काठमाडौं। सुरुङ खन्न सुरु गरेको डेढ वर्षमा ४ पटक अवरोध भएको राष्ट्रिय गौरवको सुनकोसी–मरिण डाइभर्सन परियोजनाको सुरुङ ब्रेक थ्रु (छिचोल्ने काम) आज (बुधबार) हुन लागेको छ।
२०७९ असोज २८ बाट अमेरिकी प्रविधिको ‘टनेल बोरिङ मेसिन’ (टीबीएम)ले मरिण डाइभर्सनको १३.३ किलोमिटर लामो सुरुङ खन्न सुरु गरेको थियो।
सम्झौताअनुसार निर्माण कम्पनीले २२ महिना (२०८१ साउन) भित्र सुरु खनिसक्नुपर्ने थियो। तर, ३ महिना म्याद बाँकी हुँदै सुरुङ ब्रेक थ्रु हुन लागेको हो।
मेसिन प्रयोग गरेको करिब ३ महिना अर्थात् २०७९ पुसमा पहिलो पटक कडा चट्टान भेटिएर ९ दिन र २०७९ कै चैतमा लेदोमाटोका कारण २३ दिन सुरुङ खन्ने काम प्रभावित भएको थियो। त्यस्तै २०८० असोज २८ मा पनि कडा चट्टान भेटिएपछि ९ दिनपछि अर्थात कात्तिक ६ बाट मात्रै फेरि काम सुरुङ खन्न सुरु भएको थियो।
चौथो पटक २०८० पुस १० मा फुस्रो र लेदोसहितको माटो भेटिएर सुरुङ खन्ने काममा अवरोध भएको थियो। चौथो पटकको अवरोध भने सबैभन्दा लामो समय अर्थात् ५७ दिनमा समाधान भएर फागुन ८ बाट पुनः सुरुङ खन्न सुरु भएको हो।
चौथो पटक २०८० पुस १० मा फुस्रो र लेदोसहितको माटो भेटिएर सुरुङ खन्ने काममा अवरोध भएको थियो। चौथो पटकको अवरोध भने सबैभन्दा लामो समय अर्थात् ५७ दिनमा समाधान भएर फागुन ८ बाट पुनः सुरुङ खन्न सुरु भएको हो। सुरुङ खन्न सुरु भएको डेढ वर्षमै मरिण डाइभर्सनले ४ पटक अवरोध झेलेकोे थियो।
तर, पनि सम्झौता अनुसारको ३ महिना म्याद बाँकी हुँदै सुरुङ ब्रेक थ्रु हुन लागेको हो। मरिण डाइभर्सनले सुनकोसीको पानी १३.३ किमि लामो सुरुङमार्फत् सिन्धुलीको मरिण खोलामा पुर्याउने योजना छ।
सुरुङ खन्न परियोजना कार्यालयले चाइना ओभरसिज कम्पनी ‘कोभेक’ सँग १० अर्ब रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो।
सुरुङको ब्रेक थ्रु प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने परियोजनाका निर्देशक मित्र बरालले बताए। आज बिहान साढे १० सुनकोसी मरिण डाइभर्सनको ब्रेक थ्रुको कार्यक्रम रहे पनि प्रधानमन्त्री दाहाल हिजो बेलुका नै सिन्धुली गएका छन्।
यसअघि यही वैशाख ३ गते सडक सञ्जालको नागढुंगा–सिस्ने सरुङमार्ग पनि प्रधानमन्त्री दाहालमार्फत नै छिचोलिएको थियो।
प्रयोग अनिश्चित
सुनकोसी–मरिण डाइभर्सनको सुरुङ ब्रेक थ्रु भए पनि प्रयोगमा आउने समय भने निश्चित छैन। सुरुङ ब्रेक थ्रु हुनु भनेको जमिन छिचोलिनु मात्रै हो। त्यसमा धेरै प्राविधिक काम गर्न बाँकी छ।
परियोजनाका सिनियर डिभिजनल इन्जिनियर (सीडीई) अशोक गौतमका अनुसार सुरुङभित्र प्राविधिक काम गर्न अझै डेढदेखि २ वर्ष लाग्छ। त्यसपछि पनि सुरुङ प्रयोगमा आइहाल्छ भन्ने हुँदैन।
मरिण डाइभर्सनमा सुरुङ निर्माण गर्नु मात्र नभइ विद्युत् तथा बाँध, मरिण खोला नियन्त्रणलगायत धेरै काम बाँकी रहेकाले प्रयोगको समय नतोकिएको हो। आयोजनाको समग्र काम नसकि सुरुङमा पानी पठाउन मिल्दैन। यद्यपि प्राविधिक काम सकिएपछि आयोजनाले आन्तरिक प्रयोजनका लागि सुरुङको बाटो प्रयोग गर्न सक्नेछ।
मरिण डाइभर्सन छिचोलिने अवस्थामा पुगे पनि हालसम्म यसको वित्तीय प्रगती २९ प्रतिशत भएको परियोजना प्रमुख बरालले बताए। निर्माण सुरु गर्दा ४६ अर्ब १९ करोड रुपैयाँ लागत अनुमान गरिएको थियो। तर, अहिले लागत बढेर ४९ अर्ब ४२ करोड रुपैयाँ पुगेको अनुमान छ।
२०८० भदौमा परियोजनाको खरिद गुरु योजना अद्यावधि गर्दा लागत अनुमान र म्याद बढेको हो। सुरुमा आर्थिक वर्ष २०८२/८३ सम्म म्याद भएको मरिण डाइभर्सनको खरिद गुरु योजना अद्यावधिकसँगै म्याद थप गरेर २०८४ सम्म पुर्याइएको छ।
सुनकोसी मरिण डाइभर्सनले ३१.७ मेगावाट विद्युत् उत्पादन गर्नेछ। आयोजनाले बाँध र विद्युत् गृह निर्माणका लागि २०७९ पुस १७ गते नेपालको रमण कन्स्ट्रक्सन र भारतको पटेल इन्जिनियरिङ जेभीसँग ठेक्का सम्झौता गरेको थियो। सम्झौताअनुसार २०८४ भदौसम्म आयोजनाको बाँध र विद्युत् गृह १२ अर्ब रुपैयाँमा निर्माण हुनेछन्।
हालसम्म बाँध र विद्युत्तर्फको भौतिक प्रगति करिब ७ प्रतिशत भएको मरिण डाइभर्सनले जनाएको छ। सुरुङ ब्रेक थ्रु भए पनि परियोजनाले मरिण खोला नियन्त्रण, प्रसारण लाइन र इलेक्ट्रोमेकानिकल निर्माणको ठेक्का आह्वान गर्न बाँकी छ।