काठमाडौं। बैंक तथा वित्तीय संस्थासँगै एयरलाइन्स पनि धमाधम पब्लिक कम्पनी बन्न लागेका छन्। सर्वसाधारणलाई समेत कम्पनीको स्वामित्व दिन र नाफा/घाटा बाँढ्न एयरलाइन्स कम्पनीले प्राथमिक निष्कासन (आईपीओ) जारी गर्न लागेका हुन्।
पछिल्लो समय एयरलाइन्स कम्पनीको नाफा घट्दै गएको र प्रतिस्पर्धा बढिरहेका बेला सर्वसाधारणलाई सेयर स्वामित्व बाँढ्न लागेको हुन्। मुलुकको हवाई नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)का अनुसार हालसम्म सात वटा एयरलाइन्स पब्लिक (सार्वजनिक) कम्पनी बन्न लागेको हुन्।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुल यती एयरलाइन्स, समिट एयर, कैलाश हेलिकोप्टर, सिम्रिक एयर, प्रभु हेलिकोप्टर, श्री एयर र सीता एयर पब्लिक कम्पनीमा रुपान्तरण भएको बताउँछन्। पछिल्लो समय एयरलाइन्स कम्पनीले सर्वसाधारणलाई स्वामित्व बाँढ्ने उद्देश्यले पब्लिक कम्पनी बनेर सेयर निष्कासन तयारी गरेको हुन सक्ने उनको भनाइ छ।
एयरलाइन्स कम्पनीले आईपीओ जारी गर्दै जहाज थप्ने योजना अगाडि बढाइरहेका छन्। यती एयरलाइन्सले १ वर्षअघि एशियन लाइफ इन्स्योरेन्सलाई साझेदारको रुपमा भित्र्याएको थियो। यतीको ४९ प्रतिशत सेयर एसियनले किनेको थियो। प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने तयारी गरेको यतीले एक वर्षबीचमा दुई एटिआर जहाज खरिद गरिसकेको छ भने तीन वटा जहाज ल्याउने तयारी गरेको छ। २०२५ भित्र १० वटा एटिआर जहाजमार्फत उडान गर्ने यतीले योजना बनाएको छ।
यती एयरलाइन्सका अध्यक्ष लाक्पा सोनाम शेर्पाले बैंकलाई तिर्ने ब्याज सर्वसाधारणलाई नाफाको रुपमा बाढ्ने योजनाअनुसार आईपीओ जारी गर्न लागेको बताए। कमाएको पैसा बैंकलाई बुझाउनुभन्दा सर्वसाधारणलाई बाँढ्न चाहेका हौं’, अध्यक्ष शेर्पाले भने। कम्पनीको काम सकिइसकेको र धितोपत्र बोर्डबाट आवश्यक प्रक्रिया पूरा गरेर सेयर जारी गर्न लागिएको उनको भनाइ छ।
कोभिडयता एयरलाइन्स कम्पनीको व्यापार खस्किएको छ। केही एयरलाइन्स र हेलिकोप्टरबाहेक अधिकाशं कम्पनी धराशयी अवस्थामा छन्। जोखिमको रुपमा मानिने एयरलाइन्स बिजनेसलाई बचाइराख्न एयरलाइन्स कम्पनीले धमाधम आईपीओ जारी गरेर सर्वसाधारणबाट पैसा उठाउने तयारी गरेका हुन्।
कैलाश हेलिकोप्टरले पनि प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने अन्तिम तयारी गरेको छ। कम्पनीले १०० रुपैयाँ अंकित दरमा जारी पुँजी ३५ करोडको १० प्रतिशतले हुन आउने ३ लाख ५० हजार कित्ता सेयर ल्याउने भएको हो।
निष्कासन हुने साढे ३ लाख कित्ता प्रिमियम मूल्यमा जारी गर्ने कम्पनीले जनाएको छ। धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ। कैलाशसँग ३, सिम्रिक एयरसँग ४ वटा, प्रभुसँग एउटा हेलिकोप्टर छ। यस्तै, श्री एयरलाइन्ससँग ८, यती एयरसँग ७, समिट एयरसँग ४ र सीता एयरसँग ४ वटा जहाज रहेका छन्। समिट र सीता दुर्गम क्षेत्रमा उडान गर्दै आएको एयरलाइन्स हुन्।
सर्वसाधारणलाई जोखिम बाँढ्ने रणनीति
कोभिडयता एयरलाइन्स कम्पनीको व्यापार खस्किएको छ। केही एयरलाइन्स र हेलिकोप्टरबाहेक अधिकाशं कम्पनी धराशयी अवस्थामा छन्। भौगोलिक दृष्टिकोणले जोखिमपूर्ण मानिएका विमानस्थलमा बेलाबेला जहाज तथा हेलिकोप्टर दुर्घटना भइरहेका छन्। एयरलाइन्स बिजनेसलाई जोखिमको रुपमा मानिन्छ। यस्तो बेला एयरलाइन्स कम्पनीले धमाधम आईपीओ जारी गरेर सर्वसाधारणबाट पैसा उठाउने तयारी गरेका हुन्।
ग्लामर बिजनेसको रुपमा अगाडि बढेको एयरलाइन्स क्षेत्रमा सर्वसाधारणलाई स्वामित्वसँगै जोखिम पनि बाँढ्न लागेको विश्लेषण हुन थालेको छ। ’हामीले लिने नाफासँगै जोखिम पनि सर्वसाधारणलाई बाँढ्न लागेका हौं,‘ एक एयरलाइन्स कम्पनीका उच्च अधिकारीले भने, ‘सबैको स्वामित्वमा कम्पनी पुगेपछि कति जोखिम रहेछ भन्ने भावना बुझ्न सक्छन्।’
कतिको आईपीओ खुल्छ, छैन यकिन
प्रारम्भिक चरणमै रहेकाले कति लाख कित्ता सेयर एयरलाइन्स क्षेत्रबाट जारी हुन्छ भन्ने यकिन हुन सकेको छैन। अहिले पब्लिक कम्पनीमा रुपान्तरण भएर धितोपत्र बोर्डमा आईपीओ जारी गर्न आवेदन दिनुपर्छ। कैलाश हेलिकोप्टरले केहि समय भित्रै बोर्डमा आवेदन दिने तयारी गरेको छ। अन्यले बोर्डमा आईपीओ जारी गर्न स्वीकृतिका लागि आवेदन दिएका छैनन्।