काठमाडौं। औद्योगिक क्षेत्रमा कार्यरत जनशक्तिको विकास, क्षमता अभिवृद्धि र सृदृढीकरण, मर्यादित कार्यस्थल निर्माणमा सहयोग पुर्याउने उद्देश्यले उद्योग संगठन मोरङ आयोजनामा दुईदिने मानव संसाधन सम्मेलन सुरु भएको छ।
काठमाडौं विश्वविद्यालयका उपकुलपति प्राडा. भोला थापा, पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्राडा. विजु थपलियाले संयुक्त रुपमा सम्मेलन उद्घाटन गरे।
कार्यक्रममा संगठनका अध्यक्ष राकेश सुरानाले नीति निर्माण तहमा बहस र पैरवी गर्दै आएको उद्योग संगठन मोरङको आयोजनामा प्रथम पटक भइरहेको सम्मेलनले स्थानीय उद्योग व्यवसाय क्षेत्रमा कार्यरत जनशक्तिको क्षमता विकास गरी उत्पादकत्व अभिवृद्धि, औद्योगिक वातावरण निर्माण सहयोग पुग्ने विश्वास व्यक्त गरे।
मानव संसाधन विकास क्षेत्रमा पाराडाइम सिफ्टका रुपमा पहिलो पटक सहभागीले शुल्क तिरेर सहभागिता जनाउने गरी आयोजना गरिएको सम्मेलनमा सहभागीको संख्या बाक्लो रहेकाले संगठनलाई उत्साहित बनाएको अध्यक्ष सुरानाले बताए।
कार्यक्रमले बौद्धिक वर्गलाई उद्योग व्यवसाय क्षत्रमा कामगर्ने राम्रो वातावरण तयार गर्न बहुराष्ट्रिय कम्पनी, नेपालका प्रतिष्ठित घराना गरेका अभ्यासका सम्बन्धमा अनुभव आदान–प्रदान गरी नेपालमै काम गर्न सक्ने वातावरण रहेको सन्देश प्रवाह गरी युवाहरुमा सकारात्मक भावना विकास गर्न सहयोग पुग्नेमा अध्यक्ष सुरानाले विश्वास व्यक्त गरे।
काठमाडौं विश्वविद्यालयका प्राडा थापाले औद्यागिक जनशक्ति विकासका लागि उद्योग र एकेडेमिया क्षेत्रको सहकार्य आवश्यह रहेकामा जोड दिए। उनले अर्थतन्त्रलाई चलायमान बनाउन, आर्थिक समृद्धि प्राप्त गर्न दक्ष जनशक्ति आवश्यक रहेको औंल्याउँदै पाठ्यक्रम विकासको क्रममा विश्वविद्यालयलाई निजी क्षेत्रको सुझाव आवश्यक हुने बताए।
पूर्वाञ्चल विश्वविद्यालयका प्राडा थपलियाले अन्तर्राष्ट्रिय अनुभव र नेपालको आवश्यकताका साथै वर्तमान अवस्थामा उपलब्ध जनशक्तिलाई ध्यानमा राखी आगामी मार्ग तय गर्नुपर्ने धारणा राखे। उनले दक्ष जनशक्ति उत्पादनका लागि पूर्वाञ्चल विश्वविद्यालय निजी क्षेत्रसँग सहकार्य गर्न इच्छुक रहेको बताउँदै औद्योगिक विकासमा सबैको सहकार्य आवश्यक हुने विचार व्यक्त गरे।
सम्मेलनमा विश्वविद्यालय र शैक्षिक क्षेत्रबीचको अन्तर सम्बन्ध विकास, उद्योगका लागि आवश्यक उच्च दक्ष कामदार उत्पादनमा विश्वविद्यालयको भूमिकाका साथै स्थानीय उद्योग व्यवसायलाई आवश्यक जनशक्ति तयार गर्न पाठ्यक्रममा गर्नुपर्ने परिमार्जनका सम्वन्धमा सहयोग पुर्याउन शैक्षिक क्षेत्रका विद्वत् वर्गलाई संगठनले आमन्त्रण गरेको छ।
विभिन्न ११ वटा सेसन रहेको सम्मेलनमा भारतका बहुराष्ट्रिय कम्पनीले मानव संसाधन विकास क्षेत्रमा गरेका प्रयास र अनुभव, प्रविधि विकासले मानव संसाधन क्षेत्रमा पारेको प्रभाव, उपलब्धि र यसको सदुपयोगका साथै नेपालका प्रतिष्ठित कम्पनीले यस क्षेत्रमा गर्दै आएका प्रयासबारे चर्चा गरिने संगठनले जनाएको छ। कार्यक्रम अवधिमा मोटिभेशनल स्पीकरद्वारा सफलताका १२ सूत्रबारे प्रकाश पारिएको छ।
सुनसरी मोरङ औद्योगिक करिडोरमा अवस्थित विभिन्न उद्योग प्रतिष्ठानका सञ्चालक, व्यवस्थापक, मानव संसाधन प्रमुख, विभिन्न विश्वविद्यालयका प्राज्ञिक वर्ग, विकास साझेदार संस्थाका प्रतिनिधि गरी १५० जनाको सहभागिता रहेको छ।
दुई दिने सम्मेलनमा भारतबाट बहुराष्ट्रिय कम्पनीका मानव संसाधन प्रमुख, विकास साझेदार संस्था आई.एल.ओ, स्विस सरकार विकास सहयोग, जर्मन सहयोग, इन्स्योर हेल्भेटास, एन.भि.क्यू.एसलगायत प्रतिनिधिले कार्यपत्र प्रस्तुत गर्दै छन्। शुक्रबारदेखि सुरु सम्मेलन आज समापन हुनेछ।