काठमाडौंको टुँडिखेलमा ‘सीप मेला २०८१’ सञ्चालन भइरहेको छ। काठमाडौं महानगरपालिकाले वैशाख १९ बाट ‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ नारासहित सुरु गरेको सीप मेलामा मानिसको उपस्थिति उत्साहजनक छ। महानगरले निःशुल्क सीपमूलक तालिम दिने र तालिम लिएकाहरुलाई ‘रोजगार’, ‘स्वरोजगार’ र ‘अन द जब ट्रेनिङ’ उपलब्ध गराउने लक्ष्यसहित मेला आयोजना गरेको हो। एक महिनासम्म सञ्चालन हुने सीप मेलामा एक दिनमा तीन चरण गरेर सीप सिकाउने काम भइरहेको छ। सुरुमा १० क्षेत्र निर्धारण गरी २९ प्रकारका पेसागत तालिम प्रदान गर्ने योजना रहेकोमा माग बढेसँगै यसको दायरा फराकिलो बनाउँदै लगिएको छ। मेलामा तालिम लिइरहेका व्यक्तिले प्राप्त गरेको सिपलाई अब सहरी योजना आयोगले परीक्षण गर्नेछ। आयोगले श्रम बजारमा पठाउन र योग्य जनशक्ति उत्पादन सुनिश्चित गर्न विज्ञसहित अनुगमन गरेर प्रशिक्षार्थीको सिप परीक्षण गर्नेछ।
सीप मेलामा सामान्य लेखपढ गर्न जान्नेदेखि विद्यार्थी, पुरुष, महिला सबैको उत्साहजनक उपस्थिति छ। प्रशिक्षार्थीहरु सीप मेलाले आफूहरुलाई ठूलो सहयोग पुगेको प्रतिक्रिया दिन्छन्। मेला व्यवस्थापन तथा संयोजनको काठमाडौं महानगर सामाजिक विकास विभागले गरिरहेको छ। सामाजिक विकास विभागका निमित्त प्रमुख विमला कोइराला मेला उत्साहपूर्ण रहेको बताउँछिन्। त्यसो त, अवलोकन गर्न आएका अन्य स्थानीय तहका प्रतिनिधिले पनि मेलाको प्रशंसा गरेका छन्। काठमाडौं महानगरको सीप मेलाको सोच, व्यवस्थापन र यसपछिको योजना सबैका चासोका विषय हुन्। यही सन्दर्भमा मेला आयोजनाको अवधारणा, व्यवस्थापन, चुनौती र सीप मेलापछिको महानगरको योजनामा केन्द्रित रहेर क्यापिटल नेपालका कमला भण्डारीले सामाजिक विकास विभागका निमित्त प्रमुख कोइरालालाई साेधेका ५ प्रश्न :
काठमाडौैं महानगरले हाल सञ्चालन गरिरहेको सीप मेलाको सोच कहाँबाट आयोे? यसबाट तपाईंहरुले के अपेक्षा राख्नुभएको छ?
काठमाडौं महानगरले आर्थिक वर्ष २०८०/८१ को वार्षिक कार्यक्रममा १० वटा गौरव र २५ वटा स्वर्णिम नामक नयाँ–नयाँ योजना ल्याउने घोषणा गरेको थियो। उक्त गौरवको योजनाअन्तर्गत ‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ नाराका साथ सीप मेला आयोजना गरेका हौं। यस कार्यक्रमबाट १५ हजारलाई तालिम र ५ हजारलाई रोजगारी दिने उद्देश्य महानगरको छ। विभिन्न किसिमका तालिम दिएर दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ नै सोही अनुसारको व्यवस्थापन र कार्यक्रम सञ्चालन भइरहेको छ।
नेपालमै सिप सिकेर केही गर्न सकिन्छ र यहीँ रोजगारी सिर्जना हुन्छ भन्ने सन्देश सबैलाई दिन नै सीप मेला सञ्चालन गरिएको हो। सबैलाई पायक पर्ने र खुला ठाउँ भएकाले मेला टुँडिखेलमा गरिएको हो। यो सीप मेला एक महिनासम्म चल्नेछ। सुरुमा हामीले २०८१ मा २ हजार ८१ जनालाई तालिम दिने लक्ष्य राखेका छौं। यसपछि, टुँडिखेलको सीप मेलापछि पनि सीप सिक्न आवेदन दिने सबैलाई तालिम प्रदान गर्दै जानेछौं। समग्रमा १५ हजार जनालाई तालिम र ५ हजारलाई रोजगारी दिने योजना हाम्रो छ। त्यसैले यो कार्यक्रम लगातार तीन वर्षसम्म चल्नेछ। तालिम दिएर दक्ष जनशक्ति उत्पादन गरी रोजगारी सिर्जनाको लक्ष्य महानगरको छ।
सीप मेला आयोजना गर्ने तयारी गर्दै गर्दा मानिसको सहभागिता कस्तो हुने अपेक्षा राख्नुभएको थियो? अहिले कस्तो पाउनुभयो? पालो पाउनै मुस्किल परेको विषय पनि आएको छ। कसरी व्यवस्थापन गर्नुहुन्छ?
