काठमाडौं। फाइनान्स र लघुवित्तमा लगानीकर्ताको आकर्षण देखिएको छ। साता कारोबारको चौथो दिन बुधबार सेयर बजारमा फाइनान्स र लघुवित्तमा लगानीकर्ता आकर्षित देखिएका हुन्।
बुधबार फाइनान्स समूहमा सर्वाधिक अर्थात् ३.११ प्रतिशतको वृद्धि हुँदा लघुवित्त समूहको सेयर मूल्यमा २.७६ प्रतिशत वृद्धि भएको छ। कारोबारमा आएकामध्ये १४ फाइनान्स कम्पनीको सेयर मूल्य बढ्दा एउटा कम्पनीको मात्रै स्थिर बसेको छ।
यस्तै, ४७ लघुवित्त कम्पनीको सेयर मूल्य बढ्दा ४ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ। बुधबार इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.९९ प्रतिशतले बढ्दा डोल्टी पावरको सेयर मूल्य ९.७४ र समता घरेलु लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.६७ प्रतिशतले बढेको छ।
आज कुमारी सबल योजनाका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्। कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। यस्तै, मैलुङ खोला जलविद्युत् कम्पनीको सेयर मूल्य ३.६९ प्रतिशतले घट्दा आरबीबी फन्ड–१ को सेयर मूल्य ३.१८ प्रतिशतले घटेको छ।
बुधबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सामान्य गिरावट आएको छ। नेप्से ०.२१ अंकले घटेर १९६०.६० को बिन्दुमा बन्द भएको छ। अघिल्लो कारोबार दिन मंगलबार नेप्से २.०६ अंकले बढेर १९६०.८१ को बिन्दुमा बन्द भएको थियो।
बुधबार कारोबार रकममा सुधार आएको छ। आज कुल २ अर्ब ५४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो कारोबार दिन मंगलबार भने नेप्सेमा कुल २ अर्ब १४ करोड बराबरको कारोबार भएको थियो।
बुधबार कारोबारमा आएकामध्ये १२४ कम्पनीको सेयर मूल्य बढ्दा १०७ कम्पनीको सेयर मूल्य घटेको छ। यस्तै, १२ कम्पनीको सेयर मूल्य स्थिर छ।