काठमाडौं। विश्व बजारमा एकपछि अर्काे अटो ब्राण्डले आफ्नो सवारी साधनको मूल्य घटाइरहेका छन्। अन्तर्राष्ट्रिय बजारमा ब्याट्रिको मूल्यमा आएको गिरावट र बिक्री अवस्था तथा उच्च प्रतिस्पर्धाका कारण चर्चित ब्रान्डहरुले आफ्नो गाडीको मूल्य घटाउँदै लगेका हुन्।
सन् २०२४ अप्रिलमा विश्वको उत्कृष्टमध्ये एक अटो ब्रान्ड टेस्लाले आफ्नो गाडीको मूल्य घटायो। यद्यपि, पछिल्लो समय मूल्य घटाउने टेस्ला मात्रै होइन। अन्य अटो ब्रान्डले पनि आफ्नो उत्पादनको मूल्य घटाएका छन्। टेस्लाले विशेष गरी आफ्नो उत्पादन बिक्रीमा आएको कमीका कारण गाडीको मूल्य घटाएको थियो।
टेस्लाले अप्रिलबाटै लागू हुनेगरी अमेरिकामा मूल्य कटौती गरेको हो। त्यसपछि चीन र जर्मनीसहित आफ्नो प्रमुख बजारमा पनि मूल्य कटौती गरेको थियो। घट्दो बिक्री र इलेक्ट्रिक सवारीका लागि चिनियाँ विद्युतीय गाडीसँगको तीव्र प्रतिस्पर्धाका कारण टेस्ला आफ्नो मूल्य समायोजन गर्न बाध्य भएको हो। टेस्लाले चीनमा आफ्नो मोडल ३ को उत्पादनको सुरुवाती मूल्यमा १ हजार ९३० अमेरिकी डलर घटाएर ३२ हजार अमेरिकी डलर कायम गरेको छ।
त्यस्तै, टेस्लाले जर्मनीमा मोडल ३ रियर ह्वील ड्राइभको मूल्य ४२ हजार ९९० युरोबाट घटाएर ४० हजार ९९० युरो कायम गरेको छ। यो मूल्य फेब्रुअरीदेखि नै कायम छ। टेस्लाले युरोप, मध्यपूर्व र अफ्रिकालगायत धेरै मुलुकमा आफ्नो मूल्य कटौती गरेको जानकारी टेस्लाका प्रवक्ताले अन्तर्राष्ट्रिय सञ्चार माध्यमलाई दिएका छन्।
अमेरिकी मोडल वाई, मोडल एक्स र मोडल एस गाडीको मूल्य पनि टेस्लाले २ हजार अमेरिकी डलरले घटाएको थियो। कम्पनीले आफ्नो ‘फुल–सेल्फ ड्राइभिङ’ ड्राइभर असिस्टेन्ट सफ्टवेयरको मूल्य अमेरिकामा १२ हजार अमेरिकी डलरबाट ८ हजार अमेरिकी डलरमा झारेको छ। ‘माग र उत्पादनको सन्तुलन मिलाउन टेस्लाको मूल्य बारम्बार परिर्वतन गर्नुपर्ने हुन्छ’ टेस्लाका सीईओ एलन मस्कले सामाजिक सञ्जाल एक्समा लेखेका थिए। टेस्लाले आफ्नो कारहरुको मोडल अनुसार ४ देखि २२ प्रतिशतसम्म मूल्य घटाएको छ। टेस्लाले चीनमा मूल्य घटाएर आफ्नो लोकप्रियता कायम राख्नका लागि पनि प्रयत्न गरिरहेको छ।
टेस्लाले अप्रिलबाटै लागू हुनेगरी अमेरिकामा मूल्य कटौती गरेको हो। त्यसपछि चीन र जर्मनीसहित आफ्नो प्रमुख बजारमा पनि मूल्य कटौती गरेको थियो। घट्दो बिक्री र इलेक्ट्रिक सवारीका लागि चिनियाँ विद्युतीय गाडीसँगको तीव्र प्रतिस्पर्धाका कारण टेस्ला आफ्नो मूल्य समायोजन गर्न बाध्य भएको हो।
यद्यपि, मूल्य समायोजन गर्ने अटो ब्रान्ड टेस्ला मात्रै होइन। टेस्लाको प्रतिस्पर्धीको रुपमा आएका चिनियाँ अटोमेकर बीवाईडीले पनि आफ्नो मूल्य १४ देखि २० प्रतिशतसम्म घटाएको छ। कम्पनीले आफ्नो सफल ह्याचब्याक कार डल्फीनको ‘अनर एडिशन’ मूल्य ३ हजार ८६५ डलरले कम गरेको थियो। डल्फिनको सुरुवाती मूल्य १७ हजार ३०० रहेकोमा घटाएर १३ हजार ८६५ डलरमा बिक्री सुरु गरेको छ।
