काठमाडौं। कोसी प्रदेश सरकारको मुख्यमन्त्रीमा एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त भएका छन्। मुख्यमन्त्री कार्की संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री पदमा नियुक्त भएको प्रदेश प्रमुखको कार्यालयले बताएको हो।
यद्यपि, प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानविपरीत मुख्यमन्त्री नियुक्त गरेको दाबी गर्दै निवर्तमान मुख्यमन्त्री केदार कार्कीले आजै मात्र सर्वोच्च अदालतमा रिट दायर गरिने बताएका छन्।
झापा निर्वाचन क्षेत्र ५ (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित हिक्मत नेकपा एमाले र नेकपा माओवादी केन्द्रका ५२ प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री बनेका हुन्।
आजै ५२ जनाको सनाखत गरिएको हस्ताक्षर प्रदेश प्रमुखलाई पेस गरेपछि कार्कीलाई मुख्यमन्त्री नियुक्त गरिएको हो। हस्ताक्षर गर्नेमा जसपाका निर्मला लिम्बूको पनि समर्थन रहेको छ। नवनियुक्त मुख्यमन्त्री कार्कीले आजै सपथ लिने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।
कार्की यसअघि २०७९ पुस २४ माओवादी केन्द्र, राप्रपा र जसपाको समर्थनमा पहिलो पटक मुख्यमन्त्री बनेका थिए। केन्द्रमा कांग्रेससँग समीकरण बनेसँगै माओवादी केन्द्रले सरकार छाडेपछि १५ असार २०८० मा मुख्यमन्त्रीबाट हटेका थिए।
कोसीमा सत्ता छिनाझम्टीको लहर चलिरहेको छ। कार्की हटेपछि कांग्रेस नेता उद्धव थापा दुई पटक मुख्यमन्त्री बने। सभामुखको समर्थन लिएर मुख्यमन्त्री भएका उनी सर्वोच्च अदालतको आदेशमा पदमुक्त भए।
त्यसपछि केदार कार्की मुख्यमन्त्री भए पनि पुनः तत्कालीन सत्तारुढ कांग्रेस र माओवादीलाई सरकारमा सामेल गराएपछि एमाले केदार कार्की सरकारबाट बाहिरियो।
फागुन २१ मा केन्द्रमा पुनः एमाले र माओवादी केन्द्रको गठबन्धन बनेपछि हिक्मतले कोसीमा पुनः तेस्रो पटक मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका हुन्। कार्कीले डेढ वर्षभित्र तीनपटक मुख्यमन्त्री बन्ने रेकर्डसमेत राखेका छन्।