काठमाडौं। पर्यटन मन्त्रालयले आठ वर्षपछि आन्तरिक उडानमा रहेका एयरलाइन्सको हवाई भाडा बढाउने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणबाट गठित हवाई भाडा समायोजन समितिले दिएको प्रतिवेदनअनुसार प्रतिटिकट २० प्रतिशत भाडा बढ्ने भएको हो।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले आठ वर्षयता बढेको बजार मूल्य, डलर मूल्य र हवाई इनधन मूल्यलाई समायोजन गर्दा न्यूनतम २० प्रतिशत भाडा बढाउन उपयुक्त देखिएकाले सोहीअनुसार सुझाव दिइएको बताए। प्राधिकरणबाट गठित अध्ययन समितिले प्रतिवेदन तयार पारेर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पेस भइसकेको छ।
प्राधिकरणले पठाएको प्रतिवेदन अध्ययन गरी आवश्यक राय बुझ्न कानुन र अर्थ मन्त्रालयलाई पत्राचार गरिसकेको मन्त्रालयले जनाएको छ। मन्त्रालयबाट सुझाव आएसँगै पर्यटमन्त्रीले मन्त्रिपरिषद्मा भाडा बढाउने प्रस्ताव पेस गर्नेछन्।
सरकारले २०७३ मा हवाई भाडा समायोजन गरेको थियो। प्रत्येक २/२ वर्षमा भाडा समायोजन गर्नुपर्ने भए पनि ८ वर्ष भइसक्दासमेत भाडा समायोजन नभएको भन्दै लामो समयदेखि निजी क्षेत्रले विरोध जनाउँदै आएको छ।
मन्त्रिपरिषद्ले पास गरेपछि भाडा समायोजन हुनेछ। मन्त्रालयका एक सहसचिवका अनुसार हवाई उड्डयन महाशाखा प्रमुख एवं सहसचिव बुद्धिसागर लामिछानेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि उनको ठाउँ रिक्त छ। लमिछानेको ठाउँमा अन्य कर्मचारीलाई जिम्मेवारी नदिएकै कारण सो प्रतिवेदन कार्यान्वयनमा समस्या आएको ती सहसचिवको भनाइ छ।
एयरलाइन्स कम्पनीले यात्रुबाट लिने शुल्कमा इन्धन शुल्क(सरचार्ज), विमानस्थल सेवाशुल्क र १३ प्रतिशत मूल्य अभिवृद्धि कर(भ्याट) जोडिएको हुन्छ। यी शुल्क सबै जोड्दा हवाई भाडा हालको अवस्थामा ५० प्रतिशतसम्म महँगो हुने देखिन्छ।
सरकारले २०७३ मा हवाई भाडा समायोजन गरेको थियो। प्रत्येक २/२ वर्षमा भाडा समायोजन गर्नुपर्ने भए पनि ८ वर्ष भइसक्दासमेत भाडा समायोजन नभएको भन्दै लामो समयदेखि निजी क्षेत्रले विरोध जनाउँदै आएको छ।
वायुसेवा सञ्चालक संघ अध्यक्ष मनोज कार्कीले सरकारले तत्कालै भाडा समायोजन नगरे धेरै एयरलाइन्स कम्पनी संकटमा पर्ने बताउँछन्। एयरलाइन्सका अधिकाशं भुक्तानी डलरमा हुने गरेको र डलरको मूल्य ह्वात्तै बढ्दा धेरै समस्या भोगिरहेको उनको भनाइ छ।
‘८ वर्षअघिकै डलर मूल्यअनुसार अहिले भाडा उठाइरहेका छौं,’ अध्यक्ष कार्कीले भने, ‘त्यो बेला १ डलरको ९० रुपैयाँ थियो, अहिले १३३ रुपैयाँ बढी भइसकेको छ।’
एयरलाइन्समा प्रयोग हुने पार्टपुर्जाको मूल्यवृद्धि भएको र कर्मचारीको तलबसमेत बढिसकेको अवस्थामा आठ वर्षअघिकै भाडा लिँदा घाटा बेहोर्नु परिरहेकाले पर्यटन मन्त्रालयले तत्कालै निकास दिनुपर्ने सुझाव उनको छ।
अपजस लिँन चाहँदैन पर्यटन मन्त्रीहरु
हुन त, भाडा समायोजन गर्ने तयारी पर्यटन मन्त्रालय गरेको यो पहिलो पटक होइन। यसअघिका सबै पर्यटन मन्त्रीले निजी क्षेत्रलाई भाडा समायोजनको आश्वासन दिएकै थिए। तर, निर्णय गर्ने बेला पछि हट्दै आएका छन्।
सर्वसाधारणको गुनासोबाट बच्न उनीहरुले सकेसम्म आफू पदमा रहँदा भाडा बढाउने निर्णय गर्न नपाए हुन्थ्यो भन्ने चाहना राखेकै कारण आठ वर्षसम्म भाडा समायोजन हुन नसकेको अध्यक्ष कार्कीको गुनासो छ। पूर्वपर्यटन मन्त्री योगेश भट्टराईदेखि अधिकाशं मन्त्रीहरुले भाडा समायोजन गर्ने आवश्वासन दिए पनि कार्यान्वयन गर्न सकेनन्।