क्यापिटल नेपालको मुख्य आर्थिक समाचारलाई प्राथमिकता दिएर सुरु गरेको साताभरका प्रमुख आर्थिक खबर नामक स्तम्भ यस्ता छन्, संक्षेपमा साताभरका मुख्य–मुख्य आर्थिक समाचारः
विशेष अदालतले नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील पौडेललाई सरकारी कारोबार विद्युतीय माध्यमबाट गर्ने भुक्तानी प्रणाली (पेमेन्ट गेटवे) मा भ्रष्टाचार गरेको ठहर गरेको छ। विशेष अदालतले पौडेललाई ९ वर्ष कैद र २३ करोड २७ लाख ५८ हजार ७७ रुपैयाँ जरिमानाको फैसला सुनाएको हो। अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले वैशाख २५ गते पौडेललाई उक्त प्रकरणमा सो फैसला सुनाएको हो। अदालतले गत वैशाख ७ मा पौडेललाई दोषी ठहर गरेको थियो। सोही प्रकरणमा सचिव मधुकुमार मरासनीसहित आठ जनाले सफाइ पाएका थिए। अदालतले दोषी ठहर गरेलगत्तै पौडेललाई डिल्लीबजार कारागार चलान गरिएको छ।
सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ ‘ब्रेक थ्रु’ भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले सिन्धुलीको सुनकोसी गाउँपालिका–७ कानढुंग्रीमा सुरुङको वैशाख २६ गते ‘ब्रेक थु्र’ गरेका हुन्। राष्ट्रिय गौरवको आयोजना सुनकोसी–मरिणको कमलामाई–२ कुसुमटारदेखि सुनकोसी–७ कानढुंग्रीसम्म सुरुङ रहेको छ। यसको क्षेत्रफल १३.३ किलोमिटर छ। सुनकोशी मरिणमा सुरुङ खन्न मात्र कोभेकले १० अर्ब ५ करोड ६८ लाख रुपैयाँमा ठेक्का दिइएको थियो। आयोजनाको कुल लागत ४९ अर्ब ४२ करोड छ।
नक्सालस्थित बाल मन्दिरको जग्गा अनियमितता प्रकरणमा बाल संगठनका पूर्वपदाधिकारीसहित २० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। वैशाख २७ गते काठमाडौं जिल्ला अदालतबाट २० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको हो। केही दिनअघि नक्सालस्थित बाल संगठनको जग्गा अनियमिततामा संलग्न व्यक्तिविरूद्ध जाहेरी परेको थियो। बाल मन्दिरको करिब २९ रोपनी जग्गा वार्षिक १ करोड ९ लाख रुपैयाँ तिर्ने गरी लिजमा दिइएको विषयमा विवाद छ।
एसियाली विकास बैंक (एडीबी) ले एडीबीको एसियाली विकास कोष (एडीएफ)–१४ र प्राविधिक सहायता विशेष कोष–८ का लागि थप ५ अर्ब डलर दिने प्रतिबद्धता जनाएको छ। एडीबीको ५७औं वार्षिक बैठकमा यस्तो प्रतिबद्धता गरिएको हो। गरिब र कमजोर विकासशील सदस्य राष्ट्रहरूमा एडीएफ १४ कार्यक्रम सञ्चालनका लागि एडीबीको अनुदान सबैभन्दा ठूलो स्रोत रहेको जनाइएको छ। हरेक ४ वर्षमा एसियाली विकास कोष (एडीएफ) पुनः पूर्ति गरिनेसमेत एडीबीले बताएको छ। एडीएफ १३ मा उपलब्ध ४.१ अर्ब डलरभन्दा एडीएफ–१४ मा करिब २२ प्रतिशत बढी रहेको एडीबीको भनाइ छ।
राष्ट्रिय तथ्यांक कार्यालयले नेपालीको औसत आयु ७१ वर्ष ३ महिना पुगेको बताएको छ। वैशाख २३ गते राष्ट्रिय जनगणना २०७८ सँग सम्बन्धित ‘जनसंख्या साक्षरता’ र ‘जनसांख्यिक सूचक’ पुस्तक सार्वजनिक गर्दै तथ्यांक कार्यालयले उक्त तथ्य सार्वजनिक गरेको हो। कार्यालयले १० वर्षअघिको तुलनामा अहिले नेपालको आर्थिक, सामाजिक, शैक्षिक, स्वास्थ्यलगायत अधिकांश सूचक सन्तोषजनक रहेको र औसत आयु बढेको बताएको हो। यसैगरी, नेपालको वार्षिक जनसंख्या वृद्धिदर यसअघि १.३५ प्रतिशत रहेकामा अहिले घटेर ०.९२ प्रतिशतमा झरेको छ। तथ्यांक कार्यालयका अनुसार अहिले सबैभन्दा बढी लुम्बिनी प्रदेशमा १.२४ प्रतिशत र गण्डकी प्रदेशमा सबैभन्दा कम ०.२५ जनसंख्या वृद्धिदर रहेको छ। पछिल्लो जनगणनाअनुसार नेपालमा एकल परिवार ६०.१ प्रतिशत र संयुक्त परिवार ३९.९ प्रतिशत छ।
