काठमाडौं। काठमाडौं महानगरपालिकाले चलाएको सीप मेलामा मालीको तालिम लिइरहेका प्रशिक्षार्थीले काठमाडौं महानगरले दिइरहेको तालिमले ठूलो सहयोग पुगेको बताएका छन्।
आफूहरुसँग पैसा नहुँदा महानगरले निशुल्क तालिम दिएकोप्रति खुसी व्यक्त गर्दै मालीको तालिम लिइरहेकाहरुले सीप सिकेर आफूहरुलाई ठूलो सहयोग पुग्ने बताएका हुन्।
महानगर गौरव योजनाअन्तर्गत ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ कार्यक्रमअन्तर्गत काठमाडौँ महानगरपालिकाको सामाजिक विकास विभागले विभिन्न क्षेत्र र पेशाका तालिमहरु सञ्चालन गरिरहेको छ।
यीमध्ये वैशाख १२ गतेबाट सुरु भएको बगैँचे र माली तालिम एउटा पेशाअन्तर्गतको हो। यो १५ दिनको तालिम हो। तालिममा २५ जनाले प्रशिक्षण लिइरहेका छन्। हरेक दिन बिहान ७ बजेदेखि ९ बजेसम्म राष्ट्रिय सभा गृहको बगैँचामा प्रशिक्षण हुने गरेको छ।
फूल बगैँचा र विरुवासम्बन्धी व्यवहारिक ज्ञान दिने क्रममा सोमबार प्रशिक्षार्थीलाई रत्नपार्कको अवलोकन भ्रमण गराइएको थियो। अवलोकनका क्रममा बगैँचाको ढाँचा, बोट, फूल र विरुवा व्यवस्थापनबारे जानकारी गराइएको थियो।
प्रशिक्षक मदनराज थापाले अवलोकनका क्रममा फूल फुल्ने, फूल नफुल्ने, गहनाका रुपमा रोपिने, काँटछाँट गर्नु पर्ने विरुवाका बारेमा जानकारी गराइएको बताए। यस्तै बगैँचा निर्माणको ढाँचा, यसका प्रकारबारे अवगत गराइएको उनले बताए।
१८ वर्ष उमेर पूरा भएका, साधारण लेखपढ गर्न सक्ने, नेपाली नागरिकलाई महानगरले सीप सिकाइरहेको छ। फूल तथा बिरुवाका बेर्ना उमार्ने, घरभित्र राखिने र बाहिर राखिने फूल तथा विरुवा, यस्ता विरुवाको स्याहार, कलमी, फूल तथा विरुवामा लाग्ने कीरा, रोग र रोकथामका उपायका बारेमा सैद्धान्तिक र व्यवहारिक ज्ञान र सीप माली तालिमको पाठ्यक्रम हो।
यससँगै बगैँचामा गर्नुपर्ने काममा, डेड हेडिङ्, पिन्चिङ्, डिस्बर्डिङ्, फिडिङ्, गोडमेल, सपोर्ट, सिँचाइँलगायतका विषयमा प्रयोगात्मक सीप सिकाइन्छ।