काठमाडौं। काठमाडौंका विभिन्न ठाउँमा शनिबारदेखि दैनिक ६ घन्टा लोडसेडिङ हुने भएको छ।
नेपाल विद्युत् प्राधिकरणले स्युचाटारदेखि मातातीर्थ सबस्टेसनसम्म रहेको १३२ केभी भोल्टेजस्तरको प्रसारण लाइनको पुरानो तार परिवर्तन गर्नुपर्ने बताउँदै दैनिक ६ घन्टा विद्युत् अवरुद्ध हुने जानकारी गराएको हो।
प्राधिकरणको सूचनाअनुसार उक्त क्षेत्रमार्फत् आपूर्ति हुँदै आएको विद्युत् प्रणाली बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म कटौती हुनेछ।
शनिबारदेखि ३१ गतेसम्म हसनटार फिडरअन्तर्गत पाटोचोक अमरज्योति, पुरोनो हेल्थपोस्ट, कृष्ण मन्दिर, नाग मन्दिर, गौतमगाएँ, हसनटारलगायतका स्थानमा विद्युत् अवरुद्ध हुने प्राधिकरणको सूचनामा उल्लेख छ।
त्यस्तै कंकाली, पहेंलो गुम्बा, गोदामथोक, महांकाल, सीताराम स्कुल, फस्कु, जयन्तीगाउँ, रामकोट, पुरोनो गाउँ, दर्शनखोला आदि स्थानमा पनि विद्युत् आपूर्ति नहुने प्राधिकरणले उल्लेख गरेको छ।
त्यस्तै, खड्कागाउँ फिडरअन्तर्गत शालिकचोक, एलआरआई, खड्कागाउँ, पुरानो हिमशिखर, पिपलबोट आदि क्षेत्रमा पनि बिजुली कटौती हुनेछ। त्यस्तै जेठ २ गतेदेखि ४ गतेसम्म थानकोट र बलम्बु फिडरअन्तर्गत पुरानो नैकाप, बलम्बु, चुनदेवी, खहरे, दहचोक, ढुंगेधारामा पनि ६ घन्टा बिजुली हुने छैन्।
त्यस्तै लामाचौर, बानियाँ गाउँ, दाउरा डिपो, हाइभिजन कोलोनी, पशुविकास र सिर्जना चोक क्षेत्रमा समेत विद्युत् हुने छैन।