काठमाडौं। पछिल्लो समय भारतसँग जोडिएका सीमा नाकाबाट खुलेआम चिनी र चामल भित्र्याएर नेपालमा बिक्री गर्ने क्रम ह्वात्तै बढेको छ। खुला सीमाको फाइदा उठाउदै भारतीय बजारबाट घरायसी प्रयोगको नाममा सेटिङमा चामल र चिनी भित्र्याएर नेपालमा बिक्री गरिँदै आएको हो।
नेपाल चामल, तेल, दाल उद्योग संघका निर्वतमान अध्यक्ष सुवोध गुप्ताले पछिल्लो ६ महिने अवधिमा भारतीय नाकाबाट चोरी तस्करी खाद्यान्न धेरै आइरहेको बताए। नेपालमा भन्दा भारतमा खाद्यान्न सस्तो पाउने भएकाले तस्करले स्थानीयलाई प्रलोभनमा पारेर सीमापार गराउने उनको भनाइ छ।
‘घरायसी प्रयोगका नाममा स्थानीय नागरिकले दैनिक ५०औं टन चामल चोरी तस्करीमार्फत ल्याउने गरेका छन्,’ पूर्वअध्यक्ष गुप्ताले भने, ‘भारतको सस्तो चामल पाएपछि नेपालको चामलै प्रयोग हुन छाडेको छ।’
भारतमा उत्पादित चामल नेपालको भन्दा सस्तो हुन्छ। भारतले धान निर्यातमा २० प्रतिशत र नेपाल सरकारले आयातमा ५ प्रतिशत भन्सार शुल्क तोकेको छ। १ किलो धानमा २५ प्रतिशत भन्सार तिर्नुपर्छ। सोही कारण नेपालका मिलमा कुटानीपिसानी भएका चामल भारतको भन्दा महँगो पर्ने गर्छ।
भारतमा जिरा मसिना चामल प्रतिकिलो भारु ४२ (नेपाली ६७ रुपैयाँ २ पैसा) पर्छ। नेपालमा सोही चामल प्रतिकिलो ८८ रुपैयाँसम्म पर्छ। यो भनेको नेपालमा भन्दा भारतमा २१ रुपैयाँ सस्तो हो। यसरी एक बोरा(२५ किलो)को चामल भारतमा खरिद गर्दा ५२५ रुपैयाँ सस्तो पर्छ। होलसेल मूल्यमा अझ कम पर्छ।
नेपालमा चिनी प्रतिकेजी १०० रुपैयाँ खुला मूल्य रहेको छ भने भारतमा नेरु ८० मै पाइन्छ। नेपालमा भन्दा भारतमा सस्तो मूल्यमा पाइने भएपछि खुला सीमाको दुरुपयोग गर्दै तस्करले व्यवसाय सन्जाल नै विस्तार गरेको व्यवसायीको गुनासो छ।
भारत र नेपालको सिमानामा गोदाम बनाएर अपांगता भएकाले प्रयोग गर्ने चारपांग्रे स्कुटरदेखि साइकल प्रयोग गरेर सामान ओसारपसार गर्ने गरेको ती व्यवसायीको भनाइ छ। नाकामै अवस्थित भन्सार कार्यालयका कर्मचारीले समेत अपांगता भएका व्यक्ति हुन् भन्दै चारपांग्रे स्कुटरलाई चेकजाँच नगरी पठाउने गरेको व्यवसायीको दाबी छ।
भारतमा उत्पादित चामल नेपालको भन्दा सस्तो हुन्छ। भारतले धान निर्यातमा २० प्रतिशत र नेपाल सरकारले आयातमा ५ प्रतिशत भन्सार शुल्क तोकेको छ। १ किलो धानमा २५ प्रतिशत भन्सार तिर्नुपर्छ। सोही कारण नेपालका मिलमा कुटानीपिसानी भएका चामल भारतको भन्दा महँगो पर्ने गर्छ।
