काठमाडौं। वाणिज्य बैंकमा सबैभन्दा कम पुँजी स्ट्यान्डर्ड चार्टड बैंकको छ। पहिलो विदेशी लगानीको बैंकको रुपमा परिचित स्ट्याण्डर्ड चार्टर्डको चुक्ता पुँजी ९ अर्ब ४२ करोड ९५ लाख रुपैयाँ छ।
नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकको न्यूनतम चुक्ता पुँजी ८ अर्ब रुपैयाँ हुनुपर्ने व्यवस्था गरेको छ। स्ट्याण्डर्ड चार्टर्डको चुक्ता पुँजी न्यूनतम पुँजीभन्दा करिब डेढ अर्ब रुपैयाँ मात्रै बढी छ।
तर, साढे २ अर्ब रुपैयाँ चुक्ता पुँजी हुनुपर्ने एउटा राष्ट्रियस्तरको विकास बैंकको चुक्ता पुँजी वाणिज्य बैंकको न्यूनतम सीमाभन्दा केही कम मात्र छ। स्याङ्जा, कास्की, तनहुँ गरी तीन जिल्ला कार्यक्षेत्र बनाइ ‘ख’ वर्गको वित्तीय संस्थाका रुपमा २०६३ पुस १९ गते वित्तीय कारोबार सुरु गरेको मुक्तिनाथ विकास बैंक चुक्ता पुँजीका आधारमा वाणिज्य बैंकलाई पछ्याइरहेको छ। ७ अर्ब ४ करोड ६९ लाख रुपैयाँ चुक्ता पुँजी भएको मुक्तिनाथको वाणिज्य बैंक बन्न मात्रै करिब ९५ करोड रुपैयाँ पुँजी अपुग हुन्छ।
त्यसो त मुक्तिनाथले पुँजीका आधारमा मात्रै वाणिज्य बैंकलाई पछ्याएको होइन, अन्य धेरै सूचकमा वाणिज्य बैंकहरुलाई उछिनेको पनि छ।
धेरै सूचकहरुमा मुक्तिनाथ कैयौं वाणिज्य बैंकभन्दा अब्बल छ। राष्ट्र बैंककाअनुसार चालू आर्थिक वर्षको चैतसम्म मुक्तिनाथको निष्क्रिय कर्जा (एनपिएल) २.०२ प्रतिशत छ। मुक्तिनाथको एनपिएल समग्र वाणिज्य बैंकसँग तुलना गर्दा तीन वटा वाणिज्य बैंक मात्र मुक्तिनाथ अब्बल छन्।
अर्थात् निस्क्रिय कर्जाका आधारमा नेपाल एसबिआई बैंक, सानिमा बैंक र एभरेष्ट बैंक मात्र मुक्तिनाथभन्दा अब्बल छन्। अन्य १७ वाणिज्य बैंकको एनपिएल मुक्तिनाथको भन्दा धेरै छ। वाणिज्य बैंकहरुतर्फ एभरेष्ट बैंकको ०.७ प्रतिशत एनपिएल हुँदा लक्ष्मी सनराइजको ५.४९ प्रतिशत छ।
त्यस्तै, मुक्तिनाथको बचत (डिपोजिट अफ कस्टुमर) १ खर्ब १० अर्ब ४० करोड रुपैयाँ छ। जुन स्ट्यान्डर्ड चार्टर्डको भन्दा धेरै हो। स्ट्यान्डर्ड चार्टर्डको बचत १ खर्ब १० अर्ब ६ करोड रुपैयाँ मात्र छ।
निक्षेप संकलनमा मात्र होइन मुक्तिनाथले ऋण लगानीमा पनि स्ट्यान्डर्ड चार्टर्डलाई पछि छाडेको छ। मुक्तिनाथको लोन एन्ड एड्भान्स ९२ अर्ब ८५ करोड रुपैयाँ छ भने स्ट्यान्डर्ड चार्टडको ८७ अर्ब ३८ करोड रुपैयाँ छ। मुक्तिनाथ भन्दा केही बढी ऋण लगानी गरेका नेपाल एसबिआई र माछापुच्छ्रेको १ खर्ब २८ अर्ब हाराहारी छ।
निक्षेप संकलन र कर्जा लगानीमा मात्र होइन मुक्तिनाथले खुद नाफा (प्रोफिट आफ्टर ट्याक्स)मा पनि वाणिज्य बैंकहरुलाई उछिनेको छ। चैतसम्म मुक्तिनाथको खुद नाफा १८ करोड रुपैयाँ छ। तर, नेपाल बैंकको खुद नाफा १३ करोड रुपैयाँ मात्र छ। वितरणयोग्य नाफामा भने मुक्तिनाथले १० वाणिज्य बैंकलाई पछाडि पारेको छ।
