काठमाडौं । योगश भट्टराईले संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीकोे सपथ लिएलगतै मन्त्रालय पुगेर भनेका थिए, अब 'वाउ.. नेपाल एयरलाइन्स' भन्ने बनाउछु ।
आफ्नो घोषणा अनुसार नेपाल एयरलाइन्सलाई उत्कृष्ट बनाउन उनले विज्ञ समूहको सुझाव लिने भन्दै कार्यदल समेत गठन गरे । सो कार्यदलले आफ्नो निर्धारित समयभित्रै सुधारका सुझावसहितको प्रतिवेदन पनि बुझाए ।
तर, मन्त्री भएको ४ महिना बित्दा मन्त्रीले भनेको जस्तो कुनै सुधारको संकेत देखिएको छैन । अहिले सुधारका कार्यहरु पनि उनी मन्त्री भएर आउनुभन्दा पहिलाकै कार्ययोजना अनुसार भइरहेका छन् ।
कार्यदलको सुझावसँगै मन्त्री भट्टराईले कार्यकारी अध्यक्ष मदन खरेललाई नयाँ कार्ययोजना पनि मागे । मन्त्री भट्टराइ अध्यक्ष खरेलको काम चित्त नबुझेको भन्दै केहि समय उनलाई हटाउन समेत लागि परे । तर, खरेललाई हटाउन नसकेपछि त्यसको प्रतिशाेध स्वरुप भ्रमण बर्षको आधिकारीक एयरलाईन्स नै नेपाली ध्वजाबाहक बिमान नेपाल एयरलाईन्सबाट खोसिदिएका छन् ।
सामन्यतया जुनसुकै मुलुकको आधिकारीक एयरलाइन्स सम्बन्धित देशको ध्वाजाबाहक कम्पनी हुन्छ । तर, मन्त्री भट्टराइले पर्यटन बर्ष जस्तो महत्वपुर्ण कार्यक्रमको आधिकारिक एयरलाइन्स राष्ट्रिय ध्वाजाबाहकलाई नदिई टर्किस एयरलाइन्सलाई दिएका छन् ।
भ्रमण वर्ष सचिवालयले पुस ४ गते टर्किस एयरलाइन्ससँग सम्झौता गर्दै आधिकारीक एयरलाइन्सको रुपमा मान्यता प्राप्त गरिसकेको छ । तर, टर्किस एयरलाइन्सका कन्ट्री डाइरेक्टर अब्दुल्हा टंसर केसेसीले एक कार्यक्रममा मन्त्री भट्टराईकै अगाडी हवाई इन्धनको मुल्य नघटाए उडान बन्द गर्ने चेतावनी दिएका छन् ।
नेपालमा अहिले राष्ट्रिय ध्वजाबाहक एयरलाइन्स नेपाल एयरलाइन्स र अर्को नीजि कम्पनी हिमालय एयरलाइन्सले अन्तर्राष्ट्रिय सेवा दिइरहेका छन् । यस्तोमा बिदेशी कम्पनी टर्किसलाई आधिकारीक घोषणा गर्नु सरकारको गम्भिर कमजोरी रहेको एक पर्यटन व्यवसायीले भने ।
नेपाल एयरलाइन्सका एक अधिकारीले आफ्नै देशको जहाजलाई बेवास्ता गरेर विदेशी कम्पनीलाई माया गर्नु आफैलाई खिल्ली उडाए जस्तो भएको बताए । हाल नेपाल एयरलाइन्सका दुई ओटा वाइडबडी र दुई ओटा न्यारोवडी जहाजले अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ । त्यस्तै हिमालय एयरलाइन्सले पनि तीन ओटा जहाज मार्फत अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ ।
तर, भ्रमण वर्ष सचिवालयका सदस्य सचिव बच्चुराम श्रेष्ठले नेपाल एयरलाइन्ससँग सम्झौता गर्न बाकी रहेको बताए । टर्किसलाई युरोपको लागि मात्र आधिकारीक घोषणा गरेको बताउदै उनले भ्रमण वर्ष उद्घाटन पछि नेपाल एयरलाइन्ससँगसम्झौता गर्ने उनले बताए ।