदा १० प्रतिशत जग्गाको मूल्य बढिरहेको हुन्छ। तर, बैंक र लगानीकर्ताका लागि त्यो विषय मतलब हुँदैन। लगानीकर्तालार्ई लगानीको नाफा चाहिन्छ भने बैंकलाई ब्याज र किस्ता। त्यसका लागि कि त होटल नै बेच्नुपर्ने स्थिति आउँछ। त्यसैले प्रमोटरले १० वर्षसम्म नचल्दा पनि होटल बेचेरै भए पनि बैंकको ऋण तिरेर साँवाब्याज लिन सकिन्छ भन्नेमा ढुक्क हुन्छन्। तर, आईपीओ भर्ने र लगानी गर्ने बैंकहरु भने घाटामा जाने देखिन्छ। त्यस कारण वार्षिक ५ प्रतिशत नाफा हुने ठाउँमा लगानी गर्नु मूर्खता हो।
होटल राम्रो चलेको अवस्थामा १० देखि १२ वर्षसम्मा नाफामा जान सक्छ। तर, त्यो बेला पनि उसको मुख्य ध्यान बैंकको ब्याज र किस्ता तिर्नेमा हुन्छ। नाफा धेरै कमाइहाले पनि होटलले पहिला बैंकको ऋण तिरिसक्छ, त्यसपछि मात्र अन्य लगानीकर्तालाई नाफा बाँड्ने गर्छ। आईपीओ भर्नेहरुले कम्तीमा १० देखि १२ वर्षसम्म आम्दानी लिन सक्दैनन्। त्यो बेलासम्म शून्य आम्दानीको भरमा आफ्नो लगानी फसाउनुपर्ने बाध्यता देखिन्छ। त्यसपछि पनि ती लगानीकर्ताले वार्षिक पाउने भनेको बढीमा १० प्रतिशत मात्र हो। सोल्टी होटल,हायात, र्याडिसनलगायतका पुराना होटलले कहिलेबाट लगानीकर्तालाई नाफा बाँड्न लागेका हुन्, त्यहीबाट धेरै कुरा थाहा हुन्छ। अझ आफ्नै सम्पत्ति भएका होटलहरुको त जग्गाको मूल्यांकन बढेको हुन्छ र होटल बेच्दा पनि आम्दानी होला भन्ने अपेक्षा लिन सकिन्छ। सरकारको जग्गा भाडामा लिएर चलाएकाहरुको अवस्था के होला। हायात, चन्द्रागिरिलगायतका होटल सरकारी जग्गामा बनाइएको छ। निश्चित वर्षपछि सरकारको नाममा जाने भएकाले तिनबाट सेयर लगानीकर्ताले नाफा पाउँछन् भन्ने अपेक्षा गर्नु गलत हो। यसका लागि लगानीकर्ताहले कुन कुन क्षेत्रमा आईपीओ भर्ने र कुनमा नभर्ने भन्ने विषयमा ध्यान दिन आवश्यक छ।
म आफैं निजी क्षेत्रको मान्छे भए पनि यो प्रवृत्ति गलत हो भनिरहेको छु। हामी राजनीतिक दलका नेताहरुले मात्र जनतालाई पंगु बनाए भनेर भनिरहेका छौं तर अहिले आईपीओको नाममा व्यवसायीहरुले समेत सर्वसाधारणलाई मूर्ख बनाइरहेका छन्, जुन गलत हो।
अहिले होटलहरुको अकुपेन्सीको अवस्था कस्तो छ? आफ्नो खर्च धान्नै मुस्किल भएको गुनासो व्यवसायीले गरिरहेका छन्। साँच्चै समस्यामै परेका हुन् कि? अहिले कसरी धानिरहेका छन्?
