काठमाडौं। अर्थमन्त्री वर्षमान पुनले राम्रो नीति निरन्तरताका लागि कोही पनि व्यक्ति अर्थ मन्त्री, उद्योग मन्त्री र सचिवहरुको पछि लागेर समय खेर नफाल्न आग्रह गरेका छन्।
राम्रा कुराले निरन्तरता पाउने बताउँदै मन्त्री पुनले भने, 'अर्थतन्त्रमा राम्रो योगदान गरिरहेको क्षेत्र उत्पादन वृद्धि र रोजगारी सिर्जना गरी मुलुकलाई अघि बढाउन जुनसुकै दल वा सरकारले ल्याएको नीति भए पनि राम्रा नीतिले निरन्तरता पाउँछ।'
अर्थमन्त्री पुनले मुखले नभई व्यवहारमै सरकार निजी क्षेत्रमैत्री रहेको पुष्टि भइसकेकाले धेरै संकाउपसंका गर्नुपर्ने आवश्यकता नरहेको बताए। राजस्व परामर्श समिति र निजी क्षेत्रका छाता संगठनहरुबीच आगामी बजेटबारे मन्त्रालयमा आइतबार भएको अन्तर्क्रियामा मन्त्री पुनले पछिल्लो समय सरकारले निजी क्षेत्रमैत्री वातावरण निर्माण गरेको बताए।
लगानी अनुकूल वातावरण निर्माणका लागि अध्यादेशमार्फत विभिन्न ८ वटा कानुनमा गरिएको सुधार तथा लगानी सम्मेलनमा निजी क्षेत्रको सक्रिय सहभागिताले सरकार निजी क्षेत्रमैत्री रहेको पुष्टि भइसकेको उनको भनाइ थियो।
मन्त्री पुनले अर्थतन्त्रमा विद्यमान शिथिलता अन्त्य गर्न राज्यले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने र निजी क्षेत्रले राज्यसँग हातेमालो गरेर अघि बढ्ने वातावरण निर्माण गर्नेमा उद्योगी व्यवसायीलाई आश्वस्त पारे। ‘लगानी सम्मेलनमा उद्घाटनदेखि छलफलका सबै बन्द सेसन र समापनसम्म निजी क्षेत्रलाई प्रस्तुत गरेका छौं। स्वदेशी र विदेशी लगानीकर्तालाई लक्षित गरेर ८ वटा कानूनमा भएको संशोधनले सकारात्मक वातावरण बनेको छ,' उनले भने, ‘मुखले भनेर होइन दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौं।’ प्रधानमन्त्रीले के गर्दा उत्पादन र उत्पादकत्व वृद्धि हुन्छ। सरकारलाई आउने राजस्व पनि वस्तुगत बनाउने गरी काम गर्नुस् भन्नुभएको छ।'
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बारम्बार आगामी बजेटमा सरकार आफैले र निजी क्षेत्रसँगको सहकार्यमा उत्पादन र उत्पादकत्व वृद्धिका कार्यक्रमलाई प्राथमिकतामा राख्न आफूलाई दिशानिर्देश गरिरहेको जानकारी मन्त्री पुनले दिए। ‘प्रधानमन्त्रीले निजी क्षेत्रको मनोबल उठाउनुपर्यो। निजी क्षेत्रमैत्री वातावरण बनाउनुपर्यो। लिबरल हुनुपर्यो भनिरहनुभएको छ,' उनले भने, ‘त्यसलाई अर्थ मन्त्रालयको तर्फबाट सैद्धान्तिकरण गर्ने कोसिस जारी छ।’
करका दर हेरफेर गर्दा कसैलाई पोस्ने र कसैलाई निरुत्साहित नगरिने प्रतिबद्धता मन्त्री पुनले गरे। अर्थतन्त्रमा राम्रो योगदान गरिरहेको, उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने तथा देशलाई अगाडि बढाउने नीतिमा परिवर्तन नगरिने प्रतिबद्धता गरे।
छिमेक र विश्वबजारसँग प्रतिस्पर्धा गरिरहेको निजी क्षेत्रलाई प्रतिस्पर्धी बनाउनेबारे सरकारले सोचेको उनको भनाइ थियो। फरक प्रसंगमा मन्त्री पुनले लगानी सम्मेलन भव्य रुपले सम्पन्न भएको उल्लेख गरे।
लगानी सम्मेलनमा सरकार र प्रतिपक्षी दलका नेताबाट लगानीमैत्री वातावरणबारे व्यक्त समान धारणाले आर्थिक नीतिमा सिंगो देश एकै ठाउँ रहेको सन्देश गएको उल्लेख गरे। ‘प्रधानमन्त्री, मन्त्री र सत्तापक्षका नेताहरुले सकारात्मक कुरा गर्नु त छँदैछ। तर, प्रमुख प्रतिपक्षका नेता र विज्ञहरुले पनि एकै स्वरले देशमा लगानी आवश्यक छ। लगानीमैत्री वातावरण आवश्यक छ। सबै मिलेर वातावरण बनाउँछौं।
यसमा सत्तापक्ष र प्रतिपक्षबीच नीतिगत मत भिन्नता छैन भन्ने अन्तर्राष्टिय लगानीकर्ता र देशभित्रका लगानीकर्तालाई पनि संयुक्त रुपले अपिल गर्यौं। यो हाम्रो पुँजी हो र यसले सबै राजनीतिक दलहरु आर्थिक नीतिमा एकै ठाउँमा छौं भन्ने देखियो,' उनले भने।
छलफलमा नेपला उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवाल, चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालसहित राष्ट्रिय उद्योग व्यापार संघ, नेपाल उद्योग व्यापार महासंघका प्रतिनिधि सहभागी थिए।