दोस्रो बजारमा सेयर किनबेच गर्दा लगानीकर्ताले ब्रोकरलाई तिर्नुपर्ने शुल्क (कमिसन) घटेको छ। नेपाल धितोपत्र बोर्ड सञ्चालक समिति बैठकले वैशाख २३ गते ब्रोकर शुल्क घटाउने निर्णय गरेको हो। नयाँ व्यवस्था जेठ १ देखि लागू हुने बोर्डले जनाएको छ। नयाँ व्यवस्था कार्यान्वयनमा आएपछि सेवा शुल्क हालको भन्दा १० प्रतिशत कम हुनेछ। हाल ५० हजारसम्मको कारोबारमा ०.४०, ५० हजारदेखि पाँच लाखसम्मको कारोबारमा ०.३७, पाँच लाखभन्दा माथि २० लाखसम्मको कारोबारमा ०.३४, २० लाखभन्दा माथि एक करोडसम्मको कारोबारमा ०.३० र एक करोडभन्दा माथिको कारोबारमा ०.२७ प्रतिशत ब्रोकर कमिसन छ।
महोत्तरीको जलेश्वर नगरका मेयर सुरेश साह सेनार, उपमेयर रौशन खातुन र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकालसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। जलेश्वर नगरपालिका–१ हाटबजार क्षेत्रमा भएको ढलानमा गुणस्तरहीन काम गरेर भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैशाख २७ मा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। अख्तियारले उक्त योजनामा भएको काम भन्दा ५ लाख ८४ हजार ६३७ रुपैयाँ भुक्तानी भएको भन्दै सबै जनासँग सोही रकम बिगो मागदाबी गरेको छ।
कोसी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की वैशाख २७ मा नियुक्त भएका छन्। शपथलगत्तै कार्कीले पहिलो चरणमा तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन्। कार्की डेढ वर्षमा तेस्रोपल्ट मुख्यमन्त्री भएका हुन्। यसैबीच कोसी प्रदेशमा नयाँ सरकार गठनविरुद्ध निवर्तमान मुख्यमन्त्री केदार कार्कीले वैशाख २७ मा सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।
अघिल्लो साता १९९८.९६ बिन्दुमा रहेको नेप्से परिसूचकमा यो साताभरि उतारचढाव भइरहँदा कारोबरको अन्तिम दिन बिहीबार १९६६.२३ बिन्दुमा बन्द भएको छ। समग्रमा नेप्सेमा ३२.७३ अंकको गिरावट भएको छ। सेयर बजारमा यो साता कुल १४ अर्ब १८ करोड रुपैयाँको कारोबार भएको छ। अघिल्लो साता कुल १८ अर्ब ४३ करोड रुपैयाँको कारोबार भएको थियो।
स्रोत नखुलेको ९८ लाख रुपैयाँसहित मालीगाउँबाट पक्राउ परेका २ जना यसअघि सुन तस्करीमा संलग्न भएको खुलेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले वैशाख २८ मा २८ वर्षीय समीर सुनार र २९ वर्षीय मिलन विकलाई पक्राउ गरेको थियो। प्रहरीका अनुसार पक्राउ परेका दुवैजना यसअघि सुन तस्करीमा पक्राउ परेर छुटेका थिए।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल फेरि फुटेको छ। अशोक राई नेतृत्वमा नयाँ दल जसपा गठन भएको साता दिन नबित्दै राजनीतिक समिति सदस्य खगेन्द्र माखिमलगायतको समूह पनि अलग भएको हो। काठमाडौंमा वैशाख २७ गते पत्रकार सम्मेलन गर्दै महेन्द्र लावती नेतृत्वको पहिचानवादी मोर्चामा माखिम सामेल भएका छन्।