काठमाडौं। राजधानीको भृकुटीमण्डपमा जारी नेपाल १७आंै अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सवमा महका परिकार, प्राकृतिक रेशाजन्य उत्पादन, स्थानीयका खाना परिकार तथा मौलिक उत्पादनमा अवलोकनकर्ता तथा उपभोक्ताको आकर्षण देखिएको छ।
स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासंघले हरेक वर्ष आयोजना गर्दै आएको औद्योगिक प्रदर्शनी यस पटक वैशाख २६ देखि भृकुटीमण्डप परिसरमा सञ्चालन भइरहेको हो।
प्रदर्शनीमा महका परिकार, अल्लो, सिस्नो, केरा, गाँजा, बाँस, केतुकी, भूँइकटहरलगायत प्राकृतिक रेशाबाट बनेका कपडाका उत्पादन, मह र यसका प्रकार, माहुरीसम्बन्धी जानकारी, कर्णाली तथा हिमाली क्षेत्रका मौलिक परिकार तथा अन्य उत्पादन उपभोक्ताले मन पराएको पाइएको छ।
प्रदर्शनीमा काठ/ढुंगा/धातु कला, सेरामिक्स, भाँडाकुँडा बाँस, बेतबाँस आदिबाट निर्मित सजावटका सामग्री, गलैंचा, राडीपाखी पश्मिनाका वस्तु तथा अन्य ऊनी कपडा, अल्लो, लोक्ता, जुट र अन्य परम्परागत तरिकाबाट प्रशोधित प्राकृतिक रेशाद्वारा उत्पादित वस्तु, नेपाली हाते कागजका वस्तु, परम्परागत हस्तकलाका सामान, अर्गानिक मह राखिएका छन्।
यस्तै, कृषि तथा वनमा आधारित उत्पादन, शिक्षा, पर्यटनलगायतका सेवाप्रदायक संघ–संस्था, वैकल्पिक÷नवीकरणीय ऊर्जा, सूचना प्रविधिमा आधारित प्रविधि तथा उपकरण र अन्य औद्योगिक वस्तु प्रदर्शनीमा बिक्री तथा अवलोकनका लागि राखिएको छ।
यसैगरी तेह्रथुमको ढाका, संखुवासभाको करुवा, भोजपुरको खुकुरी, जैविक स्रोतबाट बनेका शृंगार सामग्री तथा महबाट बनेका सौन्दर्य प्रसाधनका सामग्री, जैविक तथा आयुर्वेद उपचार प्रक्रियामा उपयोग गरिने प्राकृतिक औषधीय सामग्री, मसला, छोप, हस्तकलाका उत्पादनलगायत सामग्रीमा पनि उपभोक्ता आकर्षण देखिएको आयोजकले बताएको छ।
लघु, घरेलु, साना तथा महिला उद्यमीद्वारा उत्पादित स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासंघले हरेक वर्ष आयोजना गर्दै आएको औद्योगिक प्रदर्शनीको १७औं शृंखला नेपाल १७औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०८१ आइतबारसम्म चल्नेछ।
मुलुकभरका झन्डै ६ लाख बढी लघु, घरेलु तथा साना उद्योग र कृषि तथा मह व्यवसायमा संलग्न उद्यमीलाई प्रतिविम्वित गर्ने प्रदर्शनीको मुख्य नारा खोजौं नेपाली, रोजौं नेपाली र नेपाली वस्तु प्रयोग गरौं, नेपाली भएकामा गर्व गरौं रहेको छ।
नेपाल मौरीपालक महासंघ, नेपाल मौरीपालन केन्द्रीय सहकारी संघ र व्यावसायिक किट विकास केन्द्रसँगको सहकार्यमा विविध अर्गानिक महका छुट्टै प्याभिलियनमार्फत प्रदर्शनी गरिएको छ।
प्रदर्शनीमा नेपालका सबै प्रदेश र जिल्लाका उद्यमी, उपयुक्त प्रविधि प्रयोगकर्ता एवं भारत, पाकिस्तान, बंगलादेशलगायत सार्क मुलुक तथा टर्कीको सहभागिता छ। प्रदर्शनीमा २५० स्टल सहभागी छन् भने दुई लाख बढीले मेला अवलोकन गर्ने अपेक्षा गरिएको छ। यस्तै, सात करोड बढीको आर्थिक कारोबार हुने प्रक्षेपण गरिएको छ।
नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोजनामा रहेको मेलाको सह–आयोजकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, लघु घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्र, बागमती प्रदेश सरकार, उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र, काठमाडौं महानगर, चन्द्रागिरि नगरपालिका, नेपाल मौरीपालक महासंघ, नेपाल मौरीपालन केन्द्रीय सहकारी संघ र व्यावसायिक किट विकास निर्देशनालय छन्।
यस्तै, प्रवर्द्धकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, नेपाल पर्यटन बोर्ड, ललितपुर महानगर रहेका छन्।
मेलाको अफिसियल बैंक कृषि विकास बैंक रहेको छ भने राष्ट्रिय वाणिज्य बैंकसँग सहकार्य गरिएको मेला व्यवस्थापन इन्ट्रोडक्सन ट्रेड सोजले गरेको छ।
महासंघ अध्यक्ष उमेशप्रसाद सिंहले तुलनात्मक लाभका क्षेत्रमा रहेका उद्योगका उत्पादनको प्रदर्शनी र व्यापार प्रवर्द्धनसमेत गरिने मेलाले मुलुकका लघु, घरेलु तथा साना उद्योगका उत्पादनको वर्तमान अवस्थालाई उजागर गर्ने बताए।
नेपालमा सञ्चालित लघु, घरेलु तथा साना उद्योग लगायत सबै खाले उद्योगको उत्पादनलाई समावेश गरी बीटुबी, बीटुसी, बीटुजीजस्ता अन्तरक्रिया, छलफल, सांस्कृतिक कार्यक्रम र खाद्य महोत्सव आदि कार्यक्रम प्रदर्शनीका थप आकर्षणको रुपमा रहेको उनले जानकारी दिए।
नेपाल १७औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव २०८१ अवसरमा बिहीबार लघु लघु घरेलु घरेलु तथा साना उद्योग तथा महिला उद्यमशीलताः वित्तीय पहुँच विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो। शुक्रबार महिला उद्यमशीलता विकासमा महिला उद्यमीको वर्तमान अवस्था चुनौती र अवसर तथा नवीकरणीय ऊर्जा र यसको उत्पादनशील प्रयोग विषयक कार्यशाला गोष्ठी आयोजना गरिएको थियो।