धरान। ‘देशमा रोजगारीको अभाव र लगानीको वातावरण छैन’ भन्नेहरूका लागि धरानका दुई पौरखी युवकले बेकरी उद्योग सञ्चालनमार्फत त्यसलाई असत्य सावित गरेका छन्। आठ वर्षको वैदेशिक रोजगारीपछि फर्केका धरानका एनसी राई र वीरेन्द्र थापाले यहाँ बेकरी उद्योग सञ्चालन गरेका छन्।
उनीहरूले १० लाख रुपैयाँ लगानीमा धरान उपमहानगरपालिका–१२ को अमान बजारमा बिस्कुट फ्याक्ट्री खोलेको उद्योग अहिले कोशी प्रदेशमा दोस्रो ‘लाइभ बेकरी’का रूपमा ब्रदर्श बेकरी स्थापित भएको छ।
बेकरीका अहिले धरान उपमहानगरपालिका–९ गौतम पथ र धरान–१७ रेल्वे लाइनमा गरी दुई वटा शाखा सञ्चालनमा छन्। केक, आइसक्रिम, चकलेट, पाउरोटीलगायत सबै किसिमका बेकरी यहाँ पाउने उनीहरु बताउँछन्। उद्योगमा ८ जनालाई रोजगारी पनि दिइएको छ। कामदारलाई मासिक ८ हजार रुपैयाँदेखि ३० हजार रुपैयाँसम्म तलब दिइएको उनीहरु बताउँछन्।
एक समय पाउरोटी, बिस्कुट मोटरसाइकलमा लिएर सिँधुवासम्म पुग्नुपर्थ्यो। तर अहिले धनकुटा, भोजपुर, पाँचथर, इटहरी, दमक, झापालगायत विदेशबाट पनि धरानेहरूले केक माग गरिरहेका राईले बताए।
लामो समयको वैदेशिक रोजगारीबाट फर्केपछि बेकरीको सीप भएका वीरेन्द्रसँग भेट भएपछि काम थालेको राई बताउँछन्। अहिले आफ्नै ठाउँमा ८–१० जनालाई रोजगारीको अवसर प्रदान गर्न पाएकामा खुसी लागेको उनीहरु बताउँछन्।
धरानमा दुईवटा शाखा सञ्चालनमा छन् भने धरानभरि जम्मा १७ वटा एशोसिएट डिलरसमेत रहेका सञ्चालकहरुको भनाइ छ। ब्रदर्स बेकरी उद्योगबाट आफ्नो सबै खर्च कटाएर मासिक २ देखि साढे २ लाख रुपैयाँसम्म बचत हुने गरेको उनीहरुको भनाइ छ। रासस