काठमाडौं। पुँजी कम भएका र थोरै जहाज भएका विमान कम्पनीलाई ठूलो आकारमा विस्तार गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले एक आपसमा गाभ्ने/गाभिने र प्राप्ति (मर्जर एन्ड एक्वीजिसन)को नीति अघि सारेको छ।
प्राधिकरणले हवाई सेवा सञ्चालन ‘सर्टिफिकेट गाइडलाइन्स‘को दशौं संशोधनमार्फत एयरलाइन्स कम्पनीहरुलाई मर्जर वा पुँजी थप्ने विकल्प दिन लागेको हो। मर्जरमा जाने एयरलाइन्सलाई दिने सहुलियतको विस्तृत खाका र मोडालिटी बनाइ नयाँ मापदण्ड अघि सार्न लागेको हो।
धेरै कम्पनीहरु हुनुभन्दा थोरैबाट गुणस्तरीय सुविधा दिलाउने उद्देश्यले समस्यामा परेका हेलिकोप्टर वा एयरलाइन्सहरुलाई मर्जरमार्फत् बलियो बनाइने प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए। मर्जर वा एक्वीजिसनका लागि निर्णय गरिसकेको हुनाले अब कार्यान्वयनका लागि कस्ताकस्ता सुविधा दिन सकिन्छ भन्ने मोडल तयार पार्न लागिरहेको उनले बताए।
मर्जर वा एक्वीजिसनमा जान चाहने कम्पनीहरुलाई प्राधिकरण वा सरकारले कस्ता किसिमका सहुलियत दिन्छ भन्ने विषयमा अध्ययन गर्न समिति गठन गर्न लागिएको उनले बताए। ‘समितिले पर्यटन, अर्थ, उद्योग र कानुन मन्त्रालयसँगै नेपाल राष्ट्र बैंकसँगसमेत छलफल गरी प्रतिवेदन तयार पार्नेछ,’ सूचना अधिकारी भुलले भने, ‘एयरलाइन्स कम्पनीलाई कसरी सहज हुन्छ र केके सुविधा दिने भन्ने टुंगो समितिले लगाउनेछ।’
नयाँ मापदण्डमा नयाँ कम्पनीसँग अब न्यूनतम ३ वटा जहाज अनिवार्य हुनुपर्ने, पाँच वर्षभित्र जहाजको संख्या न्यूनतम ५ वटा पुर्याउनुपर्ने र ‘नो अब्जेक्सन लेटर’ प्राप्त गरेको न्यूनतम ५ वर्षसम्म सेयर लगानीकर्ताले आफ्नो सेयर बिक्री तथा हस्तान्तरण गर्न नपाउने उल्लेख छ। यदि ती सर्त पूरा गर्न नसके मर्जर वा प्राप्तिमा जान सक्ने प्रावधानसमेत ल्याएको छ।
नयाँ मापदण्डमा नयाँ कम्पनीसँग अब न्यूनतम ३ वटा जहाज अनिवार्य हुनुपर्ने, पाँच वर्षभित्र जहाजको संख्या न्यूनतम ५ वटा पुर्याउनुपर्ने र ‘नो अब्जेक्सन लेटर’ प्राप्त गरेको न्यूनतम ५ वर्षसम्म सेयर लगानीकर्ताले आफ्नो सेयर बिक्री तथा हस्तान्तरण गर्न नपाउने उल्लेख छ। यदि ती सर्त पूरा गर्न नसके मर्जर वा प्राप्तिमा जान सक्ने प्रावधानसमेत ल्याएको छ।
वायुसेवा सञ्चालक संघका अध्यक्ष मनोज कार्कीले बैंक तथा वित्तीय संस्थाहरुले जस्तै सुविधा पाए मर्जरका लागि तयार रहेको बताए। ‘प्राधिकरणले मर्जरमा जानका लागि बाटो खुलाउने निर्णय सकारात्मक छ,’ अध्यक्ष कार्कीले भने, ‘तर कम्पनीले पाउने सुविधाहरु पनि क्लियर हुनु पर्यो।’ प्राधिकरणको पछिल्लो नीतिले धेरै कम्पनीहरु समस्यामा परिरहेको उनको भनाइ छ।
हाल बुद्ध, यती, श्री एयरलाइन्सबाहेक अन्य कम्पनीसँग ५ वटाभन्दा कम जहाज सञ्चालनमा छन्। सौर्य, समिट, तारा, सिता एयरले तत्कालै जहाज थप्नुपर्ने बाध्यता छ। त्यस्तै हाल बन्द अवस्थामा रहेको गुण एयरलाइन्ससँग भने ७ वटा जहाज छ। हेलिकोप्टरतर्फ श्री हेलिकोप्टरबाहेक सबैले थप्नुपर्नेछ।
जहाज/हेलिकोप्टर थप्न आवश्यक पुँजी जुटाउन अहिले ७ वटा एयरलाइन्स कम्पनी पब्लिक बनिसकेका छन्। ती कम्पनीहरुले प्राथमिक सेयर (आईपीओ) जारी गर्ने र जहाज थप्ने योजना बनाएको छ।
कोभिड १९ को बेला आर्थिक समस्यामा परेपछि केही हेलिकोप्टर कम्पनीहरुले मर्जरमा जानका लागि छलफल गरेका थिए। तर, बैंक तथा वित्तीय संस्थाहरुमा दिइनेजस्तै सुविधा एयरलाइन्स कम्पनीहरुलाई दिन नसक्ने भनेपछि उनीहरु ब्याक भएका थिए। हाल आन्तरिक उडानमा ७ वटा एयरलाइन्स र १२ वटा हेलिकोप्टर कम्पनी सञ्चालनमा छन्।