काठमाडौं। अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेटले महत्त्वपूर्ण सुधारका काम अघि बढाउने दाबी गरेका छन्। आशावादी बनेरै जेठ १५ मा सार्वजनिक हुने आगामी बजेट निर्माण भइरहेको उनले जानकारी दिएका हुन्।
अर्थमन्त्री पुनले नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले बिहीबार आयोजना गरेको प्रि–बजेट छलफलमा महत्त्वपूर्ण सुधारका कदमसहित आशा जगाउने गरी बजेट ल्याइने बताए।
‘उनले भने, ‘बजेट निर्माणका क्रममा धेरै क्षेत्रसँग सरकारले छलफल गरिसकेको छ। सबै क्षेत्रबाट अर्थतन्त्र शिथिल छ भन्ने गुनासो सुनियो। यद्यपि गत वर्षभन्दा अर्थतन्त्र सुधारोन्मुख रहेकाले आशावादी भएरै बजेट बनाइरहेका छौं।’
उनले निजी क्षेत्रको घटेको मनोबल उठाउने सवालमा बजेटले ध्यान दिने दाबी गरे। सरकारले निजी क्षेत्रलाई तर्साउने नभई परिवार, सम्पत्ति र व्यवसायको सुरक्षालाई प्राथमिकता र सुरक्षा ग्यारेन्टी गरेको मन्त्री पुनको भनाइ छ।
उद्योगी, व्यवसायी जोसुकैमाथि प्रश्न उठेकै आधारमा अपराधी ठान्ने परम्परा अनुचित रहेको उनले बताए।
निजी क्षेत्रको मनोबल उठ्न नसक्नुका कारण खोजेर सरकारले सहजीकरण गर्ने र गरिरहेको दाबी मन्त्री पुनले गरे। ‘लगानी सम्मेलनमा सरकारले कानुन संशोधन गरेको छ। यसमा सरकार र निजी क्षेत्र सँगै रहे। आगामी बजेटले औद्योगिक वातावरण बनाउन भूमिका खेल्नेछ’, उनले भने।
मन्त्री पुनले वित्तीय र मौद्रिक नीतिबीच तालमेल हुनुपर्ने आफ्नो धारणा रहेको सुनाए। आगामी नीति कार्यक्रम, बजेट र मौद्रिक नीति फरक बाटोबाट नहिँड्ने उनले बताए।
बजेट बनाउँदा प्रेसर भोग्नुपरेको र मन्त्रालयहरुले सिलिङ बढाउन दबाब दिइरहेको खुलासा मन्त्री पुनले गरे। अर्थमन्त्री र गभर्नर टाढै बसेर प्रतिस्पर्धा गर्ने विषय नरहेको र सबैको लक्ष्य मुलुकको विकास हुनुपर्ने धारणा उनले व्यक्त गरे।