काठमाडौं। नेपाल बिमा प्राधिकरण अध्यक्ष सूर्यप्रसाद सिलवालले हिमाल, पहाड र तराई मधेसका आवश्यकताका आधारमा फरक–फरक बिमालेख ल्याउन बिमा कम्पनीलाई निर्देशन दिएका छन्।
बिमा प्राधिकरणले डिजिटल बिमालेख मार्गदर्शन जारी गर्न लागेको सन्दर्भमा काठमाडौंमा आयोजित डिजिटल बिमालेखसम्बन्धी छलफल कार्यक्रममा अध्यक्ष सिलवालले बजारको समग्र अनुसन्धान गरी नागरिकका आवश्यकताअनुसार नयाँ बिमालेख ल्याउन निर्देशन दिएका हुन्।
अध्यक्ष सिलवालले भने, ‘भविष्य अनिश्चित छ, विपद्को जोखिम सधैं हुन्छ। जोखिम हस्तान्तरण गरी आर्थिक सुरक्षण गर्ने एक मात्र माध्यम भनेको बीमा हो। संसद्, संसदीय समिति, सरकार, राजनीतिक दललगायत सबैले बिमाबारे बुझेपछि मात्र यस क्षेत्रको विकास र पहुँच विस्तारले तीव्रता पाउँछ।’
बिमा क्षेत्रमा सूचना प्रविधिको अधिकतम प्रयोग गरी लागत न्यून गर्न र सेवा प्रवाहलाई छिटोछरितो बनाउन आगामी १५÷२० वर्षसम्मको आवश्यकतालाई धान्ने गरी नयाँ सफ्टवेयर सञ्चालनमा ल्याउन बिमा कम्पनीलाई उनले निर्देशन दिए।
अध्यक्ष सिलवालले भने, ‘प्राधिकरण क्रमिक रूपमा डिजिटलाइजेसनमा अगाडि बढिरहेको छ। बिमा कम्पनीले पनि लगानी बढाएर नयाँ सफ्टवेयर सञ्चालनमा ल्याउनुपर्छ। कम्पनीका आ–आफ्ना विशेषतालाई सम्बोधन गर्ने गरी नयाँ सफ्टवेयर ल्याउन बीमकका संघ अग्रसर हुनुपर्छ। प्राधिकरणले कागजात नस्वीकार्ने निर्णय गरेपछि बाध्य भएर कम्पनीहरू डिजिटलाइजेसनमा जानुपर्ने अवस्था आउन सक्छ।’
लघुबिमा कम्पनीलाई न्यून आय भएका बर्ग र पिछडिएका क्षेत्रलाई लक्षित गरी लघुबिमा व्यवसाय गर्न इजाजतपत्र दिइएको उनको भनाइ थियो।
प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा कम्पनीले खोजमूलक अध्ययन अनुसन्धान गरेर नयाँ–नयाँ बिमालेख ल्याउनुपर्ने आवश्यकता औंल्याए।
प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले आगामी वर्ष धेरै क्षेत्रमा व्यापकरूपमा डिजिटलाइजेशनमा जाने प्राधिकरणको तयारी रहेको जानकारी दिए। अर्का निर्देशक दिनेशकुमार लालले बीमा कम्पनीले पर्याप्त अध्ययन अनुसन्धान गरी बिमालेख ल्याए मात्र बिमालेखको बिक्री बढ्ने, बीमित सन्तुष्ट हुने र बिमाप्रतिको विश्वसनीयता समेत बढ्ने धारणा व्यक्त गरे।
नेपाल जीवन बीमक संघका अध्यक्ष पोषकराज पौडेलले बिमा कम्पनीहरू डिजिटल रूपमा अगाडि बढ्न तयार रहेको बताए। कार्यक्रममा प्राधिकरणका निर्देशक पूजन ढुंगेल (अधिकारी)ले जीवन बिमालेख स्वीकृतिमा देखिएका समस्या तथा चुनौतीसम्बन्धी प्रस्तुति दिएका थिए
बिमालेख कोडिङ सुरु
नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले कम्प्युटर प्रणालीका माध्यमबाट हरेक बिमालेखलाई कोडिङ नम्बर दिने कार्य ‘बिमालेख कोडिङ’को सोमबार काठमाडौंमा सुरु गरेका छन्।
बिमालेख कोडिङ कार्यान्वयनबाट प्रत्येक बिमालेखको छुट्टाछुट्टै कोड नम्बर हुने, कम्प्युटर प्रणालीबाट नै कोड नम्बर तय हुने, प्राधिकरण र बिमा कम्पनीका वेबसाइटबाट कोड नम्बरका आधारमा बिमालेखबारे समग्र जानकारी प्राप्त गर्न सकिने सुविधा प्राप्त हुनेछन्।
कार्यक्रममा जीवन बीमा कम्पनी र लघुबीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा बिमालेख शाखाका प्रमुखको सहभागिता थियो।