काठमाडौं। नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासीक समीक्षा साविकको समयभन्दा १५ दिन ढिला गर्ने भएको छ। केन्द्रीय बैंकले मौद्रिक नीति तर्जुमा कार्यविधि, २०७३ (प्रथम संशोधन, २०७९) गर्दै उक्त व्यवस्था गरेको हो।
राष्ट्र बैंकले २०७६ सालमा मौद्रिक नीति तर्जुमा कार्यविधि २०७३ जारी गरी नयाँ मौद्रिक नीति, त्यसको अर्धवार्षिक समीक्षा र त्रैमासिक समीक्षाको निर्माण र सार्वजनिकको समयसीमा निर्धारण गरेको थियो। जसअनुसार राष्ट्र बैंकले नयाँ मौद्रिक नीति र अर्धवार्षिक समीक्षा आर्थिक वर्ष समाप्त भएको १५ दिनभित्र र त्रैमासिक समीक्षा त्रैमास समाप्त भएको ३० दिनभित्र गर्नुपर्ने थियो। तर, राष्ट्र बैंकले कार्यविधि संशोधन गर्दै अर्धवार्षिक र त्रैमासिक समीक्षा सार्वजनिक गर्नुपर्ने समयसीमा १५ दिन थप गरी ४५ दिन कायम गरेको हो।
संशोधित मौद्रिक नीति तर्जुमा कार्यविधिमा तोकिएको समयभित्रै समीक्षा सार्वजनिक गर्न केही असहज भएपछि कार्यविधिको संशोधन गरिएको राष्ट्र बैंकका सहप्रवक्ता डा. डिल्लीराम पोखरेलले बताए। ‘केही कारणले कुनै समय ३० दिनभित्रै मौद्रिक नीति समीक्षा सार्वजनिक गर्न सम्भव नहुने भएको हुँदा समयको मागअनुसार समयसीमा ४५ दिन गरिएको हो,’ उनले भने।
अहिले राष्ट्र बैंक आर्थिक अनुसन्धान विभाग चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक समीक्षा निर्माणको तयारीमा जुटेको छ। तर, यस पटक राष्ट्र बैंकले तेस्रो त्रैमासिक समीक्षा भने जेठ १५ गतेसम्म सार्वजनिक गर्नेछ।
संशोधित मौद्रिक नीति तर्जुमा भनिएको छ ‘वार्षिक मौद्रिक नीति हरेक आर्थिक वर्ष सुरु भएको १५ दिनभित्र र त्रैमासिक तथा अर्धवार्षिक समीक्षा हरेक त्रैमास समाप्त भएको ४५ दिनभित्र सार्वजनिक गरिनेछ।’
अबदेखि विभागले वार्षिक मौद्रिक नीति तर्जुमाको लागि जेठ महिनाको दोस्रो हप्ताभित्र र त्रैमासिक तथा अर्धवार्षिक समीक्षाका लागि हरेक त्रैमास समाप्त भएको १५ दिनभित्र मौद्रिक नीतिका लागि आवश्यक राय सुझाव माग गर्न पत्राचार गर्नेछ। प्राप्त राय÷सुझावउपर आवश्यकताअनुसार वार्षिक मौद्रिक नीति तर्जुमाका लागि प्रत्येक वर्षको असार महिनाको पहिलो हप्तादेखि र त्रैमासिक तथा अर्धवार्षिक समीक्षाका लागि हरेक त्रैमास समाप्त भएको १५ दिनपछि अन्तर विभागीय सुझाव समन्वय समितिमा छलफल गर्नेछ।
अन्तर विभागीय सुझाव समन्वय समितिमा छलफल भएपछि मौद्रिक नीतिको मस्यौदा उपर व्यवस्थापन समितिमा छलफल प्रारम्भ हुन्छ। उक्त मस्यौदा सञ्चालक समितिबाट पारित भएपछि सामान्यतया वार्षिक मौद्रिक नीति हरेक आर्थिक वर्ष सुरु भएको १५ दिनभित्र र त्रैमासिक तथा अर्धवार्षिक समीक्षा हरेक त्रैमास समाप्त भएको ४५ दिनभित्र सार्वजनिक हुनेछ।