काठमाडौं। २०८० चैत २८ मा २०२३.३५ अंकमा रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) वैशाख लागेदेखि नै निरन्तर घटेर अघिल्लो साता १९६५.९३ बिन्दुमा आयो। तर, गत साता ४ कारोबार दिनमा ३ दिन बजार सूचकमा सकारात्मक प्रभाव पर्दा समग्रमा नेप्से ३३.०३ अंकले बढेर वैशाख २० गते १९९८.९६ बिन्दुमा अडिएको छ।
गत साता कारोबार रकममा पनि उल्लेख्य सुधार देखिएको छ। अघिल्लो साता ४ कारोबार दिनमा ८ अर्ब ४९ करोड रुपैयाँ बराबरको कारोबार भएको गत साता पनि ४ कारोबार दिनमै १४ अर्ब ४३ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। नेप्से सूचक र कारोबार रकममा आएको सुधारले सेयर बजारलाई केही चलयमान बनाउन खोजेको आभास दिएको छ।
तर, यो कति समय टिक्छ अहिले नै भन्न सकिँदैन। पछिल्लो समय सेयर कारोबारी (ट्रेडर) हरु कम पुँजी भएका क्षेत्रगत ‘स्क्रिप्ट’ मा हावी हुँदाको असर सूचकमा परेको देख्न सकिन्छ। त्यसैको परिणाम कहिले वित्त कम्पनी, कहिले लघुवित्त वित्तीय संस्था, कहिले जलविद्युत क्षेत्रका कम्पनीको मूूल्य पालैपालो घट्ने र बढ्ने गरेको छ।
तर, सेयर बजारमा सबैभन्दा ठुलो हिस्सा भएको बैंकिङ समूह भने उठ्नै सकेको छैन। अझ चालू वर्षको तेस्रो त्रैमासको सार्वजनिक वित्तीय विवरणले वाणिज्य बैंकको सेयरमा लगानीकर्ताको ध्यान भङ्ग भएको छ। बैंकिङ समूहमा सुधार नआएसम्म एक दुई दिन सूचकमा उतारचढाव त होला तर, बजार दिगो रुपमा माथि जान कठिन हुन्छ।
सेयर लगानीकर्ता देव गुरागाईं बैंकजस्तो ठूलो बजार हिस्सा भएको समूह कमजोर अवस्थामा रहँदा बजार सकारात्मक हुने ठूलो अपेक्षा राख्न नसकिने बताउँछन्। ‘हालै सार्वजनिक बैंक तथा वित्तीय संस्थाको वित्तीय विवरण खासै सकारात्मक देखिएन। अर्को वर्ष नाफा दिने बैंकको संख्या झनै घटेको आभाष मिलेको छ’, गुरागाईंले भने, ‘बैंकिङ चलायमान नभएसम्म समग्र सूचकमा स्वभाविक असर देखिइरहन्छ।’
हुन त लामो समयदेखि सेयर बजार चलयमान बनाउन कतैबाट कुनै किसिमको प्रयास भएको छैन। नियामकीय प्रमुख (नेपाल धितोपत्र बोर्डको अध्यक्ष) पुस २० देखि खाली छ। लामो समय अर्थमन्त्रीले गोजीमा राखेको धितोपत्र दलाल व्यवसायी (ब्रोकर) कमिसन १० प्रतिशत घटाउने प्रस्तावमा सकारात्मक प्रतिक्रिया दिएर बोर्डमा पठाए पनि नियामकीय प्रमुख नहुँदा कार्यान्वयन हुन सकेको छैन।
लामो समय अर्थमन्त्रीले गोजीमा राखेको धितोपत्र दलाल व्यवसायी (ब्रोकर) कमिसन १० प्रतिशत घटाउने प्रस्तावमा सकारात्मक प्रतिक्रिया दिएर बोर्डमा पठाए पनि नियामकीय प्रमुख नहुँदा कार्यान्वयन हुन सकेको छैन।
