काठमाडौं। काठमाडौं महानगरपालिकाले खुला मञ्चको ‘ग्रेडिङ र लेभलिङ’ सुरु गरेको छ। आइतबार महानगर र पूर्वाधार निर्माण कम्पनीबीच सम्झौता भएपछि ‘ग्रेडिङ र लेभलिङ’को काम सुरु गरिएको महानगरपाललिकाले जानकारी दिएको छ। पूर्वाधार निर्माण कम्पनी सरकारको स्वामित्वको कम्पनी हो।
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारको रोहवरमा भएको सम्झौतामा कम्पनीकातर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्र केसी र महानगरपालिकाकातर्फबाट सार्वजनिक निर्माण विभाग प्रमुख सुरज शाक्यले हस्ताक्षर गरेका छन्। कम्पनी र महानगरबीच वैशाख १० गते नीतिगत सहमति पत्रमा हस्ताक्षर भएको थियो। त्यसै आधारमा वैशाख २३ गते विभागले खुला मञ्चको ग्रेडिङ र लेभलिङका लागि सम्झौता गरेको हो।
कामको निरीक्षणका लागि प्रमुख प्रशासकीय अधिकृत परियार, कम्पनीका प्रमुख कार्यकारी अधिकृत केसी महानगरपालिकाको सार्वजनिक निर्माण विभागका प्रमुख सुरज शाक्यसहित इञ्जिनियरहरु सोमबार खुल्ला मञ्च पुगेका छन्। कामका विषयमा प्रतिक्रिया दिँदै प्रमुख प्रशासकीय अधिकृत परियारले भने, ‘नीतिगत निर्णय भएको १३ दिनपछि काम गर्ने सम्झौता गर्यौं। त्यसको भोलिपल्टैबाट काम थालिएको छ। हामी पूर्वाधार निर्माणको काम यही गतिमा अगाडि बढाउने प्रयासमा छौैं।’
साथै खुला मञ्चमा पूर्वाधार निर्माण कम्पनीले काम गरेको हेरेपछि अन्य काममा सम्झौता गर्ने योजना रहेको पनि प्रमुख प्रशासकीय अधिकृत परियारले बताए। नेपाल पूर्वाधार निर्माण कम्पनी २०७६ साल असार २५ गते दर्ता भएको सरकारी स्वामित्वको कम्पनी हो। कम्पनीको सञ्चालक समितिमा अर्थ मन्त्रालय, सहरी विकास मन्त्रालय, उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय गरी ४ वटा मन्त्रालयको प्रतिनिधित्व छ। सबै प्रकारका निर्माण कार्य र परामर्श सेवा प्रदान गर्ने लक्ष्य राखेको कम्पनीको पहिलो निर्माणसम्बन्धी काम खुल्ला मञ्चको हो।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत केसीले कम्पनीका लागि महानगरसँगको सहकार्य एउटा अवसर रहेकाले तोकिएको समयमा सम्पन्न गर्न आफूहरु लागिरहेको बताए। खुला मञ्च २३ हजार ४१५ वर्गमिटर ९४६ रोपनी १ दाम क्षेत्रमा फैलिएको छ। मञ्चको टुँडिखेलतर्फ २२० मिटर लामो छ भने रत्नपार्कतर्फ १९० मिटर छ। चौडाइमा विद्युत प्राधिकरणतर्फ करिब ११० मिटर छ भने वीर अस्पतालतर्फ ११७ मिटर छ।
सार्वजनिक निर्माण विभागका प्रमुख शाक्यका अनुसार जेठ मसान्तभित्र काम सकिनेछ। यसपछि बर्खाको पानी भेल भएर बग्दैन। जमिनमुनि प्रवेश गर्छ। महानगरपालिकाले गएको माघ महिनामा दैनिक ५० जना जनशक्ति परिचालन गरेर ढुंगा टिप्न लगाएको थियो।
काठमाडौं टावर निर्माण थालिएपछि त्यहाँ भएको बसपार्क खुल्ला मञ्चको रत्नपार्कतर्फको खण्डमा बारेर बसपार्क चलाइएको थियो। २०७२ सालको महाभूकम्पपछि वीर अस्पताल र दरबार हाइस्कूल पुननिर्माणका लागि निर्माण सामग्री राख्ने तथा जनशक्ति बस्ने ठाउँका रुपमा विकास गरिएको थियो। अहिले खुला मञ्चभित्रका सबै संरचना हटाइसकिएको छ। यसलाई मौलिक दुबो रोपेर आकर्षक खुला स्थानका रुपमा विकास गर्ने महानगरपालिकाको योजना छ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले चुनावका बेला काठमाडौंको जमिनमुनि पानी 'स्टोर' गर्ने एजेन्डा अघि सारेका थिए। काठमाडौंका ढुंगेधाराहरुमा पानी सुक्दै गएको र जमिनमुनि पानी 'स्टोर' हुन नपाएकाले बर्खाको पानी जमिनमुनि 'स्टोर' गर्नुपर्ने तर्क बालेनको थियो।