काठमाडौं। सिद्धार्थ हस्पिटालिटीको व्यवस्थापनमा सुर्खेतको विरेन्द्रनगरमा सञ्चालन भइरहेको 'सिद्धार्थ होटल’ कर्णाली प्रदेशकै पहिलो चारतारे होटल बनेको छ।
पर्यटन विभागले विरेन्द्रनगरमा रहेको सिद्धार्थ होटललाई चारतारे होटलको रुपमा वर्गीकरण गरेको हो। 'सिद्धार्थ होटललाई पर्यटन ऐन, २०३५ तथा होटल, लज, रेष्टुराँ, तथा रिजर्ट, बार तथा पथ प्रदर्शक नियमावली, २०३८ मा व्यवस्था भएअनुसार चार तारा होटलमा स्तर वर्गीकरण गरी यो इजाजतपत्र दिइएको छ,' विभागले भनेको छ।
होटलले यसअघि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट अतिउत्तम वर्गको समेत वर्गीकरण पाएको थियो। कर्णाली प्रदेशकै सुविधा सम्पन्न उक्त होटलमा ४ स्विट, ४५ डिलक्स र १५ वटा स्ट्याण्डर्ड प्रकृतिका कोठा छन्। साथै ४ वटा कन्फ्रेन्स हल, ६ सय जना भन्दा बढी क्षमताको ब्याङ्क्वेट हल, पुल बार रेस्टुरेन्ट समेत रहेका छन्।
यस्तै फिटनेस क्लब, स्पा, साउना, स्टिम, जीम, स्विमिङ पुल, ब्युटी पार्लरलगायत सुविधासमेत होटलमा समावेश छन्। २०७२ देखि सञ्चालनमा आएको यस होटलमा ७० जनाले प्रत्यक्ष रोजगारी पाइरहेको क्षेत्रीय निर्देशक केशव न्यौपानेले बताए।
२६ वर्षअघि टिकापुरबाट व्यवसाय सुरु भएको सिद्धार्थ हस्पिटालिटीले हाल लक्जरी रिसोर्ट, पाँचतारे होटल र विभिन्न स्ट्याण्डर्डका होटल तथा क्याफे गरी देशैभर सेवा सञ्चालन गरिरहेको छ। पूर्वमा विर्तामोडदेखि पश्चिममा महेन्द्रनगरसम्म फैलिएको यस हस्पिटालिटीले २ हजारभन्दा बढी जनशक्तिलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा रोजगारी दिँदै आएको छ।