ऋण लिएर ब्याज तिर्नुपर्नेहरु कसरी चलिरहेका छन् भन्ने बुझ्न गाह्रो छ। सुरुमा अन्य क्षेत्रमा लगानी गरेकाहरू साइड बिजनेसका रूपमा नयाँ होटल सञ्चालन गर्नेहरु बढी देखिन्छन्। अहिले जति नयाँ होटल खुलेका छन्, ती अधिकांश ट्रेडिङ बिजनेस गर्नेहरु नै छन्। उनीहरु जुन क्षेत्रमा बैंकले बढी पैसा दिन्छ, त्यही क्षेत्रमा लगानी गर्न तम्सिएको देखिन्छ। उनीहरु अहिले सुपर बिजनेस म्यानको रुपमा आफूलाई स्थापित गरिरहेका छन्। हिजो गार्मेन्टको बिजनेस राम्रो हुँदै त्यही लगानी गरे, त्यो बिजनेस खत्तम भएपछि जग्गामा लगानी बढाए, पश्मिना हुँदै बैंक क्षेत्रमा लगानी बढाउन थाले। जसले ऋण धेरै लिन सक्छ, तिनले होटलमा पनि लगानी बढाउन थाले। अहिले जो सुरुदेखि पर्यटन क्षेत्रमा लगानी गरिरहेका छन्, तिनीहरु ओझेल पर्दै गए।
अहिले तत्कालीन रुपमा जता फाइदा हुन्छ, त्यही क्षेत्रमा लगानी बढाउन थाले। ट्रेडिङ भनेकै सेटिङको आधारमा चल्ने बिजनेस भएकोले नाफा कमाउन कुनै समस्या नहुनेहरुले होटल क्षेत्र नै समस्यामा पारेको देखिन्छ। अहिले बैंकबाट जे नाममा ऋण लगेको छ, त्यो क्षेत्रमा लगानी नगरी अन्य क्षेत्रमा लगानी भएको देखिन्छ। जसले पारिवारिक रुपमा पर्यटन(होटल) क्षेत्रलाई अगाडि बढाइरहेका छन्, तिनीहरू ऋण लिएर लगानी अगाडि बढाउनै तर्सिन्छन्। त्यसैले अहिले बैंकमै घोटाला भइरहेको छ। सस्तो ब्याजमा ऋण लिएर होटलमा लगानी गर्ने क्रम बढ्न थालेको छ।
१९९६ मा नारायणी, शेर्पा, ब्लू स्टार होटलसहितका पुराना र स्थापित होटल बन्द भए, जुन पर्यटन क्षेत्रका दुःखद विषय हो। ३५/४० वर्ष पुराना होटल बन्द भए। उनीहरु सबै होटलबाहेक अन्य क्षेत्रमा लगानी गर्न नचाहने र ऋणमा भन्दा आतिथ्यमा विश्वास गरेको हुनाले अन्ततः बन्द गरेर हिँड्नुपर्यो। अहिले नयाँबाहेक पुराना होटल त्यस्तै स्थितिमा पुगेको छ। एकाध पुराना होटलहरु चले पनि अधिकांश समस्यामा छन्। यसको मुख्य जड भनेको नयाँ होटल नै हो। नयाँ होटल हुँदा सञ्चालन खर्चसमेत कम हुने भएकोले सस्तोमै कोठा दिने क्रम बढेको छ।
त्यसैले बैंकहरुले लगानी गर्दा जुन क्षेत्रमा भनेको छ, त्यो ठाउँमा भएको छ वा छैन भनेर हेर्न आवश्यक छ। सरकारले पनि आईपीओ जारी गर्न चाहनेहरुको वित्तीय स्थिति हेरेर मात्र अनुमति दिएर सर्वसाधारणलाई डुब्नबाट जोगाउन आवश्यक छ।
एउटा होटलले वार्षिक कति आम्दानी गर्न सक्यो भने नाफा कमाउन सक्छ? होटलको खर्च कति हुन्छ?
मेरो होटल व्यवस्थापनलाई एउटा कोठाबाट १०० डलर आम्दानी भयो भने २० डलर सरकारलाई, कर्मचारीलाई २० डलर, ३० डलर सप्लायर्सलाई तिर्नुपर्छ। बैंकको ब्याज र किस्ता २० डलर र बाँकी १० डलर मात्र आफूलाई राखेको हुन्छ। यसमा पनि बैंकको ऋण हुनेहरुलाई किस्ताको लागि धेरै रकम छुट्याउनुपर्छ भने पुराना होटललाई कर्मचारीका लागि राख्नुपर्छ। त्यसैले १०० डलर कमाउँदा ३० डलर मात्र लगानीकर्ताको हातमा पर्छ। त्यो पनि होटलको अकुपेन्सी ६० प्रतिशतभन्दा माथि भएको बेला। त्यसैले यति नै आम्दानी हुन्छ र नाफा कमाइन्छ भन्ने कल्पना होटल व्यवसायीले गर्नुहुँदैन।
यी सबै होटल क्षेत्रमा देखिएका समस्या मात्र भए। तपाइकाे कुरा सुनिरहँदा त निराशाजनक देखिन्छ। यसलाई सुधार गरी राम्रो र व्यवस्थित बनाउने केही उपाय पनि त होलान्? होटल डुब्नबाट बचाउन के गर्न सकिन्छ र के गर्नुपर्छ?
हामीले सरकारलाई अब होटलको संख्या पुग्यो, खोल्न रोक्नुपर्छ र बैंकलाई पनि अब लगानी नगर्नुस् भन्यो भने सिण्डिकेट गर्न खोजियो भन्ने आरोप आउँछन्। खुल्ला अर्थतन्त्रमा यो जायज पनि हुँदैन। त्यसैले अहिलेको अवस्थामा सतर्क हुनुपर्ने लगानीकर्ता नै हो। लगानीकर्ताले होटल क्षेत्र जोखिमपूर्ण छ भनेर थाहा पाउँदापाउँदै पनि लगानी गरेर डुबेमा सरकारलाई दोष दिने कुनै ठाउँ नै देखिँदैन। हामीले सरकारलाई गुहार्न पनि मिल्दैन। तर, आईपीओकाे नाममा जनताबाट उठाउने पैसा र बैंकलाई बुझाउन भने सकिन्छ-होटल क्षेत्रको लगानी जोखिममा छ भनेर।
अब होटल सञ्चालकहरुलाई सम्झाउनेभन्दा होटल क्षेत्रमा हुने बैंकको ऋणलाई कन्ट्रोल गर्नुपर्ने स्थिति देखिएको छ। अब बैंकलाई होटलमा गरेको लगानी फिर्ता आउन मुस्किल छ, सेयर लगानी गर्नेहरुलाई १० देखि १५ वर्षसम्म नाफा आउँदैन। निजी जग्गामा भएको होटलले २० वर्षपछि नाफा देला भन्ने आस र भाडामा लिएर सञ्चालन गरेकाहरुबाट कुनै आस गर्नुहुन्न भन्ने सन्देश बैंक तथा वित्तीय संस्था र सर्वसाधारणलाई दिनु अहिलेको आवश्यकता हाे।
हानले लामो समयदेखि सरकारलाई होटल क्षेत्रलाई उद्योगको मान्यता दिलाउन माग गरिरहेको छ। तर, सरकारले अटेर गरेको गरेकै छ। तपाईंहरुलाई किन उद्योगको मान्यता चाहियो र सरकार मान्यता दिन किन तयार छैन?
