काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ६ जना विभागीय प्रमुख (कार्यकारी निर्देशक) हरुको जिम्मेवारी हेरफेर गरेका छन्।
गभर्नर अधिकारीले सोमबारदेखि नयाँ जिम्मेवारी सम्हाल्ने गरी वाणिज्य बैंक सुपरीवेक्षण विभाग, वित्त व्यवस्थापन विभाग र मानव संशाधन विभागका प्रमुखहरुको जिम्मेवारी हेरफेर गरेका हुन्।
राष्ट्र बैंकमा १८ जना कार्यकारी निर्देशकहरु कार्यरत छन्। कार्यकारी निर्देशक वा विभागीय प्रमुखको जिम्मेवारी हेरफेर गभर्नर अधिकारी कै निर्देशनमा मात्रै हुन्छ। यसअघि मंसिरमा गभर्नर अधिकारीले १० जना कार्यकारीहरुको जिम्मेवारी हेरफेर गरेका थिए।
अहिले अधिकारीले २ वर्ष यता वाणिज्य बैंक सुपरीवेक्षण सम्हालिरहेका कार्यकारी निर्देशक देवकुमार ढकाललाई वित्त व्यवस्थापन विभाग सरुवा गरेका छन्।
हाल विभागका प्रमुख रहेका रामु पौडेललाई भने वाणिज्य बैंक सुपरीवेक्षणमा सरुवा गरिएको छ। राष्ट्र बैंकमा शक्तिशाली विभागको रुपमा नियमन विभाग र वाणिज्य बैंक सुपरीवेक्षण विभागलाई लिइन्छ। कार्यकारी निर्देशकहरुको बरियताको दोस्रो नम्बरमा रहेका ढकाल ६ महिनापछि सेवाबाट अवकास हुँदैछन्।
यसैगरी, गभर्नर अधिकारीले आगामी सोमबारदेखि जिम्मेवारी सम्हाल्ने गरी मानव संसाधन विभागका प्रमुख मुकुन्दकुमार क्षेत्रीलाई सूचना प्रविधि विभाग र उक्त विभागका प्रमुख नरेश शाक्यलाई मानव संसाधन विभागमा सरुवा गरिएको छ। साथै, आन्तरिक लेखा परीक्षण विभाग प्रमुख रहेका विमलराज खनाललाई लघुवित्त सुपरीवेक्षण विभागमा सरुवा गरिएको छ भने, उक्त विभागका प्रमुख रेवतीप्रसाद नेपाललाई आन्तरिक लेखा विभागमा सरुवा गरिएको हो।
गभर्नर अधिकारीले गत मंसिरमा लामो समयदेखि भुक्तानी प्रणाली विभागमा कार्यरत गुरुप्रसाद पौडेल, नियमन विभागका डा. गुणाकर भट्ट, विदेशी विनिमय विभागका रामु पौडलसहित १० जना कार्यकारी निर्देशकहरुको गरेको थियो।
वित्त व्यवस्थापन विभागका प्रमुख मुकुन्द क्षेत्री जनशक्ति व्यवस्थापन, जनशक्ति व्यवस्थापनका तुलसीराम घिमिरे विदेशी विनियम विभाग र त्यहाँका विभागीय प्रमुख रामु पौडेलको वित्त व्यवस्थापन विभागमा सरुवा गरिएको थियो।
मंसिर १४ अघि मुद्रा व्यवस्थापन विभागका नरेश शाक्यलाई सूचना प्रविधि विभाग, गैरबैंकिङ सुपरीवेक्षण विभागका प्रदीपराज पौडेललाई मुद्रा व्यवस्थापन, सूचना प्रविधिका रामबहादुर मानन्धरलाई गैरबैंकिङ सुपरीवेक्षण विभाग, वित्तीय संस्था सुपरीवेक्षणका विश्रुत थापालाई बैंकिङ विभाग र बैंकिङ विभागका दयाराम शर्मालाई वित्तीय संस्था सुपरीवेक्षण विभागको जिम्मेवारी दिइएको थियो।