नेपाल सरकारमार्फत तथा अन्य हिसाबमा सीप सिकाउँदै आएका संस्था धेरै छन्। धेरै व्यक्तिहरुले सिटिइभिटीलगायत विभिन्न संघसंस्थाबाट पनि सीप सिक्दै आएका छन्। त्यसैले हामीले यति धेरै मानिस सीपविहीन अवस्थामा छन् र सीप सिक्न चाहन्छन् भन्ने अनुमान गरेका थिएनौं। वास्तवमा सीप सिकाउने धेरै संस्था हुँदाहुँदै पनि सीप विकासका लागि धेरै मानिसले संघर्ष गरिरहेका रहेछन्।
मेलाको तयारी गर्दा जति मात्रामा प्रशिक्षार्थी सहभागी हुने अनुमान गरेका थियौं, त्योभन्दा धेरै मानिस आएको अवस्था छ। हालसम्म ११ हजार बढीले अनलाइनबाट आवेदन भरेका छन् भने ६ हजार मानिसले डिजिटल आवेदन भरेका छन्। सबै वडामा ५ हजार आवेदन वितरण गरेका छौं। वडाहरुबाट आवेदन लिएर भर्नेहरु पनि आउँदै छन्। यसरी ठूलो संख्यामा मानिसहरु आइरहँदा सीप सिकेर नेपालमै रोजगारी प्राप्त गर्ने सोच भएका मानिस पनि धेरै रहेछन् भन्ने सन्देश गएको छ।
महानगरले सीप सिकाउँदै गर्दा नेपालमै युवाहरुलाई राख्न सकिने संकेत पनि देखिएको छ। हाम्रोमा सीप नसिकेका मानिस धेरै रहेकाले काम नगरेको वा बेरोजगारी भएर बसेजस्तो पनि देखिएको छ। यति ठूलो संख्यामा सीप सिक्न चाहने मानिसहरु रहेको थाहा पाउँदा केही अप्ठ्यारो पनि लागेको छ। यद्यपि, उनीहरुको समस्या समाधान गर्न हामी प्रतिबद्ध भएर लागिपरेका छौं। अहिले तीन चरण गरीसीप सिकाइरहेका छौं। यसपछि पनि सीप सिकाउन महानगरले ४० वटा विद्यालयसँग स्थानका लागि सम्झौता गरेको छ।
सीप मेलामा सामान्य लेखपढ गर्न जान्नेदेखि विद्यार्थी, पुरुष, महिला सबैको उत्साहजनक उपस्थिति छ। प्रशिक्षार्थीहरु सीप मेलाले आफूहरुलाई ठूलो सहयोग पुगेको प्रतिक्रिया दिन्छन्। मेला व्यवस्थापन तथा संयोजनको काठमाडौं महानगर सामाजिक विकास विभागले गरिरहेको छ।
पालो पाउन मुस्किल भएको सन्दर्भमा भने हामीले सीप सिक्छु भन्नेहरुमा पनि बीचमै छोड्ने काम नगरोस् भन्ने कुरालाई दृष्टिगत गरेका छौं। वास्तवमै सीप सिक्न चाहन्छु भनेर प्रतिबद्ध व्यक्तिहरु पनि हामीले छनाेट गर्ने प्रयास गरेका छौं। यस्तै, आउँछु भनेर तोकिएको मितिमा नआइदिनाले पनि व्यवस्थापन गर्न केही कठिन भएको हो। यहाँ एक दुई दिन मात्र सिकेर हिँड्न पाईँदैन, प्रतिबद्ध हुनुपर्छ। सीप सिकेर रोजगारीसँग जोडिने व्यक्ति छान्न पनि केही भीड भएजस्तो देखिएको हो। यसको व्यवस्थापन हामीले गरिरहेका छौं।
महानगरले गरेको सीप मेलाको धेरैले प्रशंसा गरिरहेका छन्। हाल तपाईंहरुले सीप सिकाएका व्यक्तिलाई पछि महानगरबाटै सो व्यवसाय गर्ने तथा रोजगारी दिने सोच्नुभएको छ? वा सीप सिकेपछि कसैले व्यवसाय गर्न चाहे केही सुविधा दिने योजना छन्?
