काठमाडौं। गत वर्षदेखि नै बैंकहरूले अपेक्षित रुपमा कर्जा असुली गर्न नसक्दा कुल निष्कृय कर्जा (एनपिएल) बढ्दो अवस्थामा छ। गत असारमा औषत २.८२ प्रतिशत रहेको वाणिज्य बैंकरुको एनपिएल चालू वर्षको चैत मसान्तमा ३.६५ प्रतिशत पुगिसकेको छ। वाणिज्य बैंकहरूमा ९ महिनामै ०.६२ प्रतिशत बिन्दुले कुल एनपिएल थप भएको हो।
यसरी ग्रस एनपिएल वृद्धि हुँदै जाँदा बैंकिङ क्षेत्रमा राम्रा भनिएका बैंकहरूले पनि सम्पत्ति तथा दायित्व व्यवस्थापन कमजोर हुँदै गएको, संस्था जोखिममा पर्दै गएको वा बिग्रिएको बैंक भन्नेजस्ता विषयमा चर्चा हुँदै बैंकहरूको गुणस्तर मापन हुन थालेको छ।
के साँच्चै कुनै पनि बैंकमा ग्रस एनपिएल धेरै हुनु भनेको त्यो बैंकको जोखिममा पर्दै गएको वा गुणस्तर खस्किएको भन्ने संकेत हो?
राष्ट्र बैंकका सह–प्रवक्ता डा. डिल्लीराम पोखरेल भन्छन्,‘बैंकहरूको ग्रस एनपिएल तथ्यांक हेरेर मात्रै त्यो बैंकको मूल्यांकन गर्नु गलत हो, ऋणीले समयमै साँवा ब्याज भुक्तानी नगर्दा बैंकको ग्रस एनपिएल धेरै भए पनि बैंकले त्यसमा प्रोभिजन गरेका हुन्छन्।’
ऋणीले कर्जा सम्झौताअनुसार बैंकलाई समयमै साँवा ब्याज (किस्ता) भुक्तानी नगर्दा बैंकको ग्रस एनपिएल वृद्धि भएको हो। अर्थतन्त्र संकटबाट गुज्रिँदा सर्वसाधारणमा परेको वास्तविक असर ग्रस एनपिएलले देखाए पनि त्यस बराबर बैंकले गरेको प्रोभिजनले बैंकहरू संकटको अवस्थामा पनि जोखिम व्यवस्थापन गर्न सक्षम रहेको उनको भनाइ छ।
प्रोभिजनले नेट एनपिएलमा बैंककोे गुणस्तर मूल्यांकन
बैंकमा ऋणीले समयमै किस्ता नबुझाउँदा त्यस्ता ऋणमा बैंकले राष्ट्र बैंकले निर्धारण गरेको कर्जा नोक्सानी व्यवस्था (प्रोभिजन) गर्नुपर्छ। राष्ट्र बैंकले प्रवाहित कर्जामा १.२५ प्रतिशतदेखि शतप्रतिशतसम्म आर्जित नाफाबाट प्रोभिजन गर्नु पर्ने प्रावधान गरेको छ। ऋणीले कर्जाको साँवा ब्याज बुझाउन ढिलाइ गरेअनुसार बैंकहरूले त्यस्ता कर्जालाई सुक्ष्म निगरानी, कमसल, शंकास्पद र खराब कर्जामा वर्गिकरण गर्नु पर्छ। यसरी प्रोभिजन गरिसकेको निष्कृय कर्जालाई खुद निष्कृय कर्जा हो।
राष्ट्र बैंकको प्रावधानअनुसार बैंकहरूले ऋणीले साँवा ब्याज भुक्तानी गर्न भाखा नाघेको ३ महिना भएका कर्जालाई सुक्ष्म निगरानीमा राखी ५ प्रतिशत, ३ भाखा नाघेको महिनादेखि ६ महिनासम्मका कर्जालाई कमसल कर्जामा राखेर २५ प्रतिशत, ६ महिनादेखि १ वर्षसम्म भाखा नाघेको कर्जालाई शंकास्पदमा राखेर ५० प्रतिशत र १ वर्षभन्दा माथि कर्जाको साँवा ब्याज नतिरिएका कर्जालाई खराब कर्जामा वर्गिकरण गरेर शतप्रतिशत प्रोभिजन गर्नुपर्छ।