धेरै सूचकहरुमा मुक्तिनाथ कैयौं वाणिज्य बैंकभन्दा अब्बल छ। राष्ट्र बैंककाअनुसार चालू आर्थिक वर्षको चैतसम्म मुक्तिनाथको निष्क्रिय कर्जा (एनपिएल) २.०२ प्रतिशत छ। मुक्तिनाथको एनपिएल समग्र वाणिज्य बैंकसँग तुलना गर्दा तीन वटा वाणिज्य बैंक मात्र मुक्तिनाथ अब्बल छन्।
मुक्तिनाथको वितरणयोग्य नाफा १ करोड रुपैयाँ हुँदा सिद्धार्थ, माछापुच्छ्रे, ग्लोबल आईएमई, एनएमबी, लक्ष्मी सनराईज, कुमारी, एनआईसी एसिया, नेपाल इन्भेष्टमेन्ट मेगा, हिमालयन र नेपाल बैंकको वितरणयोग्य नाफा ऋणात्मक (माइनस) मा छ। त्यस्तै, धनात्मक वितरणयोग्य नाफा रहेको सिटिजन्स बैंक इन्टरनेशनलको पनि १ करोड ८९ लाख रुपैयाँ मात्र छ।
त्यस्तै, मुक्तिनाथले सम्पत्तिमा प्रतिफल (रिटर्न अन इक्विटी–आरओई)मा पछि सबै जसो वाणिज्य बैंकलाई पछि पारेको छ। मुक्तिनाथको आरओइ ११.५० प्रतिशत हुँदा ४ वाणिज्य बैंकको स्ट्याण्डर्ड चार्टर्डको १९.११, एभरेस्टको १४.५९, प्राइम कमर्सियलको १४.३० र नबिल बैंकको १२.१६ प्रतिशत छ। अन्य सबै १६ बैंकको आरओइ मुक्तिनाथको भन्दा कम छ। नेपाल बैंकको आरओइ ०.४९ प्रतिशत मात्रै छ।
बढी पुँजी भएर पनि समग्र सूचकहरु राम्रो भएकाले मुक्तिनाथको सेयर मूल्य कैयौं वाणिज्य बैंकको भन्दा धेरै छ। यद्यपि पुँजी कम भएका खराब वित्त कम्पनीहरुको सेयर मूल्य नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बढी हुँदा अब्बल कम्पनी मानिएको मुक्तिनाथको सेयर मूल्य तुलनात्मक रुपमा बढी छैन। त्यसो हुनुमा अधिक पुँजी मुख्य कारण मानिन्छ। मुक्तिनाथको सेयर मूल्य एभरेस्ट, एनआइसी, स्ट्याण्डर्ड चार्टर्ड र नबिल बैंकको भन्दा केही कम छ।
अझ एनआइसी एसियाको सेयर मूल्यलाई मुक्तिनाथले पछ्याइरहेको छ। बुधबार मुक्तिनाथको प्रतिकित्ता ३४५ रुपैयाँमा सेयर किनबेच हुँदा एआइसी एसियाको ३५०, नबिल बैंकको ४२४ एभरेष्टको ५०२ र स्ट्यान्डर्ड चार्टर्डको ५१४ रुपैयाँ तय भएको छ। तर, बुधबार कुमारीको प्रतिकित्ता १३०.४० रुपैयाँ र प्रभु बैंकको १३३.४० रुपैयाँमा कारोबार भएको छ।
शाखा विस्तारमा समेत मुक्तिनाथ कैयौं बैंकभन्दा अगाडि देखिएको छ। नेपालभर १७८ शाखा रहेको मुक्तिनाथको ३५०० बढी रेमिट्यान्स केन्द्र र २२ एटिएम बुथमार्फत् ९ लाख ५० हजार भन्दा धेरै ग्राहकलाई सेवा दिइरहेको छ। मुलुकभर स्ट्याण्डर्ड चार्टर्डको १५, नेपाल एसबीआइको ९७, सानिमा १०९ र माछापुच्छ्रेको १६५ शाखा छन्। मुक्तिनाथ विकास बैंकमा ५१ प्रतिशत लगानी संस्थागत र ४९ प्रतिशत लगानी सर्वसाधारणको छ।
कुल सम्पत्तिमा (टोटल एसेट्स) पनि मुक्तिनाथले स्ट्याण्डर्ड चार्टर्डलाई पछ्याइरहेको देखिन्छ। मुक्तिनाथको कुल सम्पत्ति १ खर्ब २४ अर्ब रुपैयाँ हुँदा स्ट्यान्डर्ड चार्टडको १ खर्ब ३८ अर्ब र माछापुच्छ्रेको १ खर्ब ८४ अर्ब रुपैयाँबराबर छ। त्यस्तै, मुक्तिनाथले कुल इक्विटी, खुद ब्याज आय आदिमा पनि वाणिज्य बैंंकहरुलाई पठ्याइरहेको पाइन्छ।