यसमा सरकारी कर्मचारीहरु साह्रै बुद्धिमानी भएको कारणले होटलले उद्योगको मान्यता नपाएको हो। अरु बिजनेस भनेको ग्राहक नेपाली भएकोले त्यसमा सरकारले सहयोग गर्नुपर्छ र होटल भनेको विदेशी आउने ठाउँ भएकाले डलरमा आम्दानी हुने हुँदा सरकारले सहयोग गरिरहन आवश्यक छैन भन्ने संकुचित सोच राख्नेहरुको दबदबा भएकाले दुःख पाइरहेका छौं। पर्यटक ऐन नै त्यही किसिमले बनेको छ। त्यहाँ पर्यटकलाई दिने हैन, लिने मात्र भनेर उल्लेख गरेका छौं। नारामा अतिथि देवाे भवः भनिए पनि व्यवहारमा अतिथिबाट लिने मात्र छ।
पछिल्लो समय संख्यात्मक रुपमा विदेशी पर्यटकहरु बढिरहेको देखिन्छ। तर, उनीहरुको बसाइँ भने औषत तीन दिनभन्दा बढी बढ्न सकेको छैन। बसाइँ अवधि बढाउन के गर्नुपर्ला?
कोभिड र विश्वमा जारी आर्थिक मन्दीको बीचमा अहिले आएको पर्यटकको संख्यालाई उत्साहजनक मान्न सकिन्छ। जति पर्यटक आएका छन्, यो धेरै राम्रो हो। सरकारी निकाय नेपाल पर्यटन बोर्डको प्रभावकारी प्रचारप्रसारबिनै निजी क्षेत्रको एक्लो प्रयासमा आएको यो संख्याले उत्साह थपेको छ। पर्यटकको संख्या बढे पनि उनीहरुको औषत बसाइ तीन दिन मात्र छ। यो अहिलेको हैन, धेरै अगाडिदेखिकै हाे। यसका लागि राज्यका तर्फबाट आवश्यक पूर्वाधार निर्माणमा जोड नदिनुको साथै ट्रेकिङ रुट खुम्चिँदै जानुको कारण पनि हो। अर्को कुरा भनेको बसाइ लामो हुन उनीहरुलाई आकर्षण गर्ने खालका गन्तव्य र त्यही खाले कथा चाहिन्छ। यो काम अब युवाहरुको काँधमा छ।
अबका नयाँ युवाहरुले विदेशीलाई विभिन्न नयाँ गन्तव्यमा लैजाने र ती ठाउँका पौराणिक कथालाई खोजतलास गरेर उनीहरुलाई सुनाउन सके बसाइँ अवधि लम्ब्याउन कुनै समय लाग्दैन। यसतर्फ राज्य र निजी क्षेत्र दुवैले ध्यान दिएको पाइँदैन। हुन त पर्यटन क्षेत्रमा लाग्ने युवाको संख्या पनि कम छ।
१०० डलर कमाउँदा ३० डलर मात्र लगानीकर्ताको हातमा पर्छ। त्यो पनि होटलको अकुपेन्सी ६० प्रतिशतभन्दा माथि भएको बेला। त्यसैले यति नै आम्दानी हुन्छ र नाफा कमाइन्छ भन्ने कल्पना होटल व्यवसायीहरुले गर्नुहुँदैन।
भाषामा दख्खल राख्ने युवाले पर्यटन क्षेत्रमा रुचि बढाउने र नयाँ गन्तव्यको पहिचान गर्न सके अवश्य पनि बसाइँ अवधि लम्ब्याउन सकिन्छ। संघीय,प्रदेश र स्थानीय तहबाट निर्माण हुने सडकका कारण धेरै ट्रेकिङ रुट मासिँदै गएका छन्र। यसले बसाइँ अवधि बढ्ने हैन, घट्ने स्थिति देखिएकोले त्यसतर्फ राज्यका सबै निकायले सोच्ने बेला भइसकेको छ। निजी क्षेत्रका तर्फबाट पनि बसाइँ अवधि लामो बनाउन विभिन्न प्याकेज बनाएर प्रचारप्रसारमा जुट्नुपर्छ।