काठमाडौं। मुख्य प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई बचाउन सरकारले राज्य संयन्त्र दुरुपयोग गरेको आरोप लगाएको छ।
नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा शुक्रबार बिहान बसेको संसदीय दल कार्यसमिति र संसदीय दल बैठकले सहकारी प्रकरणमा लामिछानेको संलग्नता देखिएकाले संसदीय छानबिन समिति गठन हुनुपर्ने पार्टीको पूर्ववत् निर्णयलाई तलमाथि नहुने जानकारी दिइएको हो।
राष्ट्रिय स्वतन्त्र पार्टी सभापतिसमेत रहेका रविले सहकारी प्रकरणमा करोडौं ठगी गरेको विभिन्न छानबिन समितिले सार्वजनिक गरे पनि संवैधानिक निकायबाटै सफाइ दिलाउने काम भएको कांग्रेसले आरोप लगाएको हो। सहकारीमा नागरिकले बचत गरेको रकम ठगी भएकोले संसदीय छानबिन समिति गठन गर्नुपर्ने पुनः निर्णय गरेको छ।
‘सहकारीको बचत अपचलन, ठगी र हिनामिना अपराध गर्नेलाई सरकारले जोगाउन खोजेको देखिएको छ। ज्बसम्म सरकारले संसदीय छानबिन समिति गठनका लागि निर्णय गर्दैन, तबसम्म कांग्रेसले संसद् बैठक चल्न दिँदैन। सहकारीमा नागरिकले गरेको बचत अपचलन, ठगी र हिनामिना अपराध गर्नेलाई जोगाउन सरकारले संवैधानिक निकाय दुरुपयोग गरेको छ। यसमा हाम्रो आपत्ति छ,’ बैठकपछि प्रमुख सचेतक रमेश लेखकले भने।
लामिछानेले महान्याधिवक्ता कार्यालयबाट क्लिनचिटसहितको पत्र बनाएर सहकारी ठगीमा संलग्न नरहेको कागजात तयार पारेको कांग्रेस आरोप छ।
सहकारीमा लाखौं नागरिकले बचत गरेको रकम अपचलन भए पनि सरकार यस विषयमा गम्भीर नदेखिएको कांग्रेसको भनाइ छ। कांग्रेसले सरकारलाई राज्यका कुनै पनि अंगको दुरुपयोग नगर्न सचेत बनाएको छ।