काठमाडौं। हवाई टिकटमा लगाइँदै आएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) र तारे होटलमा पर्यटकबाट लिइने २ प्रतिशत कर हटाउन पर्यटनमन्त्री हितबहादुर तामाङ सकारात्मक देखिएका छन्।
नेपाल उद्योग वाणिज्य महासंघको हवाई तथा पर्यटन समिति संयोजक हेमराज ढकाल नेतृत्वको व्यवसायीसँगको भेटमा मन्त्री तामाङले आगामी बजेटमार्फत खारेजका लागि सम्बन्धित मन्त्रालयसँग समन्वय गर्ने प्रतिबद्धता जनाएका हुन्।
समिति सभापति देशबन्धु बस्नेतले चालू आर्थिक वर्षको बजेटमार्फत हवाई टिकटमा भ्याट लगाउने निर्णय गर्दा हवाई भाडा महँगो भएकाले पर्यटक नेपाल आउने क्रम घट्न थालेको बताए।
‘विश्वका अन्य मुलुकभन्दा नेपाल आउँदा हवाई भाडा महँगो पर्ने भएपछि अन्य गन्तव्यमा पर्यटक जान लागेका छन्,’ सभापति बस्नेतले भने, ‘लक्जरी करले होटल बसाइँसमेत महँगिएको छ। यसलाई बजेटमार्फत सम्बोधन गरियोस्।’
अहिले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ का कारण पर्यटन क्षेत्रमा विदेशी लगानी भित्रन नसक्ने भन्दै त्यसलाई तत्काल समयसापेक्ष बनाई परिमार्जन गर्नुपर्ने, पोखरा र भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तत्कालै सञ्चालन गर्नुपर्ने माग समिति सदस्यले पर्यटनमन्त्रीसमक्ष राखेका छन्।
यस्तै, होटल क्षेत्रलाई उद्योगको रुपमा मान्यता दिलाउन सम्बन्धित मन्त्रालयसँग पहलका लागिसमेत उनीहरुले आग्रह गरेका छन्।
काठमाडौं म्यारियट होटलका सञ्चालक शशिकान्त अग्रवालले व्यवसायी समस्यामा परिरहेका बेला सरकारले आवश्यक निर्णय गरेर राहत दिनुपर्ने बताए। विदेशी चेन होटलले नाफाको ५ प्रतिशत बढी आम्दानी लैजान नपाउने नीति गैरजिम्मेवार रहेकाले तत्कालै संशोधन गर्नुपर्ने माग उनको छ।
व्यवसायीले राखेका मागबारे सचिव गणेश पाण्डेलाई समेत साथमै राखेर पर्यटन मन्त्रालयमार्फत तत्कालै गर्न र अन्तरमन्त्रालय समन्वयबाट गर्नुपर्ने कामलाई गति दिन मन्त्री तामाङले निर्देशन दिए।