कुनै पनि बैंकमा ऋणीले कर्जा नतिर्दा भएको कुल निष्कृय कर्जामा प्रोभिजन गर्दा खुद नाफा घट्ने र सेयरधनीलाई वितरण गर्ने लाभांश प्रभावित हुन्छ। तर, बैंकले निष्कृय कर्जामा गरेको प्रोभिजन ऋणीले नियमित कर्जा तिर्न थालेको पछि पुनः बैंकले नाफामा फिर्ता गरेर सेयरधनीलाई प्रतिफलका रुपमा लाभांश वितरण गर्न पाउँछन्।
कुनै पनि बैंकको कुल निष्कृय कर्जा बढी भएर बैंकले प्रोभिजन गर्दा तत्कालमा लगानीकर्ताले पाउने प्रतिफल प्रभावित भएपनि बैंकले गरेको प्रोभिजनले निक्षेपकर्ताको मूल्यांकनमा भने बैंक सुरक्षित र गुणस्तरिय सावित हुने नेपाल बैंकर्स संघका पूर्वअध्यक्ष भुवन दहाल बताउँछन्।
‘ग्रस एनपिएल बढी भएपनि नेट एनपिल कम भएको बैंक निक्षपकर्ताको निक्षेपको सुरक्षाका हिसाबले राम्रै बैंक हो,’संघका पूर्वअध्यक्ष दहालले क्यापिटल नेपालसँग भने, ‘ग्रस एनपिएल हेरेर कुनै बैंकको अवस्था खत्तम भयो भन्नुको सट्टा त्यसको नेट एनपिएल हेरेर निक्षेपकर्ताको निक्षेप कति छ, त्यसको मूल्यांकन गर्नु आवश्यक हुन्छ।’
समग्र देशको अर्थतन्त्र नै मन्दीको अवस्थामा हुँदा ऋणीले बैंकलाई बुझाउनुपर्ने पैसा समयमै नबुझाएका हुन्। तर, त्यस्ता कर्जाको नोक्सानी व्यवस्था गरी खुद निष्कृय कर्जा कम बनाउने बैंकहरू ग्राहकका लागि गुणस्तरिय बैंक साबित हुने उनको भनाइ छ।
लगानीकर्ता, ग्राहकलगायत सरोकारवालाले बैंकहरूको ग्रस एनपिएल हेरेर आत्तिनुभन्दा पनि त्यो एनपिएलका लागि गरेको प्रोभिजनपछिको नेट एनपिएल हेरेर मूल्यांकन गर्नुपर्ने राष्ट्र बैंकका सह–प्रवक्ता पोखरेल बताउँछन्।
बैंक तथा वित्तीय संस्थाको मुख्य आम्दानीको स्रोत भनेकै कर्जा दिएबापत ऋणीले भुक्तानी गर्ने ब्याज हो। बैंकहरूले सर्वसाधारणसँग निक्षेप लिएर त्यसमा केही प्रतिशत स्प्रेड कायम गरी खर्बौ कर्जा दिएर अबौं ब्याज आम्दानी गरिरहेका छन्।
‘बैंकको रियल पिक्चर नेट एनपिएलले देखाउँछ, ग्राहकले ऋण लिएर नतिरेको ग्रस एनपिएल हो भने, त्यसमा बैंकले प्रोभिजन गरेर रहेको नेट एनपिएल हो,’ राष्ट्र बैंकका सह–प्रवक्ता पोखरेल भन्छन्, ‘ऋणीले बैंकलाई नतिरेपनि बैंकले त्यसको जोखिमलाई व्यवस्थापन गरिरहेको म्यासेज नेट एनपिएलले दिन्छ।’
अघिल्लो वर्षदेखि नै समग्र अर्थतन्त्रमा देखिएको मन्दीको प्रभावमा बैंकका ऋणीहरूले समयमै साँवा ब्याज भुक्तानी गर्न नसक्दा बैंकहरूको कुल निष्कृय कर्जा धेरै देखिएपनि बैंकहरूले त्यसलाई व्यवस्थापन गर्न प्रोभिजन गर्दा खुद निष्कृय कर्जा कम भएको उनले बताए।
ग्रस एनपिएल र नेट एनपिएलको गणित
