काठमाडौं। सिटिजन लाइफ इन्स्योरेन्सले वैशाख २३ मा २८.४ प्रतिशत लाभांश घोषणा गर्यो। दुई दिनपछि नियामक नेपाल बिमा प्राधिकरणले लाभांश रद्ध गर्यो।
मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सिटिजन लाइफको कारोबार रोक्का गर्यो। पुँजी बजार नियामक नेपाल धितोपत्र बोर्ड (सेबोन)को निर्देशनमा नेपाल स्टक एक्सचेन्ज (नेप्सेले) सिटिजनको कारोबार रोक्का गर्यो।
सिटिजन लाइफले गलत सूचनामार्फत कारोबार प्रवाहित पारेको भन्दै बोर्डले छानबिन प्रक्रिया अगाडि बढाएको छ भने नेप्सेले धितोपत्र विनियमावली, २०७५ अनुसार कारोबार स्थगन गरिसकेको छ।
धितोपत्र बोर्डसम्बन्धी संशोधित ऐनमा भित्री कारोबार प्रभावित गर्ने उद्देश्यले कारोबार गरेको पाइए थप अनुसन्धानका लागि बोर्ड आफूले अध्ययन गरेका सम्पूर्ण विवरणसहित ३० दिनभित्र प्रहरीमा पठाउनुपर्ने व्यवस्था छ।
‘धितोपत्रसम्बन्धी ऐन, २०६३ (दोस्रो संशोधनले २०८०) ले सूचीकृत कम्पनीले भित्री कारोबार, झुठो कारोबार, मूल्यमा उतारचढाव, धितोपत्र बजारलाई प्रभावित पारेमा, झुक्याउने विवरण दिने, जालसाजीयुक्त कारोबार, जालसाज गरी वा झुक्याएर धितोपत्र कारोबार गरे र लिखत, विवरण वा अभिलेख नष्ट गरेमा वा लुकाएमा प्रहरी अनुसन्धानका लागि पठाउने व्यवस्था छ।
नयाँ व्यवस्थाअनुसार आफ्नो छानबिन तयार गरिएको प्रतिवेदनले औंल्याए सिटिजन लाइफको लाभांश प्रकरण पहिलो प्रहरी ‘केस’ बन्ने देखिन्छ। सिटिजन लाइफसम्बन्धी सम्पूर्ण कागजात तथा प्रमाणबाट दोषी करार हुने सम्भावना देखिए प्राप्त उजुरी, संकलित विवरण तथा प्रमाणसहितका कागजात बोर्डले प्रहरी प्रधान कार्यालय पठाउनुपर्ने हुन्छ।
बोर्डको निर्देशन पर्खाइमा नेप्से
सिटिजनको वैशाख २३ गते ४९ हजार ४८९ कित्ता कारोबार भएको छ। प्रतिकित्ता ४५० रुपैयाँमा खुलेको सिटिजन लाइफको सेयर मूल्य आइतबार ४६० रुपैयाँ २० पैसासम्म कारोबार भयो। तर, बजार बन्द हुँदा ४५१ रुपैयाँ ३० पैसा थियो।
आइतबार २ करोड २४ लाख ४९ हजार रुपैयाँबराबरको कारोबार भयो। तर, सोमबार भने सिटिजन लाइफको सेयर मूल्यमा एकाएक वृद्धि देखियो। प्रतिकित्ता ४६० रुपैयाँमा खुलेको बजार मध्य समयमा ४९६ रुपैयाँ ४० पैसासम्म पुग्यो। यद्यपि, बजार बन्द हुँदा ४६३ रुपैयाँ १० पैसामा झर्यो।
सोमबार ६ लाख ६६ हजार ४८१ कित्ता सेयर किनबेच हुँदा ३१ करोड ९८ लाख ३० हजार ९४२ रुपैयाँबराबरको कारोबार भयो। तर, मंगलबार नेप्सेले कारोबार स्थगत गर्यो।
नेप्सेका प्रवक्ता मुराहरि पराजुलीका अनुसार सिटिजन लाइफले गलत सूचना दिएको पाइएपछि कारोबार रोक्का गरी धितोपत्र बोर्डलाई जानकारी गराइएको छ।
‘कम्पनीले पटक÷पटक सूचना परिवर्तन गरेपछि के कारवाही गर्ने भनेर सेबोनलाई पत्रचार गरेर नै कम्पनीको कारोबार रोक्का गरेका हौं’ नेप्सेका प्रवक्ता पराजुलीले क्यापिटल नेपालसँग भने, ‘बोर्डबाट पत्रको जवाफ नआउँदासम्म नेप्सेले कम्पनीको कारोबार रोक्का गर्छ।’
संशोधित ऐनअनुसार बोर्डले सूचीकृत कम्पनीहरूले भित्री कारोबार, झुटो कारोबार, मूल्यमा उतारचढाव, धितोपत्र बजारलाई प्रभावित पारे, झुक्याउने विवरण दिनेलगायतका काम गर्दा नगद जरिमानादेखि जेल सजायसम्मको व्यवस्था गरेको छ।