मुक्तिनाथको कुल इक्विटी १० अर्ब ११ करोड रुपैयाँ छ भने वाणिज्य बैंकमा सबैभन्दा कम इक्विटि भएको माछापुच्छ्रे बैंकको १६ अर्ब ५९ करोड रुपैयाँ छ। त्यस्तै, खुद ब्याज आय मुक्तिनाथको ३ अर्ब १३ करोड रुपैयाँ हुँदा नेपाल एसबिआई बैंकको ३ अर्ब ५७ करोड रुपैयाँ छ।
ब्याजको आधार दर (बेस रेट) पछि मुक्तिनाथको वाणिज्य बैंककै हाराहारी छ। मुक्तिनाथको १०.०४ प्रतिशत बेस रेट हुँदा वाणिज्य बैंकतर्फ सबैभन्दा बढी हिमालयनको ९.८४ प्रतिशत र कुमारीको ९.६३ प्रतिशत छ। त्यस्तै, व्याजदर अन्तर (इन्ट्रेस्ट स्प्रेड) भने वाणिज्य बैंकहरुले ४ प्रतिशतको सिमामा राख्नुपर्ने प्रावधानका कारण मुक्तिनाथको केही बढी छ।
मुक्तिनाथको स्प्रेडदर ४.५९ प्रतिशत भएका कारण त्यसबाट हुने आम्दानीको प्रभाव अन्य सूचकहरुमा पनि परेको देखिन्छ। तर, गाभ्ने/गाभिने प्रक्रियामा सहभागी भएका बैंकहरुको स्प्रेड ४ प्रतिशतभन्दा बढी राख्न छुट भएकाले लक्ष्मी सनराइजको ४.४१ प्रतिशत र कुमारीको ४ प्रतिशत रहेको छ।
कतिपय सूचकहरु वाणिज्य बैंकको भन्दा अब्बल भएपछि मुक्तिनाथ बेलाबेला वाणिज्य बैंक बन्ने चर्चा पनि चल्छ/चलाइन्छ। तर, राष्ट्र बैंकले सहजै स्तरोन्नति सुविधा नदिने भएकाले मुक्तिनाथ वाणिज्य बैंक बन्न उपयुक्त समयको खोजीमा छ।
मुक्तिनाथका अध्यक्ष भरतराज ढकाल राष्ट्र बैंकले अनुमति दिएमा आफूहरु वाणिज्य बैंक बन्न सबै संरचना तयार गरेर बसेको बताउँछन्। ‘वाणिज्य बैंक बन्न आवश्यक पुँजी जुटाएको मात्र होइन मुक्तिनाथले धेरै पूर्वाधार तयार गरिसकेको छ,’ मुक्तिनाथकै पूर्वप्रमुख कार्यकारी अधिकृत रहेका ढकाल भन्छन्, ‘राष्ट्र बैंकको अनुमति खोजिरहेका छौं। स्तरोन्नति हुन पाउने व्यवस्था रहेकाले सोहीअनुरुप मापदण्डहरु पूरा गर्दै र पछ्याउँदै अघि बढेका छौं।’
अधिकांश वाणिज्य बैंकहरुले आफ्ना सेवालाई विविधिकृत नगरेका बेला मुक्तिनाथले आफ्ना सेवालाई विविधिकृत गर्दै लगेको छ।
ग्रामीण क्षेत्रबाट उदाएको मुक्तिनाथले लघुवित्त वित्तीय सेवालाई प्रभावकारी रुपमा अघि बढाएका कारण आजको सफलता हात लागेको बताउने गरिन्छ। २०६५ वैशाख १ गते मुक्तिनाथले लघुवित्त विभाग खडा गरी लघुवित्तका क्षेत्रमा काम गरेको थियो।
अधिकांश वाणिज्य बैंकहरुले आफ्ना सेवालाई विविधिकृत नगरेका बेला मुक्तिनाथले आफ्ना सेवालाई विविधिकृत गर्दै लगेको छ। अहिले मुक्तिनाथको सहायक कम्पनीको रुपमा मुक्तिनाथ क्यापिटल र मुक्तिनाथ कृषि कम्पनी सञ्चालित छन्। कृषिका क्षेत्रमा काम गर्ने उद्देश्य बोकेको मुक्तिनाथ कृषि कम्पनीले सर्वसाधारणलाई सेयर बिक्री गरी नेप्सेमा सूचिकृत भइ नियमित कारोबारसमेत गर्दै आएको छ।
मुक्तिनाथ कृषि कम्पनीअन्तर्गत पनि मुक्तिनाथ सिड बैंक, मुक्तिनाथ फर्टीलाइजर बैंक, मुक्तिनाथ नर्सरी बैंक, मुक्तिनाथ लाइभस्टक बैंक, मुक्तिनाथ हर्बल बैंक, मुक्तिनाथ फुड बैंक, मुक्तिनाथ एग्रो मेसिनरी बैंक, मुक्तिनाथ ट्रेडिङ लिमिटेड, मुक्तिनाथ आइटेक लिमिटेड र मुक्तिनाथ क्लाइमेट केयर लिमिटेड सञ्चालनमा छन्।