ग्रस एनपिएलः ऋणीले भाखाभित्र नतिरेको सबै कर्जा ग्रस एनपिएल हुन। बैंकहरूको ग्रस एनपिएल भन्दा नेट एनपिएल बढी हुँदैन। तर, तुलनात्मक रुपमा कुनै बैंकका ग्रस एनपिएल बढी भएको बैंकको नेट एनपिएल भने कम हुन सक्छ।
कुल निष्कृय कर्जालाई कुल कर्जाले भाग गरी १०० ले गुणन गर्दा आउने अनुपात ‘कुल निष्कृय कर्जा अनुपात’ वा ‘निष्कृय कर्जा’ अनुपात हो। यसलाई ग्रस एनपिएल भन्छौं।
कुल निकृय कर्जाबाट निष्कृय कर्जाका लागि गरिएको प्रोभिजन घटाउँदा खुद निष्कृय निस्किन्छ। यस्तै, कुल कर्जामा कुल प्रोभिजन घटाउँदा खुद कर्जा निस्किन्छ। खुद निष्कृय कर्जालाई खुद कर्जाले भाग गरी १०० ले गुणन गर्दा आउने अनुपात नै खुद निष्कृय कर्जा अनुपात हो। यसलाई हामी नेट एनपिएल भन्छौं। नियामकीय व्यवस्थाअनुसार जति धेरै प्रोभिजन गरिएको हुन्छ, खुद निष्कृय कर्जा अनुपात पनि त्यति कम आउँछ।
उदाहरणः यदि ‘क’ बैंकको कुल कर्जा १०० रुपैयाँ छ। कुल कर्जामा १० रुपैयाँ निष्कृय कर्जा भए त्यसबाट खुद कर्जा निकाल्नु पर्ने हुन्छ। त्यो कर्जालाई बैंकले नियामकीय प्रावधान अनुसार डिफल्ट भएको समयसीमाअनुसार शुक्ष्म निगरानीको भए ५ प्रतिशत, कमसल भए २५ प्रतिशत, शंकास्पद भए ५० र खराब भए शत प्रतिशत प्रोभिजन गर्छ। बैंकले गरेको प्रोभिजनअनुसार नेट एनपिएल अनुपातमा आउछ।
बैंकले सक्रिय कर्जामा गर्नु पर्ने प्रोभिजन सहित वर्गिकरणमा राखेर थप प्रोभिजन गर्दा आउने जोड कुल निष्कृय कर्जा हो। साथै, कुल कर्जामा कुल प्रोभिजन घटाएपछि खुद कर्जा निस्किन्छ।
नेट एनपिएलः कुल कर्जामा प्रोभिजन घटाउदा आउने अनुपात नेट एनपिएल हो। उल्लेखित बैंकमा १० रुपैयाँ निष्कृय कर्जामा सबै खराब कर्जा रहेछ भने बैंकले १०० प्रतिशत प्रोभिजन गरेको हुन्छ भने, त्यो बैंकको नेट एनपिएल ‘शुन्य’ प्रतिशत हुन्छ। निष्कृय कर्जामा निष्कृय कर्जाका लागि गरिएको प्रोभिजन गरेपछि खुद निष्कृय कर्जा शुन्य हुन्छ।
निष्कृय कर्जा १० रुपैयाँ मात्रै र सक्रिय कर्जा ९० रुपैयाँ रहेछ भने सक्रिय कर्जामा राष्ट्र बैंकको नियमअनुसार १.२५ प्रतिशत प्रोभिजन गर्नुपर्छ। बैंकले सक्रिय कर्जा ९० रुपैयाँको १.२५ प्रतिशत प्रोभिजन गर्दा प्रोभिजन १.१२ प्रतिशत आउँछ। अब अघिको १० प्रतिशत गरेर ग्रस एनपिएल ११.१२ प्रतिशत हुन्छ।
यसमा १०० रुपैयाँ माइनस ११.१२ घटाउँदा ८८.८७ आउँछ। यो भनेको नेट लोन हो। यसरी ० ले भाग गर्दा खराब कर्जा भएको बैंकको नेट एनपिएल ‘शुन्य’ नै आउँछ।
अब शंकास्पद, कमशल वा शुक्ष्म निगरानीको कर्जा रहेछ भने, कुल निष्कृय कर्जाबाट सक्रिय कर्जा निकालेर सक्रिय कर्जाको प्रोभिजन र वर्गीकृत प्रोभिजनमा कुल निष्कृय कर्जाको अनुपातबाट खुद कर्जा र खुद निष्कृय कर्जा निकाल्न सकिन्छ।
