काठमाडौं। नेपाल विद्युत प्राधिकरणले विद्युतिय गाडी (ईभी) प्रवर्द्धन गर्न ‘चार्जिङ स्टेसन हब’ बनाउने भएको छ। राजमार्गका संगमस्थल, बजार क्षेत्र, सवारी साधनको चाप हुने स्थानलाई प्राथमिकतामा राखेर चार्जिङ स्टेसन हब’ बनाउन लागेको हो।
यद्यपि कुनकुन ठाउँमा चार्जिङ स्टेसन हब बन्छ भन्ने प्राधिकरणले हालसम्म निश्चित गर्न सकेको छैन। स्थान छनोटका लागि छलफल एवं अध्ययन भइरहेको प्राधिकरणले जानकारी दिएको छ।
प्राधिकरणको चार्जिङ स्टेसन आयोजनाका प्रमुख सागर ज्ञवालीका अनुसार देशभरका ४० स्थानमा ‘चार्जिङ स्टेसन हब’ बन्नेछन्। चालू आर्थिक वर्षभित्र ४० वटा चार्जिङ स्टेसन निर्माणको ठेक्का आह्वान गर्ने योजना प्राधिकरणको छ। जसका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमर्फत् स्रोत सुनिश्चितता मागको प्रक्रिया अघि बढेको छ। तर, चार्जिङ स्टेसन हबका लागि कति रमक सुनिश्चितता माग गरिएको हो प्राधिकरणले खुलाएको छैन। स्रोत सुनिश्चित र स्थान छनोट भएपछि ठेक्का आह्वान हुने प्राधिकरणले बताएको छ।
हाल प्राधिकरणले देशभर ५१ चार्जिङ स्टेसन सञ्चालन गरेको छ। चालू आर्थिक वर्षभित्र अर्थात् २०८१ असारसम्म थप ११ वटा चार्जिङ स्टेसन सञ्चालन हुने आयोजना प्रमुख ज्ञावालीको भनाइ छ। ११ वटा नयाँ चार्जिङ स्टेसन थपिएसँगै प्राधिकरणबाट ६२ वटा चार्जिङ स्टेसन सञ्चालन हुनेछन्।
अहिले सञ्चालनमा रहेका चार्जिङ स्टेसनहरुमा एक पटकमा ३ वटा गाडी चार्ज गर्न सकिन्छ। तर, हब बनाएपछि एकै पटकमा १० वटासम्म गाडी चार्ज गर्न मिल्नेछ। साथै विद्युतीय सवारी प्रयोगकर्तालाई यात्रा गर्न सहज हुनेछ।
अहिले सञ्चालनमा रहेका चार्जिङ स्टेसनहरुमा एक पटकमा ३ वटा गाडी चार्ज गर्न सकिन्छ। तर, हब बनाएपछि एकै पटकमा १० वटासम्म गाडी चार्ज गर्न मिल्नेछ। साथै विद्युतीय सवारी प्रयोगकर्तालाई यात्रा गर्न सहज हुनेछ।
प्राधिकरणबाहेक निजी क्षेत्रले पनि नेपालभर करिब ४ सय ठाउँमा चार्जिङ स्टेसन बनाएको आयोजना प्रमुख ज्ञवालीले बताए। यद्यपि निजी क्षेत्रले निर्माण गरेका चार्जिङ स्टेसनको यो तथ्यांक पूर्ण होइन। ‘ठूला किसिमका चार्जिङ स्टेसन बनाउन सामान बाहिरबाट मगाउने अवस्थामा मात्रै प्रधिकराणसँग निजी क्षेत्रले समन्वय गर्छन्, अन्यथा आफ्नो आवश्यकताका आधारमा चार्जिङ स्टेसन निर्माण हुन्छ,’ ज्ञवालीले भने, ‘सबै चार्जरको विषयमा प्राधिकरणमा जानकारी दिनैपर्ने बाध्यता हुँदैन, हामीलाई प्राप्त विवरणअनुसार करिब ४ सय वटा छन्।’
प्राधिकरणले विद्युतीय सवारी बेच्ने कम्पनी एवं अटो व्यवसायीलाई आवश्यकताका आधारमा चार्जिङ स्टेसन निर्माण गर्न आग्रह गर्दै आएको छ। निजी तथा प्राधिकरणको लगानीमा सञ्चालित चार्जिङ स्टेसनले औसतमा दैनिक ८० हजार यूनिट विद्युत् खपत गर्दै आएका छन्। यसरी मासिक २४ लाख यूनिट विद्युत् खपत हुुने गरेको छ। सवारी चालकहरु निजी चार्जिङ स्टेसनमा भन्दा सरकारी चार्जिङ स्टेसनमा बढी आकर्षित छन्। जसले गर्दा सरकारले चार्जिङ स्टेसनको हब नै बनाउन लागेको प्राधिकरणको भनाइ छ।
प्राधिकरणले २०७८ असोजमा देशभर ५०० वटा चार्जिङ स्टेसन बनाउने योजना अघि सारेको थियो। जसमध्ये हालसम्म ५१ वटा सञ्चालनमा आएका छन् भने ११ वटा २ महिनाभित्र सञ्चालनमा आउने छन्। असारसम्म भरतपुर, वीरगञ्ज र बनेपामा २/२ वटा, सिन्धुली, काठमाडौं र रामेछापमा १/१ वटालगायत अन्य स्थानमा गरी कुल ११ चार्जिङ स्टेसन सञ्चालन हुने प्राधिकरणले बताएको छ।
हाल नेपालमा सरकारी र निजी क्षेत्रबाट कुल २८ सय मेगावाट विद्युत उत्पादन हुन्छ। जसमध्ये करिब ७०० मेगावाट सरकारी निकाय र बाँकी विद्युत् निजी क्षेत्रबाट उत्पादन भएको हो। सरकारले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ। जसमध्ये १३ हजार ५०० मेगावाट विद्युत् स्वदेशमै खपत गर्ने र बाँकी विद्युत् छिमेकी भारतसहितका देशमा निर्यात गर्ने सरकारको योजना छ।
विद्युत निर्यात गर्ने योजनाअनुसार पुस १९ मा भारतीय ऊर्जा सचिव यस पंकज अग्रवाल र नेपालका तत्कालीन ऊर्जा सचिव गोपाल सिग्देलले १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्ने सम्झौतामा हस्ताक्षर गरेका थिए।
नेपालमा विद्युत उत्पादनसँगै विद्युतीय सवारी साधनको प्रयोग पनि बढाउने सरकारको योजना छ। जसअनुसार पेट्रोलियम पदार्थ प्रयोग हुने सवारीभन्दा विद्युतीय सवारीमा भन्सार कम लगाइएको छ।