काठमाडौं। नेपाल भित्रिने दुईपांग्रे सवारीसाधन (बाइक,स्कुटर)मा व्यापक कमी आएको छ। पछिल्लो पाँच वर्षको तथ्यांकअनुसार नेपाल आयात हुने दुईपांग्रे सवारीसाधनमा ५० प्रतिशत बढीको गिरावट आएको हो। भन्सार विभागका अनुसार २०७६ मा नेपालमा कुल २ लाख ६२ हजार ३ सय १२ युनिट दुईपांग्रे सवारी नेपाल भित्रिएका थिए।
त्यसपछिको दुई वर्ष नेपाल भित्रिने दुईपांग्रेको संख्या झनै बढ्यो। २०७७ मा २ लाख ७८ हजार ५ सय ५५ युनिट र २०७८ मा ३ लाख १० हजार ३ सय ५२ युनिट दुईपांग्रे नेपाल भित्रिए। त्यसयता नेपाल भित्रिने बाइक, स्कुटरको संख्यामा व्यापक कमी आएको छ।
२०७८ को तुलनामा १ लाख ७८ हजार ६३ ले घटेर २०७९ मा १ लाख ३२ हजार २ सय ८९ युनिट मात्रै बाइक, स्कुटर नेपाल भित्रिए। गत वर्ष २०८० मा सोभन्दा पनि घटेर १ लाख १८ हजार ४ सय ७० युनिट बाइक, स्कुटर भित्रिएको तथ्यांक छ। तथ्यांकअनुसार नेपाल भित्रिने बाइक स्कुटरको संख्यामा पछिल्लो दुई वर्ष ठूलो गिरावट आएको छ।
२०७९ मा १ लाख ३२ हजार २८९ युनिट मात्रै बाइक, स्कुटर आयात भएकामा आव २०८० मा घटेर १ लाख १८ हजार ४ ७० युनिट बाइक, स्कुटर भित्रिएको भन्सार विभागको तथ्यांक छ।
पछिल्लो पाँच वर्षमा सबैभन्दा बढी बाइक स्कुटर २०७८ मा ३ लाख १० हजार भित्रिएका थिए। तर, २०७९ मा केन्द्रीय बैंकले विदेशी मुद्राको सञ्चिति जोगाउन विभिन्न वस्तु आयातमा रोक लगायो।
यसको मारमा समग्र अटोमोबाइल क्षेत्रमा पनि पर्यो। एकातर्फ वित्तीय प्रणालीमा देखिएको सुस्तता र अर्कोतर्फ राष्ट्र बैंकको आयात प्रतिबन्ध नीतिले २०७८ को तुलनामा २०७९ मा १ लाख ७८ हजारले घटेर १ लाख ३२ युनिट दुईपांग्रे नेपाल भित्रिएको तथ्यांक छ।
अलावा ठूलो संख्याको युवा जनशक्ति बिदेसिने क्रमले नयाँ बाइक स्कुटर किन्नेको संख्या घटेको उनीहरुको तर्क छ। साथै, विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीदेखि नै नेपालीको क्रयशक्तिमा ह्रास आएको छ।
नेपाल भित्रिएका दुईपांग्रे सवारीसाधनमा पनि ५० देखि २५० सिसी क्षमताका सवारी ठूलो मात्रामा रहेको देखिन्छ। भन्सारको तथ्यांकअनुसार २०७६ मा ५० देखि २५० सिसीका २ लाख ५७ हजार ८०३ युनिट, २०७७ मा २ लाख ७१ हजार ४३५ युनिट र २०७८ मा ३ लाख २ हजार २९८ युनिट बाइक स्कुटर नेपाल भित्रिएको देखिन्छ।
यस्तै, २०७९ मा १ लाख ३० हजार ३३४ युनिट र २०८० मा १ लाख ७ हजार ८७१ युनिट ५० देखि २५० सिसीका बाइक स्कुटर भित्रिएको तथ्यांक छ।
नेपालमा २५० देखि ८०० सिसीसम्मका बाइक स्कुटर भने निकै न्यून मात्रामा भित्रिएको देखिन्छ। भन्सार विभागका अनुसार २०७६ मा ४ हजार ५०९ युनिट, २०७७ मा ७ हजार १२ युनिट र २०७८ मा ८ हजार ६३ युनिट २५० देखि ८०० सिसीका बाइक, स्कुटर नेपाल भित्रिएका थिए। यस्तै, २०७९ मा १ हजार ९५५ युनिट र २०८० मा १० हजार ५९९ युनिट २५० देखि ८०० सिसी बाइक स्कुटर नेपाल भित्रिएका थिए।
स्रोतः भन्सार विभाग