बेदकोट। पूर्वपश्चिम महेन्द्र राजमार्गको छेउमा साना छाप्रा छन्। छाप्रामा खर्बुजा (तर्बुजा) राखेर कोही ग्राहक कुरिरहेका छन् भने कोही बिक्रीमा व्यस्त छन्। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ पर्ने वनरा पुल वारिपारी खर्बुजा बेच्नेको भीड छ।
महेन्द्र राजमार्ग भएर ओहोरदोहोर गर्ने यात्रु यहाँ रोकिएर खर्बुजा खरीद गर्छन्। कृष्णपुर नगरपालिका–२ का रामकृष्ण चौधरीले गत चैतदेखि राजमार्ग छेउमा खर्बुजा बिक्री गर्न अस्थायी छाप्रो बनाएर पसल थापेका छन्। वनरा नदीको बगरमा तर्बुजा खेती गर्ने उनी बर्सेनि राजमार्गमा छाप्रो बनाएर खर्बुजा बिक्री गर्दै आएका छन्। 'बगरमा पाँच कठ्ठा र अन्यत्र दुई बिगाह जमिनमा खर्बुजा, काक्रा, फर्सी खेती गरेको छुँ। यसैबाट घरखर्च चलेको छ,' रामकृष्णले भने, 'दैनिक ३ देखि ४ हजार रुपैयाँको बिक्री हुन्छ।'
उनका अनुसार चैत महिनादेखि जेठ अन्तिमसम्म राजमार्गमा पसल थापेर खर्बुजा बिक्री गरिन्छ। हाल दैनिक १५-२० क्विन्टल खर्बुजा बिक्री भइरहेको छ। प्रतिकिलोग्राम ५० रुपैयाँका दरले खर्बुजा बिक्री हुने गरेको छ। गाडामा राखेर गाउँतिर डुलाएर पनि तरकारी बेचिन्छ।
बुवाआमाले पनि खेतीमा सघाएका छन्, 'यो सिजनमा राम्रो आम्दानी हुन्छ।' वनरा शिविरका सालिकराम राना पनि अचेल राजमार्गमा खर्बुजा बिक्री गरिरहेका भेटिन्छन्। उनले वनरा नदीको बगरमा ७ कट्ठा क्षेत्रमा खर्बुजा खेती गरेका छन्। 'आफ्नो बारीमा तर्बुजा पाकेको छैन।
अरुबाट ३० रुपैयाँ प्रतिकिलोग्राम किनेर ५० रुपैयाँमा बेच्दैछौँ,' उनले भने, 'केही दिनमा आफ्नै बारीको तर्बुजा तयार हुन्छ।' वनरा पुल क्षेत्रमा तर्बुजा बेचेर जीविकोपार्जन गर्नेहरूमा अधिकांश मुक्तकमैया र आरक्ष पीडित छन्। 'सुरुमा भारतीयहरूले बगरमा खेती गर्थे। उनीहरूबाटै हामीहरूले पनि बगरमा तरकारी खेती गर्न सिकेका हौँ,' सालिकरामले भने, 'अहिले बगरमा भारतीय छैनन्।'
माघदेखि बगरमा तर्बुजा खेतीका लागि तयारी थालिन्छ। चैत अन्तिम साता तयार भएपछि तर्बुजा बिक्रीका लागि बजार ल्याउने गरिन्छ। 'अन्यत्र बिक्री गर्दा राम्रो मोल पाइँदैन। ढुवानी खर्च बच्ने हुनाले हरेक वर्ष राजमार्गमै तर्बुजा बेच्छौँ,' बासपति रानाको भनाइ छ, 'अरु बेला मजदुरी गरेर घरखर्च जुटाइन्छ।' रासस