काठमाडौं। मध्यपहाडी राजमार्ग अन्तर्गतको खुर्कोट–घुर्मी सडक मर्मत र पुल निर्माण गर्न सिन्धुलीको फिक्कल गाउँपालिकाले आयोजना निर्देशनालयको ध्यानाकर्षण गराएको छ।
बिहीबार पालिका अध्यक्ष पार्वती सुनुवारसहित स्थानीयको प्रतिनिधिमण्डलले बबरमहलस्थित आयोजना निर्देशनालय पुगेर ध्यानाकर्षण गराएको हो।
राजमार्ग आयोजना निर्देशक कुवेर नेपालीलाई ध्यानाकर्षण पत्र बुझाउँदै उक्त क्षेत्रको सडक मर्मत तथा २ वटा पुल यथासिघ्र बनाउन आग्रह गरेको अध्यक्ष सुनुवारले बताइन्। खुर्कोट–घुर्मी खण्डको लम्बाइ ६० किलोमिटर छ।
सो क्षेत्रमा २०६८ सालदेखि निर्माण सुरु गरिएका २ वटा मोटोरेबल पुल हालसम्म निर्माण सम्पन्न भएका छैनन्। फिक्कल गाउँपालिकाको केन्द्र खाङसाङ र फिक्कलकै सोखुखोला पुल निर्माण १२ वर्षदेखि अलपत्र छन्। यद्यपि यसअघि ठेक्का सम्झौता भएको पप्पु कन्ट्रक्सनसँग ठेक्का तोडिएर हाल नयाँ निर्माण कम्पनीले काम गर्दैछ।
तर, पुनः लगाइएको ठेक्कामा पनि निर्माणको गति सुस्त छ। हाल वाइपी विकास एण्ड ब्रदर्स र आत्रय कम्पनीले जोइन्ट भेन्चर पार्ट्नर (जेभी) मा २ वटै पुल निर्माण गर्दैछन्। आयोजना निर्देशक नेपालीका अनुसार सोखु खोला पुल निर्माणको अन्तिम चरणमा छ।
त्यस्तै खाङसाङको पुल भने निर्माणकै तयारीमा छ। क्यापिटल नेपालसँग आयोजना निर्देशक नेपालीले भने, ‘सोखु खोलाको पुलमा स्ल्याब हाल्न बाँकी छ, खाङसाङको पुलमा भने धेरै काम भएको छैन तर, निर्माण कम्पनीलाई छिटो काम गर्न ताकेता गरी रहेका छौं।’ त्यस्तै हैबार, कुखुरेटार, कालिआँपको पहिरोको दिगो व्यस्थापन र केही स्थानमा बाँकी रहेको कालोपत्रेको काम छिटो गर्न निर्देशनालयको ध्यानाकर्षण गराइएको छ।
साथै राजमार्गको बजार क्षेत्रहरु ग्वाल्टार, च्याकुटारबेसी, सुङ्नामबेसी, निगुरेबेसी, झगरेबेसी, सोखुबेसी, तीनखण्डेलगाय स्थानमा फुटपाथ निर्माण गर्न समेत माग गरिएको छ। ‘पालिकामा आएर स्थानीयले पटक–पटक सडकमर्मत र पुल बनाउन कुरा गर्दै आएउनुभएको थियो त्यहीअनुसार हामीले आयोजना निर्देशनालयमा कुरा गरेका छौं,’ अध्यक्ष सुनुवारले भनिन्। फिक्कल गाउँपालिकाको भन्दा पनि राजमार्ग क्षेत्रको समस्यालाई उजागर गरेको अध्यक्ष सुनुवारको भनाइ छ।
सडकमा झरेको पहिरो व्यवस्थापनका लागि जापानमा अध्ययन गरेका इन्जिनियरहरुको विज्ञ टोली खुर्कोट–घुर्मी खण्डमा जाने आयोजना निर्देशनालयले जनाएको छ। ‘पहिरो झरेको विषयमा अध्ययन गर्न विज्ञको टोली जान लागेको थियो, त्यही बेलामा जनप्रतिनिधिहरुले पनि ध्यानाकर्षण गराउनुभएको छ,’ आयोजना निर्देशक नेपालीले भने, ‘ध्यानाकर्षण हुनुभन्दा पहिला नै हामीले विज्ञको टोली अध्ययनका लागि पठाउन लागेका थियौं। अहिले संयोग भयो।’
पहिरो रोकथाम गर्न आगामी आर्थिक वर्षका लागि बजेट माग गरिएको र पुल निर्माणका लागि अन्तिम पटक म्याद थप गरेर छिटो सम्पन्न गर्न ताकेता भइरहेको राजमार्ग निर्देशनालयले जनाएको छ। ध्यानाकर्षण गराउन पालिका अध्यक्ष सुनुवारसहित उपाध्यक्ष राजुबराल, वडाअध्यक्ष एवं स्थानीयहरु बबरमहल पुगेका थिए।