काठमाडौं। राइड सेयरिङ सेवा प्रदायक इन्ड्राइभले नेपालमा औपचारिक रुपमा सेवा सुरु गरेको छ। कम्पनीले करिब २ वर्षदेखि नेपालमा सेवा दिँदै आए पनि अहिलेसम्म औपचारिक रुपमा दर्ता थिएन्।
तर, अबदेखि औपचारिक रुपमा दर्ता भएर सेवा सञ्चालन गर्न लागेको हो। इन्ड्राइभले सोमबार काठमाडौंमा एक कार्यक्रम गर्दै औपचारिक रुपमा सेवा सुरु गरेको घोषणा गरेको हो। कम्पनीले बजारमा चलेको भन्दा न्यूनतम कमिसन शुल्कमा सेवा सञ्चालन गर्ने पनि उल्लेख गरेको छ।
यसका लागि इन्ड्राइभले नेपालमा नै कार्यालय सञ्चालन गरेको छ भने अबदेखि हरेक राइडको भुक्तानीमा राइडरबाट १० प्रतिशत कमिसन लिने कम्पनिकी निर्देशक रिता पोखरेलले बताइन्। यस्तै कम्पनीले भुक्तानी सेवा प्रदायकका लागि आइएमईपेसँग सम्झौता गरेको छ।
काठमाडौंमा ट्याक्सी, मोटरसाइकल, डेलिभरी, अन्तर–शहर यात्रा (सिटी टु सिटी) राइड जस्ता सेवा रहेका छन्। यसमा आफ्नै भाडा प्रस्ताव गर्न सकिन आफ्नो प्रस्ताव स्वीकार गर्ने चालक पाउन सकिने वा चालकको प्रस्ताव आफूले स्वीकार गर्न सकिने, चालक छनोट गर्न सकिने चालकको रेटिङ र उनीहरूले कतिवटा राइड गरिसकेका छन् भन्ने कुरा हेर्न सकिने व्यवस्था छन्।
यस्तै, आफ्नो रोजाइमा सुरक्षित हुन सकिने इन्डाइभमा आउनु अगाडि प्रत्येक चालकको आधारभूत जानकारी र कागजातहरू एपमा समावेश हनुपर्नेछ। यात्रु र चालक दुवैले एक अर्काको रेटिङ तिनीहरूले पहिले गरेका यात्रा संख्याको आधारमा आफू कोसँग यात्रा गर्ने भनेर छनोट गर्न, सवारीको समयमा एपमा लाइभ राइड विवरण सेयर गर्न मिल्ने र सेभ आवर सोल्स र अप्रत्याशित परिस्थितिमा प्रयोगकर्ताहरूलाई छिटो सहयोग लिन सकिने र स्थिति चाँडै समाधान गर्न कर्मचारीहरुसँग काम गर्न सकिने सुविधा पनि पाउन सकिन्छ।
इन्ड्राइभले नेपालमा राइड सेयरिङका साथै सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न क्षेत्रमा सहकार्य गर्दै आएको छ। कुल ४६ देशका ७४९ सहरमा २० करोड एप डाउनलोडमार्फत झन्डै १ अर्ब व्यक्तिलाई सेवा पुर्याएको दाबी गर्ने इनड्राइभले राइड सेयरिङसँगै कतिपय देशमा कुरियर, कार्गो र लामो दूरीका यातायात सेवा समेत दिँदै आएको बताएको छ।