काठमाडौं। ढल निकास तथा खानेपानी आयोजनामा प्रयोग हुने सिमेन्ट र फलामे पाइपको विकल्पमा प्लाष्टिकको पाइप उत्पादन सुरु भएको छ। ३२ वर्षदेखि प्लाष्टिकजन्य उत्पादन गर्दै आएको हिल्टेक ग्रुपले १ अर्ब ५० करोड रुपैयाँ लगानीमा नयाँ उद्योग सञ्चालन गर्न लागेको हो।
ग्रुपका अध्यक्ष कमल जैनले जर्मन प्रविधिमा नेपालमा पहिलो पटक ढलका लागि प्लाष्टिकको पाइप उत्पादन सुरु गरेको बताए। करिब ५० करोड लगानीमा ४ वर्ष अघिबाट हेटौंडा औधोगिक क्षेत्रमा उत्पादन सुरु गरेर बजारमा पठाइरहेको उनले जानकारी दिए।
खासगरी सडक आयोजना तथा सहरी क्षेत्रमा ढलको लागि सिमेन्ट र बालुवा मिश्रीत पाइपको प्रयोग हुँदै आएको छ। सिमेन्टको पाइप जडानमा समस्या आउने, फुट्ने सम्भावना धेरै रहेको र जनशक्तिसँगै समयसमेत धेरै लाग्ने भएकोले त्यसको विकल्पमा डिडब्लुसी पाइप उत्पादन सुरु गरिएको उनले बताए। ‘प्लाष्टिकको पाइप सिमेन्टको भन्दा बलियो हुन्छ, अध्यक्ष जैनले भने, ‘फुट्ने समस्या हुँदैन र फेर्न समेत सहज हुन्छ।’
जर्मनी प्रविधिमार्फत् उत्पादन गरिएको पाइपले ५० टनको गाडी समेतलाई धान्न सक्छ। अर्थात सिमेन्टको पाइपले जति भार थेग्छ त्यति नै थेग्न सक्छ,’ उनले भने।
अहिले धेरै ठाउँमा ढलानको पाइपहरु फुट्ने र जडानमा समस्या आउने गरेको छ। तर, प्लाष्टिकको पाइप फुट्ने सम्भावना न्यून रहेकोले सरकारलाई समेत सहज हुने उनले बताए। ‘१ किलोमिटर क्षेत्रमा सिमेन्टको पाइप फिट गर्न करिब १ महिना समय लाग्छ भने प्लाष्टिकको जडान १ दिनमै सकिन्छ,’ उनले भने।
जसका कारण समयको बचतसँगै खर्चसमेत जोगिने भएकोले सरकारी आयोजनाका लागि उपयुक्त हुने उनको भनाइ छ। उत्पादन भए पनि माग कम हुँदा वर्षको ३० देखि ४५ दिन मात्र उद्योगमा उत्पादन हुने गरेको उनले बताए।
सरकारले अहिले केही स्थानमा सिमेन्टको ठाउँमा प्लाष्टिकको पाइप जडान सुरु गरिएको खानेपानी तथा ढल व्यवस्थापन विभागका प्रवक्ता रामकुमार श्रेष्ठले जानकारी दिए। अहिले आयोजनाहरु नै कम बनेकोले उत्पादन भएका सबै पाइपहरु राख्न सकिएको छैन, प्रवक्ता श्रेष्ठले भने ‘विकल्पको रुपमा हामीले हेरिरहेका छौं।’
फलामे पाइपको विकल्पमा ‘पीभीसीओ’
स्पेनको प्रविधिमा हिल्टेक ग्रुपले फलामे पाइपलाई विस्थापन गर्न पीभीसीओ पाइप उत्पादन गर्ने अन्तिम तयारी गरेको छ। ग्रुपका अध्यक्ष जैनका अनुसार अवको २ महिना भित्रमा उत्पादन थाल्ने गरी काम अगाडी बढेको छ।
करिब १ अर्ब लगानीमा हेटौंडाको औधोगिक क्षेत्रभित्र उद्योग सञ्चालन गरिसकेको उनले बताए। अहिले मेलम्ची खानेपानी आयोजनामा प्रयोग भएका ठूला ठूला फलामे पाइपलाई विस्थापन गर्न प्लाष्टिकको पाइप उत्पादन गरिएको उनले बताए। ‘विदेशमा यो प्रविधिमा यो खालको पाइप उत्पादन भएको २०÷२५ वर्ष भइसकेको छ,’ अध्यक्ष जैनले भने ‘नेपालमा भने पहिलो पटक भित्रिएको छ, यसले आयात रोक्न सक्छ।’
अहिले खानेपानी आयोजनाहरुमा प्रयोग हुने फलामे पाइप विदेशबाट आयात भइरहेको छ। अब उद्योग सञ्चालनमा आएपछि बाहिरबाट ल्याउनुपर्ने बाध्यता अन्त्य हुने जैनको भनाइ छ। साथै ढुवानी मूल्य समेत सस्तो हुन्छ।
खासगरी मेलम्ची आयोजनामा प्रयोग भएको खानेपानीको पाइप विदेशबाट आयात गरिएको थियो। पाइप जडान र पुर्याउनका लागि छुट्टै सडकसमेत निर्माण गर्नुपरेको थियो। जसको कारण आयोजनाको लागत धेरै बढेको थियो।
मेलम्ची आयोजनाजस्तै अन्य ठूला परियोजनाहरु सञ्चालनको तयारी रहेकोले त्यसैलाई लक्षित गरी उत्पादन गर्न लागिएको उनले बताए। यो पाइप १०० एमएमदेखि १००० एमएम (४ इन्चदेखि ४० इन्चसम्म)को उत्पादन हुन्छ।
सबै पाइपहरु अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरिएको कम्पनीले जनाएको छ। ‘सरकारले नेपाली उत्पादनलाई नै विशेष प्राथमिकता दिनुपर्छ, सामान खरिदको नाममा करोडौं रुपैयाँ विदेशमा पठाउनुको सट्टा नेपाली उद्योगले उत्पादन गरेको सामाग्रीलाई प्रयोग गर्नु नै उत्तम हुन्छ,’ उनले भने।
अहिले पनि सरकारी क्षेत्रले केही स्वदेशी उत्पादन लिने र केही विदेशबाट ल्याउने गरेका कारण स्थानीय उद्योग समस्यामा परिरहेको गुनासो उनको छ। सरकारले कडाईका साथ नेपाली उत्पादनलाई जोड दिने भनेर निर्णय नै गरेर अगाडी बढे धेरै उद्योगहरु सञ्चालनमा आउनुको साथै सरकारलाई सस्तो भएर रकमसमेत बचत हुने उनको दाबी छ।