मुग्लिन। चितवनको इच्छाकामना गाउँपालिकाले गाउँपालिका कार्यालयमा ‘कोल्डड्रिङ्क्स’ निषेध गरेको छ। स्थानीय किसानको उत्पादन दही र मोहीलाई प्रोत्साहन गर्न गाउँपालिकाले सो कोल्डड्रिङ्क्स निषेधको निर्णय गरेको हो।
इच्छाकामानाको गाउँपालिका कार्यालयमा आउने अतिथिलाई गर्मीको समयमा मोही र दहीले स्वागत गरिने गाउँपालिकाले जानकारी दिएको छ। गाउँपालिकामा हुने विभिन्न कार्यक्रममा पनि दही र मोहीको प्रयोग नै गरिने भएको छ।
इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले गाउँपालिकाका किसानलाई फाइदा पुगोस् भनेर यस्तो व्यवस्था गरिएको बताए। 'गर्मीमा प्रयोग गरिने कोल्डड्रिङ्क्सभन्दा दही र मोही प्रयोग गर्नसके स्थानीय उत्पादनको प्रवर्द्धन गर्न सकिन्छ भनेर हामीले सो काम गरेका हौँ, स्वास्थ्यको दृष्टिकोणले पनि दही र मोही नै राम्रो हुन्छ,' अध्यक्ष गुरुङले भने।
अध्यक्ष गुरुङले गाउँपालिकाअन्तर्गतका वडा कार्यालयमा पनि सोही प्रकारको सर्कुलर गर्ने तयारी गरिएको बताए। गाउँपालिकाले जाडो मौसममा भने चियाको प्रयोग गर्ने बताएको छ। गाउँपालिकाको पहिलो कार्यपालिका बैठकले नै निर्णय गरेर पालिकाभित्र कोक, स्प्राइटलगायतका कोल्डड्रिङ्क्स निषेध गरेको हो।
अहिले कार्यक्रम हुँदा गाउँपालिकामा १० लिटरसम्म मोही प्रयोग हुने गरेको अध्यक्ष गुरुङले बताए। यसैबीच गाउँपालिकाले पशु सुत्केरी सुधार र बिमा कार्यक्रमसमेत सञ्चालन गरेको छ। किसानलाई पशुपालन व्यवसायमा आकर्षण गर्न र दूधको उत्पादन बढाउन उक्त कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष गुरुङले बताए।
आन्तरिक स्रोतमार्फत गाईभैँसीको नश्ल सुधारका लागि पशु सुत्केरी स्याहार भत्ता कार्यक्रम सञ्चालन गरिएको हो। कृत्रिम गर्भधारण कार्यक्रमबाट सुत्केरी भएका गाइभैंसीको सुत्केरी भत्ताबापत गाउँपालिकाले १ हजार ५ सय रुपैयाँ उपलब्ध गराउनेछ। बढी दूध बिक्री गर्ने किसानलाई प्रोत्साहनस्वरुप पुरस्कार उपलब्ध गराउने तयारी रहेको अध्यक्ष गुरुङको भनाइ छ। रासस