काठमाडौं। नेपालमा युरोपेली लगानी भित्र्याउन युरोपेली संघ (ईयू)ले सघाउने भएको छ। नेपालका लागि संघका राजदूत भेरोनिक लोरेञ्जोले युरोपेली लगानी ल्याउन आगामी साता काठमाडौंमा ‘ईयू–नेपाल व्यापार मञ्च’को बैठक हुन लागेको बताइन्।
नेपाल र युरोपेली संघबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औं वार्षिकोत्सव तथा युरोप दिवस अवसरमा बिहीबार आयोजित स्वागत कार्यक्रममा राजदूत लोरेञ्जोले नेपालको वैदेशिक लगानी अभाव परिपूति गर्ने उद्देश्यले आगामी जेठ २ र ३ मा काठमाडौंमा मञ्चको दोस्रो बैठक आयोजना गरिने जानकारी दिएकी हुन्।
बैठकमा नेपालका लगानीका सम्भावित क्षेत्रमा छलफल गर्न युरोपेली संघमा आबद्ध मुलुकका कम्पनीले भाग लिने उनले बताइन्। राजदूत लोरेञ्जोले सन् २०२६ मा नेपाल अतिकम विकसित राष्ट्रको सूचीबाट स्तरोन्नति हुनुपर्ने लक्ष्यका साथ अघि बढेकाले त्यस निम्ति आर्थिक विकास र रोजगारी अवसर सिर्जना गर्न आवश्यक भएको धारणा व्यक्त गरिन्।
उनले संघमा आबद्ध सदस्य देश र विकासका लागि युरोपेली वित्तीय संस्थाबाट नेपाललाई प्रदान गरिने सहायता ‘ग्लोबल गेट वे’मार्फत प्रवाह हुने जानकारी दिइन्।
राजदूत लोरेञ्जेले शान्तिप्रिय नेपालीलाई रुस–युक्रेन द्वन्द्व र इजरायलमा भएको आतंकवादी हमलाबाट चोट पुगेको चर्चा गर्दै उनले बन्दी बनाइएका विपिन जोशी र उनकाे परिवारप्रति ऐक्यबद्धता व्यक्त गरिन्। विश्वव्यापी रूपमा संघ शान्ति, विधिको शासन, मानवअधिकार, बहुपक्षीयता, मानवीय सहायता तथा साझेदारीलगायत साझा मूल्यमान्यता प्रवर्द्धन गर्न प्रतिबद्ध रहेको उनको भनाइ थियो।
राजदूत लोरेञ्जेले नेपालको विकास साझेदार संघले ७२ भूकम्प होस् या कोरोना महामारी। नेपालको विकास र विषम परिस्थितिमा सक्दो सहयोग गर्दै आएको बताइन्।
कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, उपसभामुख इन्दिरा राना, सांसद, काठमाडौंस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारीका साथै नेपाल सरकारका अधिकारी उपस्थित थिए।