हामी रोजगारदातासँग पनि नियमित रुपमा छलफलमा बसिराखेका छौं। सीप मेलाको अन्तिम दिन जेठ २० पछि ३–४ दिन रोजगार मेला पनि त्यही स्थानमा सञ्चालन हुनेछ। रोजगारदातालाई त्यहाँ बोलाएर हामीसँग यति सीप सिकेका दक्ष जनशक्ति छन्, तपाइर्हंरुले कति जना व्यक्तिलाई रोजगारी दिन सक्नुहुन्छ भनेर सोध्नेछौं। यसपछि उहाँहरुले सोही स्थानबाट आफूले चाहेअनुसारको जनशक्ति काममा लग्नुहुनेछ।
यसले धेरै सीप सिकेका मानिसले सोही समयमा रोजगारी पाउन सक्नेछन्। हामीले रोजगारदातासँग महानगरबाट सीप सिकेका व्यक्तिलाई रोजगारी दिन सम्झौता तथा पहल पनि गर्नेछौं। हामीले सीप सिकाइरहेका सबै क्षेत्रका तथा पेसाका रोजगारदातालाई बोलाएर रोजगार मेला गर्नेछौं। यसपछि पनि सोसम्बन्धी क्षेत्रमा व्यक्तिसँग निरन्तर कुरा गरेर सीप सिकेका व्यक्तिलाई काममा लगाउने प्रयत्न हुनेछ।
महानगरबाट प्रदान गरिएको सीपले मानिसलाई उद्यमी तथा स्वावलम्बी बनाउन कत्तिको भूमिका खेल्ने अपेक्षा गर्नुभएको छ? हाल जे जति सीप सिकाउनुभएको छ, त्यो पर्याप्त छ?
हामीले जति सीप सिकाएका छौं, त्यतिले पर्याप्त हुन्छ भन्ने हुँदैन। अहिले सिकाइरहेको सीपलाई थप फेरि अपग्रेड गराउँदै लग्ने काम हुनेछ। अहिले आधारभूत सीप सिकेर काम गर्नेछन्। पछि फेरि, अपेग्रड भएर काम गर्न चाहनाले सिक्ने पाउनेछन्। हामीले अहिले आधारभूत तालिम दिएका हौं। यसलाई बढाउँदै लग्ने काममा स्वयं पनि सक्रिय हुन सक्नेछन्। अहिले गरिरहेको कामबाट थप बढुवा भएर तथा बढी तलब लिएर काम गर्ने क्षमता होस् भन्ने चाहना पनि हाम्रो रहेको छ।
हामीले अहिले एक वडा एक उद्यम कार्यक्रम पनि चलाइरहेका छौं। यसबाट उद्यमसीलतासँग मानिसलाई जोड्ने कोसिस भइरहेको छ। सबै युवाहरु आफ्नै देशमा बस्ने वातावरण बनोस् र सो अवसर पाउन् भन्ने लक्ष्य छ। हामीले मानिसको मागको आधारमा तालिम थप्दै पनि लगेका छौं। निश्चित अर्थात् केही समूहबाट अलग किसिमको सीप सिक्ने इच्छा भए त्यसलाई पनि हामीले पूरा गर्ने प्रयास गरेका छौं।
मेलामा विद्यार्थीदेखि महिला, पुरुष सबैको उपस्थिति उल्लेखनीय देखिन्छ। खासगरी यस्तो सीप मेला आयोजना गर्न, व्यवस्थापन गर्न कति कठिन छ? बजेटका हिसाबमा कति खर्च हुने रहेछ?
महानगरले सीप सिकाउन र दक्ष जनशक्ति उत्पादन गर्न भनेर १० करोड रुपैयाँ छुट्याएको थियो। सोहीअन्तर्गत हामीले यो सीप मेला आयोजना गरेका हौं। यद्यपि, यो सीप मेलामा हामीले सकेसम्म सानो बजेटमा धेरै काम गर्ने प्रयत्न गरिरहेका छौं। त्यसैले हामीले नेपाल उद्योग परिसंघ, हिसानजस्ता धेरैसँग साझेदारी पनि गरेका छौं। धेरै कुरामा उनीहरुले हामीलाई सहयोग गरिरहेका छन्। धेरैले सहकार्य गरेकाले रोजगारीमा लगाउन सहयोग पुग्ने आशा लिएका छौं। नेपालमै सीप सिकेर दक्ष जनशक्ति बनेर आफ्नै देशमा पसिना बगाएर बस्न युवाहरुलाई आग्रह पनि गर्न चाहन्छु।