अर्थमन्त्री वर्षमान पुुनले सेयर बजार सुधारका विषयमा विभिन्न निकायसँग सुुझाव लिए पनि कार्यान्वयनमा तदारुकता नदेखाउँदा लगानीकर्ता निराश छन्। त्यति मात्रै होइन सार्वजनिक निष्काशन (आईपीओ), थप प्राथमिक निष्काशन (एफपीओ), हकप्रद, ऋणपत्र (डिबेन्चर), सामुहिक लगानी कोषजस्ता कुुनै पनि सार्वजनिक निष्काशन भएको छैन।
एक वर्षको अवधिमा उल्लेख्य रुपमा ब्याजदर घटेकोे भनिए पनि सेयर कर्जाको ब्याज खासै नघटेको लथानीकर्ताको भनाइ छ। जसका कारण पछिल्लो साढे ३ महिनादेखि नेप्से १९५० देखि २१०० बिन्दुु वरिपरि घुमिरहेको छ। अपवादबाहेक २०५० बिन्दुु पार गरेर नेप्सेमा सेयर कारोबार हुन सकिरहेको छैन।
सरकारी तबरबाट कुनै सकारात्मक कदम नचालिए पनि चालू मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षाबाट केही राहतका कार्यक्रम आउँछ कि भन्ने अपेक्षामा लगानीकर्ता छन्। मौद्रिक समिक्षाबाट सेयर धितो कर्जाको सीमा हट्ने वा बढ्ने र जोखिमभार घट्नेजस्ता आशा लगानीकर्तामा छ। ‘एक दिन वित्त कम्पनी, अर्को दिन लघुवित्त र फेरि जलविद्युत पालैपालो बढ्ने/घट्ने भनेको टे«डर हाबी भएर हो। सीमित व्यक्तिहरु मिलेर आ–आफू बजारमा खेल्ने र कमाउने धुनमा छन्’ गुुरागाईंले भने, ‘ठूलो हिस्सा भएको समूह बढ्न र बजार सकारात्मक रुपमा अघि बढ्न मौद्रिक समीक्षाले टेको लगाउनुपर्छ।’
यो साता वा अर्को साता आउने मौद्रिक नीति समीक्षामा लगानीकर्ताका मनोभाव समेटिने अपेक्षा लगानीकर्ताहरुको छ। मौद्रिक नीति समीक्षाकै छेको पारेर बजारमा अनेकन हल्ला चलाउने र बजारलाई केही चलायमान बनाउने प्रयास हुनसक्छ। त्यस्तो भयो भने बजार सूचकले २०५० को बिन्दुु पार गर्न सक्छ। अन्यथा बजार सूचक अझै पनि १९५० देखि २०५० कै बीचमा रुमलिने छ।
लगानीकर्ता छोटेलाल रौनियार राज्यले पूर्णरुपमा बेवास्ता गरेको अवस्थामा बजार अहिलेको अवस्थामा अडिनुुलाई सकारात्मक ठान्छन्। ‘लगानीकर्ताले आशा भरोसा गर्ने ठाउँ केही पनि छैन। राज्यले प्राथमिकता दिएर सुधारको कदम नचालेसम्म बजार सकारात्मक हुने सम्भावना छैन’, रौनियारले भने, ‘अर्थ मन्त्रालयबाट केही गर्दा धितोपत्र बोर्डले नस्वीकार्ने, बोर्डले केही गर्न खोज्दा अर्थले सहमति नदिनेजस्ता असन्तुलित व्यवहारले लामो समयदेखि बजार शिथिल अवस्थामा छ।’
बजार चलायमान हुन केही दिन बढ्ने फेरि सुुधार (करेक्सन) हुँदै उकालो लागेमा मात्रै वृद्धि सकारात्मक हुन्छ। तर, अहिलेको कारोबारले बजारलाई सकारात्मक गति प्रदान गर्न गाह्रो छ। ‘अर्थमन्त्रीबाट मागिएका सुझाव दराजमा थन्किए। बोलेअनुसारको काम भएन। यस्तो अवस्थामा बजार चलयमान हुन कठिन छ’ रौनियारले भने, ‘धेरै लगानीकर्ताले बजार छोडिसकेकाले पुँजी बजारलाई सकारात्मक बनाउन मनोबल उकास्ने काममा सरकार र नियामक लाग्नुु जरुरी छ।’