काठमाडौं। नवलपरासीको बर्दघाट सुस्ता पश्चिम ४०० केभी न्यू–बुटवल सबस्टेसन निर्माणको ठेक्का ‘लिंक्सन इन्डिया प्रालि’ले पाएको छ। मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल (एमसीए) ले न्यू–बुटवल सबस्टेसन निर्माणको ठेक्का सम्झौतामा बिहीबार हस्ताक्षर गरेको हो।
३९ महिना अर्थात् ३ वर्ष ३ महिनामा सबस्टेसन निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरिएको हो। परियोजनाको लागत १ करोड ३२ लाख ४० हजार अमेरिकी डलर अर्थात् बिहीबारको सटही मूल्यअनुसार करिब १ अर्ब ७६ करोड ५४ लाख रुपैयाँ बराबर छ।
सम्झौता कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र नेपालका लागि अमेरिकी राजदूत डीन आर. थम्पसन, स्थानीय अधिकारीहरू तथा निर्वाचित जनप्रतिनिधिको उपस्थिति थियो।
अमेरिकी राजदूत थम्पसनले नेपालको ऊर्जासम्बन्धी आवश्यकता सम्बोधनका लागि कम्प्याक्ट उपयोगी रहेको सुनिश्चित गर्ने सन्दर्भमा अमेरिका नेपालसँग सहकार्य गर्न प्रतिबद्ध रहेको बताए। घरेलु उपभोग, विस्तारित व्यापारिक एवं औद्योगिक संस्थाहरू तथा सीमापार विद्युतीय व्यापारका लागि भरपर्दाे एवं धान्न सकिने विद्युत् उपलब्ध गराइरहेको नेपालको विद्युत् प्रसारण क्षमतामा ४०० केभी न्यू बुटवल सबस्टेसनले थप सुधार ल्याउने उनको भनाइ छ।
विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले पनि ४०० केभी सबस्टेसन प्राधिकरणको प्राथमिकतामा रहेको संरचना भएको बताए। यसले नवलपरासी क्षेत्रमा सीमापार ऊर्जा व्यापार उल्लेख्य रूपमा उकास्नका लागि विद्यमान २२० केभी सबस्टेसनलाई सघाउने घिसिङको भनाइ छ।
एमसीए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर बिष्टले एमसीए नेपालले विद्युत् प्रसारण आयोजनाअन्तर्गत प्रसारण लाइन र सबस्टेसन निर्माणसम्बन्धी कामलाई तीव्रता दिइएको बताए। बाँकी २ वटा सबस्टेसन निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्नका लागि एमसीए नेपाल खरिद प्रक्रियाको अन्तिम चरणमा रहेको बिष्टको भनाइ छ।
एमसीए नेपालले नुवाकोटको रातमाटेमा र तनहुँको दमौलीमा पनि १र१ सबस्टेसन निर्माण गर्दैछ। ती सबस्टेसनका लागि निर्माण कम्पनीको छनोटको प्रक्रियामा छन्। अर्थ मन्त्रालयका सचिव अध्यक्ष रहने एमसीए–नेपालको सञ्चालक समितिको फागुनमा बसेको बैठकले न्यू बुटवल–गोरखपुर विद्युत् प्रसारण लाइनको नेपाली क्षेत्रमा पर्ने १८ किलोमिटरको निर्माणलाई अगाडि बढाउने निर्णय गरेको थियो। सोहीअनुसार आज सम्झौता भएको हो।