कम्पनीले बजारको स्वच्छतामा आँच आउने गरी गलत सूचना सम्प्रेषण गरेपछि नेप्सेले सिटिजनको कारोबार रोक्नुपरेको उनको भनाइ छ। बोर्डबाट सिटिजनको कारोबार फुकुवाका लागि निर्देशन नआएसम्म कारोबार रोक्का रहनेछ।
सिटिजन लाइफलाई पहिलो कारबाही, सञ्चालक समिति निलम्बन
सिटिजन लाइफको नेप्सेले पठाएको तथ्यांकमा आधारित रहेको बोर्डले गरेको प्रारम्भिक अनुसन्धानमा कम्पनी गलत ठहर भए त्यो कसुर प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले हेर्नेछ।
संशोधित ऐनअनुसार बोर्डले सूचीकृत कम्पनीहरूले भित्री कारोबार, झुटो कारोबार, मूल्यमा उतारचढाव, धितोपत्र बजारलाई प्रभावित पारे, झुक्याउने विवरण दिनेलगायतका काम गर्दा नगद जरिमानादेखि जेल सजायसम्मको व्यवस्था गरेको छ। सिटिजन लाइफले माथि उल्खिखितमध्ये कुनै पनि काम गरेको पाइए ५० हजारदेखि ३ लाख रुपैयाँ नगद जरिमाना र एक वर्षसम्मको कैद सजाय हुनेछ। साथै, यस्तो कामबाट सम्बन्धित पक्षलाई भएको सम्पूर्ण हानिनोक्सानीको क्षतिपूर्तिसमेत दिनुपर्नेछ।
यस्तो मुद्दा कम्पनी सञ्चालक समिति सदस्य तथा उच्च पदस्थमा रहेका व्यक्तिको नाममा चलाउन सकिने ऐनमा उल्लेख छ। ऐनबमोजिम कसुर आरोपमा कारबाही चलाइएको व्यक्ति पदमा बहाल रहिरहँदा आफ्नोविरुद्धको प्रमाण लोप वा नाश गर्न सक्ने वा मुद्दाको तहकिकातमा बाधा व्यवधान पु¥याउन सक्ने मनासिव कारण भए बोर्डले त्यस्तो व्यक्तिलाई निलम्बनमा राख्न सम्बन्धित संस्थामा लेखी पठाउन सक्नेछ।
बोर्डले प्रारम्भिक छानबिन गरी सिटिजनको कसुर प्रहरीसमक्ष छानबिनलाई पठाए बोर्डले सञ्चालक समिति सदस्यलाई निलम्बनसमेत गर्न सक्ने देखिन्छ।
यस कारण रद्द गर्यो प्राधिकरणले सिटिजनको लाभांश
कम्पनी सञ्चालक समितिले गत आइतबार सेयर प्रिमियम रकमबाट हाल कायम चुक्ता पुँजीको २६.९८ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरी नेप्सेमा सूचना पठाएको थियो। कम्पनीले नियामकले स्वीकृति दिए विशेष साधारणसभाबाट पारित गराएर सेयरधनीमा वितरण गर्ने भन्दै लाभांश घोषणा गरेको थियो।
तर, नेपाल बिमा प्राधिकरणले भने कम्पनीले प्रकृया नपुर्याई लाभांश घोषणा गरेको भन्दै घोषित लाभांश रद्द गर्न निर्देशन दियो। कम्पनीले लाभांश घोषणा गर्नुअघि बाह्य लेखा परीक्षण गरेको वित्तीय विवरण स्वीकृत गराउनुपर्ने प्रक्रिया पूरा नगरेको बिमा प्राधिकरणका कार्यकारी निर्देशक राजु रमण पौडेल बताउँछन्।
‘जुन आवबाट लाभांश वितरण गर्ने हो? त्यो आवको अडिट भएको वित्तीय विवरण प्राधिकरणले स्वीकृत गरेपछि मात्रै सोहीअनुसार कम्पनी सञ्चालक समितिले लाभांश घोषणा गर्न पाउँछन्,’ प्राधिकरणका प्रवक्ता पौडेलले क्यापिटल नेपालसँग भने, ‘सिटिजनले सेयरधनीलाई बोनस आशयले मात्रै विशेष साधारणसभा गर्न लागेको रहेछ, जुन कुरा प्राधिकरणलाई जानकारीसमेत गराएको थिएन।’
कम्पनीहरूले कुनै पनि आर्थिक वर्षको नाफाबाट वा अन्य प्रयोजनबाट भएको आम्दानीबाट सेयरधनीलाई लाभांश वितरण गर्न बाह्य लेखा परिक्षण भएको वित्तीय विवरण प्राधिकरणबाट स्वीकृत गराउँनै पर्ने व्यवस्था सिटिजनले उल्लंघन गरेको उनले बताए।
‘सिटिजनले यो वर्ष लाभांश वितरण गर्न पाउँदैन। लाभांश वितरण गर्न वार्षिक साधारणसभा गर्नुपर्ने हुन्छ। कम्पनीको वार्षिक साधारण सम्पन्न भइसकेको हुँदा विशेष साधारणसभाबाट लाभांश वितरण गर्न खोजेको हो, त्यसलाई हामीले रोकेका हौं,’ उनले भने।