काठमाडौं। खानेपानी व्यवस्थापनबारे छलफल गर्न सिंहदरबारमा बसेको बैठकमा प्रयोग गरिएको पानीका विषयमा सांसदले प्रश्न उठाएका छन्। मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको ‘खानेपानी उपसमिति’ बैठकमा प्लास्टिक बोतलको पानी प्रयोग गरिएको थियो।
उक्त दृश्यपछि समिति सदस्य एवं सांसद सुशीला श्रेष्ठले बोतलको पानीको शुद्धतामा प्रश्न उठाइन्। ‘हाम्रै अगाडि प्लास्टिकको बोतल छ, यसले प्रकृति बिगार्ने, पानी पनि कति शुद्ध हुन्छ? मेलम्चीले शुद्ध पानी खुवाउने भनिरहेको छ,’ सांसद श्रेष्ठले भनिन्, ‘मैले धेरै टाढाको कुरा गरिनँ। सिंहदरबारभित्र धाराबाट शुद्ध पानी खान पाउने अवस्था कहिले बन्छ?’
तर, खानेपानीमन्त्री राजेन्द्र कुमार राईले सांसद श्रेष्ठको प्रश्नमा जवाफ दिएनन्। अन्य सांसदको प्रश्नमा पनि मन्त्री राईले ठोस जवाफ दिएनन्। ‘सबै सांसदहरुको सुझाव राम्रो छ, म मन्त्री भएको २ महिना भयो। कार्यान्वयन गर्छु,’ मन्त्री राईले यत्ति मात्रै भने।
सिंहदरबारभित्र प्लास्टिक बोटल प्रयोगबारे बेलाबेला प्रश्न उठ्दै आएको छ। राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको पानी हिउँदमा काठमाडौं आउँछ।
पछिल्लो पटक माघ १ मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबारभित्रै मेलम्चीको पानी उद्घाटन गर्दा चौतर्फी आलोचना भएको थियो। उपत्यकाभित्र माघबाट चौथो पटक मेलम्ची पानी वितरण गरिएको हो। मेलम्ची आयोजनाको मुहानस्थल क्षेत्रमा २०७८ असार १ र साउन १६ मा बाढी गएपछि बर्खामा पानी आपूर्ति बन्द हुँदै आएको छ।