‘कतिपय कर्मचारीले तस्करमार्फत सामान ओसारपसार गर्नेसँग मिलेमतो गरेकै हुन्छन्,’ ती व्यवसायीले भने, ‘कहिलेकाहीँ नाका कडाइ गरेजस्तो गरे पनि फेरि खुला छाडिँदा व्यवसायी मर्कामा परेका छन्।’
चिनी उत्पादक संघ अध्यक्ष शशिकान्त अग्रवालले भारतबाट चोरी तस्करीको चिनी तथा खाद्यान्न सामग्री आउने क्रम बढ्नु टाउको दुखाइको विषय बनेको बताए। ‘खुला सीमाको नाममा दैनिक हुने तस्करीमा भन्सार कार्यालय र गृह प्रशासन मुकदर्शक हुनु नेपाली उद्योगी, व्यापारीका लागि दुःखद विषय हो’, अध्यक्ष अग्रवालले भने, ‘नियन्त्रणका लागि सरकार गम्भीर नभए धेरै व्यवसायी पलायन हुने स्थिति आउँछ।’
वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी रघुलाल कर्णले घरायसी उपयोगबाहेक अन्य प्रयोजनका लागि सामान ल्याउन रोकिएको जानकारी दिए। ‘ठूलो परिमाणमा सामान ल्याउनेबाट जफत गरी कारबाही गरेका छौं,’ सूचना अधिकारी कर्णले भने, ‘चोरी तस्करी नियन्त्रणको जिम्मा प्रहरी प्रशासनको हो, हामीलाई थाहा भएन।’
तराईमा छैन व्यापार, पहाडमा घट्दो
त्रिवेणी ग्रुपका निर्देशक एवं अमृत चामल उद्योग सञ्चालक साकेत संघईले पछिल्लो ६ महिनायता चामल व्यापार ५० प्रतिशतले घटेको बताए।
तराईका जिल्लामा बिक्री हुनै छाडेको र काठमाडौं, पोखरासहित ठूला सहरसँगै पहाडी/हिमाली क्षेत्रमा पनि व्यापार घटेको उनको भनाइ छ। भारतबाट सस्तोमा चामल आउने भएपछि नेपाली उत्पादन बिक्री हुन छाड्दा धेरै चामल मिल बन्द हुने स्थितिमा पुगेको उनको धारणा छ।
नेपालमै उत्पादन भएका चामल र चिनी प्रयोग हुँदा रोजगारी बढ्नुको साथै राजस्वमा समेत वृद्धि हुने गरेकामा अहिले चोरी तस्करीमार्फत आउथ थालेपछि दुवै क्षेत्र संकटमा परेको उनको भनाइ छ।
वैदेशिक रोजगारीको प्रभाव
हुन त, अहिले दैनिक हजारौंको संख्यामा युवाहरु बिदेसिइरहेका छन्। बढी मात्रामा खाद्यान्न उपभोग गर्ने युवा उमेर समूहका व्यक्ति रोजगारी र अध्ययनका लागि बिदेसिने क्रम बढेकाले पनि त्यसको प्रभाव देखिएको हुन सक्ने उद्योगी व्यवसायीको विश्लेषण छ।
अहिले सहरी क्षेत्रमा एक छाक मात्र चामलको खाना खाने प्रचलन बढ्न थालेको छ। आफ्नो स्वास्थ्यावस्थालाई ध्यानमा राख्दै बेलुका चामल भातको सट्टा रोटी, तरकारी खाने मानिसको संख्या पनि बढेको छ।
चामल, तेल, दाल उद्योग संघका पूर्वअध्यक्ष गुप्ताले चामलबाहेक अन्यको माग घटेको जानकारी दिए। ‘चामल माग घट्दा गहुँबाट उत्पादित वस्तुको बढ्नुपर्ने हो तर त्यो देखिएको छैन,’ उनले भने।