काठमाडौं। ‘आरबी कम्प्लेक्स’ र ‘पिपुल्स प्लाजा’ ले लामो समयदेखि कर तिर्न आलटाल गरेपछि काठमाडौं महानगरपालिकाले ३५ दिनभित्र बुझाइसक्न पत्राचार गरेको छ। आरबी कम्प्लेक्सले अहिलेसम्मकै बहाल र सम्पत्ति कर तिरेको छैन।
‘पिपुल्स प्लाजा’ले विगत ३ वर्षदेखि बहाल र सम्पत्ति कर नतिरेको महानगरको राजस्व विभागले जानकारी दिएको छ। राजस्व विभागका प्रमुख धु्र्व काफ्लेका अनुसार लामो समयसम्म कर नतिरे पनि महानगरले ३५ दिनभित्र सबै बक्यौता रकम चुक्ता गर्न पत्राचार गरेको हो।
यस विषयमा महानगरले केही दिनअघि स्थलगत अनुगमन गरी विवरण मागेको थियो। यसपछि टोलीले, कम्प्लेक्स सञ्चालकलाई ७ दिनभित्र विवरण पेस गर्न र ३५ दिनभित्र वडा कार्यालयमा गएर बक्यौता तिर्न पत्राचार गरिएको प्रमुख काफ्लेले बताए। लामो समयसम्म बक्यौता रकम तिर्न आलटल गरेपछि कामपाले पछिल्लो समय रकम चुक्ता गर्न निर्देशन गरेको छ।
महानगर राजस्व विभागको ‘अनुगमन टोली परिचालन कार्यक्रम २०८०’ मा तीन प्रकारका राजस्व अनुगमन टोलीको व्यवस्था गरिएको छ।
एउटा वडास्तरीय टोली छ, जसमा जनप्रतिनिधि, कर्मचारी, राजस्व विभागका कर्मचारी रहने व्यवस्था छ। अर्को टोलीमा केन्द्रमा राजस्व विभागस्तरको टोली रहनेछ। यी दुवै टोलीले गरेका कामको अनुगमन गर्न प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा तेस्रो टोलीको व्यवस्था गरिएको छ।
घर बहालमा आर्जन हुने आयको १० प्रतिशत बहाल कर स्थानीय सरकारलाई बुझाउनु पर्ने कानुनी व्यवस्था छ। आरबी कम्प्लेक्समा तीन सय १५ व्यवसायी र पिपुल्स प्लाजामा १६० व्यवसायी छन्। 'यी व्यवसायीले व्यवसाय कर तिर्नुपर्छ। बहाल अंकमा लाग्ने बहाल कर स्थानीय सरकारलाई तिर्ने हो, बहाल आयमा लाग्ने कर संघीय सरकारलाई तिर्ने हो,' काफ्लेले प्रष्ट पारे।
महानगरले बहाल करलाई व्यवस्थित गर्न तथा बहाल लिने र दिनेबीचका शर्त व्यवस्थापन गर्न ‘बहाल व्यवस्था कार्यविधि’ जारी गरेको छ। यसबमोजिम कम्प्लेक्स सञ्चालकले व्यवसायीसँग सम्झौता गरेर आपसमा एक/एक प्रति लिनुदिनु पर्छ।
एक प्रति वडामा बुझाउनुपर्छ। महानगरका अनुसार लामो समयदेखि ३ अर्ब १९ करोड बक्यौता रकम असुल गर्नुपर्नेछ। अब नियमित अनुगमन गरी सबै बक्यौता रकम असुल गर्ने महानगरको तयारी छ।