शंकास्पद कर्जामा ५ रुपैयाँ प्रोभिजन गर्दा ५ रुपैयाँ नेट एनपिएल हुन्छ। नेट एनपिएल रेसियो निकाल्न नेट एनपिएल भाग नेट कर्जा गर्नुपर्छ। नेट एपिएल ५ भाग कुल लोन लस प्रोभिजन गर्दा ९३.८८ आउँछ। अब ५ लाई ९३.८८ ले भाग गरी सयले गुणन गर्दा ५.३२ आउँछ। उल्लेदित बैंकको निष्कृय कर्जा शंकास्पद वर्गको हुँदा ग्रस एनपिएल १० प्रतिशत र नेट एनपिएल ५.३२ प्रतिशत हुन्छ।
बैंकहरूमा ग्रस र नेट एनपिएलको अवस्था
बैंक तथा वित्तीय संस्थाको मुख्य आम्दानीको स्रोत भनेकै कर्जा दिएबापत ऋणीले भुक्तानी गर्ने ब्याज हो। बैंकहरूले सर्वसाधारणसँग निक्षेप लिएर त्यसमा केही प्रतिशत स्प्रेड कायम गरी खर्बौ कर्जा दिएर अबौं ब्याज आम्दानी गरिरहेका छन्।
चालू वर्षको चैत मसान्तसम्म वाणिज्य बैंकहरूले ४४ खर्ब ८६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरी ४ खर्ब ४७ अर्ब रुपैयाँ बढी खुद ब्याज आम्दानी गरेका छन्। तर, बैंकहरूले कर्जा प्रवाह गरेपछि ब्याज आम्दानीमात्रै गर्न पाउँछन् भन्ने हुँदैन। प्रवाहित कर्जामा नियामकीय प्रावधानमा रहेर खर्चसमेत गर्नुपर्छ। यस्तो खर्च बैंकबाट कर्जा लिएर समयमै साँवा ब्याज भुक्तानी नभएको निष्कृय कर्जा (एनपिएल) मा नोक्सानी व्यवस्था (प्रोभिजन) कायम गर्नुपर्छ।
चालू वर्षको चैत मसान्तसम्म वाणिज्य बैंकहरूमा प्रवाहित कर्जाको ३.६२ प्रतिशत अर्थात् १ खर्ब ६३ अर्ब ७४ करोड रुपैयाँ निष्कृय कजा मौज्दात छ। जसमा बैंकहरूले कुल ३९ अर्ब ८७ करोड रुपैयाँ प्रोभिजन गरेका छन्। प्रोभिजनपछिको बैंकहरूमा औषत १.१६ प्रतिशत अर्थात् करिब साढे ५२ अर्ब रुपैयाँमात्रै नेट एनपिएल मौज्दात छ।
ग्राहकले कर्जा नतिर्दा बढेको ग्रस एनपिएल बैंकको जोखिम व्यवस्थापनले घट्यो
चालू वर्षको चैत मसान्तसम्म सबैभन्दा बढी ग्रस एनपिएल सबैभन्दा बढी लक्ष्मी सनराइज बैंकको छ। उक्त अवधिमा बैंकको एनपिएल ५.४९ प्रतिशत ग्रस एनपिएल मौज्दात रहेको लक्ष्मी सनराइजको नेट एनपिएल २.३६ प्रतिशत रहेको छ।
राष्ट्र बैंकले बैंकहरूको कुल निष्कृय कर्जालाई भन्दा खुद निष्कृय कर्जालाई नै वास्तविक मान्ने हुँदा लक्ष्मी सनराइज बैंकलाई निक्षेपकर्ताले सुरक्षित बैंकको रुपमै मुल्यांकन गर्नु पर्ने देखिन्छ। साथै, चालू वर्षको चैत मसान्तसम्म ३ देखि ५ प्रतिशतबीचमा ग्रस एनपिएल भएका बैंकहरूको नेट एनपिएल पनि १ देखि पौने २ प्रतिशतबीच रहेको छ। उक्त अवधिमा १४ वटा बैंको ग्रस एनपिएल ३ देखि ५ प्रतिशतबीचमा छ।
यी बैंकहरूको नेट एनपिएल ०.४ प्रतिशतदेखि १.७९ प्रतिशतसम्म छ। बाँकी ३ प्रतिशत तल ग्रस एनपिएल रहेका बैंकहरूको नेट एनपिएल भने अधिकांशको १ प्रतिशत तलै छ।