अर्को चिनियाँ विद्युतीय अटोमेकर चांगनले मार्च २०२४ मा आफ्नो मिनि कार लुमिनमा एकै पटक १२ हजार युआन मूल्य घटाएको छ। कम्पनीले लुमिनको मूल्य चीनमा ४९ हजार ९०० युवान रहेकोमा एकै पटक घटाएर ३७ हजार ९०० युआन (५ हजार २५० अमेरिकी डलर) निर्धारण गरेको थियो। यस कम्पनीले पनि ईभी बजारमा बढ्दो प्रतिस्पर्धालाई मध्येनजर गर्दै आफ्नो सवारी साधनको मूल्य घटाएको थियो।
मूल्य घटाउने लहर चलिरहेकै समयमा अर्को अटो ब्रान्ड ‘औरा’ले पनि मूल्य घटाएको छ। ग्रेटवाल मोटर्सले यसअघि बिक्री गर्दै आएको ओरा–३ को मूल्य १७ हजार ९ सय डलर रहेकोमा हाल उक्त फेसलिफ्ट मोडलको मूल्य ३ हजार ३०० डलरले घटाएर १४ हजार ६ सय डलर कायम छ।
अन्य ब्रान्डले एकपछि अर्को गर्दै मूल्य घटाइरहँदा भारतीय अटो ब्रान्डले पनि आफ्नो मूल्य समायोजन गर्दै लगेका छन्। सन् २०२३ मा टाटा मोटर्सले टाटा नेक्सन ईभीको मूल्य ७० हजार भारतीय रुपैयाँले घटाएको थियो। कम्पनीले १ लाख २० हजार भारतीय रुपैयाँ मूल्य रहेको टियागो ईभीको मूल्य ७० हजारले घटाएको थियो।
कम्पनीले टियागो मिडियम रेन्जको मूल्य २५ हजारले घटाएर सुरुवाती मूल्य १४ लाख ४९ हजार भारतीय रुपैयाँ र लङ रेन्जमा १ लाख २० हजार रुपैयाँ मूल्य घटाएर १६ लाख ९९ हजार भारतीय रुपैयाँ कायम गरेको छ। भारतमा टियागो ईभीको मूल्य ७ लाख ९९ हजार भारतीय रुपैयाँमा झरेको छ। यसअघि उक्त गाडीको मूल्य ८ लाख ६९ हजार भारतीय रुपैयाँ थियो।
यसअघि एमजी मोटर इन्डियाले आफ्नो चर्चित मोडल एमजी कोमेटको मूल्य १ लाख रुपैयाँ घटाएको छ। ७ लाख ९९ हजार रुपैयाँ मूल्यबाट घटाएपछि एमजी कोमेटको मूल्य मूल्य ६ लाख ९९ हजार भारतीय रुपैयाँ कायम छ।
कम्पनीले ब्याट्रीको मूल्यमा आएको गिरावटसँगै आफ्नो गाडीको मूल्य घटाएको उल्लेख गरेको छ। टाटाले आफ्नो सवारी साधनको मूल्य घटाएको समयमा अन्तर्राष्ट्रिय बजारमा ईभी ब्याट्रीको मूल्य चारदेखि सात प्रतिशतसम्मले गिरावट आएको थियो। उक्त समयमा विश्वका सबैभन्दा ठूला ब्याट्री उत्पादक कम्पनीमध्येका क्याटल र बीवाईडीले पनि आफ्नो ब्याट्रीको मूल्य घटाएका थिए।
यसअघि एमजी मोटर इन्डियाले आफ्नो चर्चित मोडल एमजी कोमेटको मूल्य १ लाख रुपैयाँ घटाएको छ। ७ लाख ९९ हजार रुपैयाँ मूल्यबाट घटाएपछि एमजी कोमेटको मूल्य मूल्य ६ लाख ९९ हजार भारतीय रुपैयाँ कायम छ।
सन् २०२३ मै चिनियाँ अटोमोबाइल कम्पनी विलिङले पनि आफ्नो उत्पादन विङ्गो मोडल गाडीको मूल्य १० प्रतिशतले घटाएको थियो। विश्वमा विद्युतीय सवारी साधनको माग बढ्दै जाँदा अटोमेकर भने आफ्नो उत्पादनलाई लोकप्रिय बनाइराख्न प्रयत्नशील छन्। उनीहरुले आफ्नो उत्पादनमा नयाँ फिचर र अत्याधुनिक प्रविधि राख्दै गर्दा मूल्य घटाएर पनि ग्राहक आकर्षित गर्ने योजनामा छन्।
तर, बढ्दो प्रतिस्पर्धा, कम्पनीबीचको ‘प्राइस वार’का कारण विश्व बजारमा भएका उत्कृष्ट ब्रान्डहरुको नाफा पनि घटेको छ। विश्व बजारमा विद्युतीय कारको बिक्रीमा आएको उच्च गिरावटसँगै उत्पादकहरुले ब्यापक मूल्य कटौती गरिरहेका छन्। ठूलादेखि साना कार निर्माताले आफ्नो सवारीसाधनको मूल्य १५ देखि २० प्रतिशतसम्मले घटाएका छन्।