क्यापिटल नेपालले मुख्य आर्थिक समाचारलाई प्राथमिकता दिएर सुरु गरेको साताभरका प्रमुख आर्थिक खबर नामक स्तम्भ। यस्ता छन्, संक्षेपमा साताभरका मुख्य–मुख्य आर्थिक समाचारः
सम्पत्ति शुद्धीकरण मुद्दामा चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपानेलाई विशेष अदालतले ३ वर्ष कैद सजाय तोकेको छ। विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर र सदस्य न्यायाधीश रामबहादुर थापाको इजलासले वैशाख १६ मा न्यौपानेलाई २५ करोड ६९ लाख ७५ हजार रुपैयाँ जरिवाना पनि सुनाएको हो।
सम्पत्ति शुद्धीकरण विभागले दायर गरेको मुद्दामा न्यौपानेलाई १२ करोड ८४ लाख ८७ हजार रुपैयाँ बराबरको सम्पत्तिको स्रोत खुल्न नसकेको अभियोग लगाइएको थियो। गत चैत २५ गते अदालतबाट दोषी ठहर भए पनि सजाय निर्धारणका लागि वैशाख १६ गते पेसी तोकिएको थियो।
त्यसैगरी सरकारको आयोजनामा भएको तेस्रो लगानी सम्मेलन सम्पन्न भएको छ। काठमाडौंमा वैशाख १६ र १७ गते भएको लगानी सम्मेलनमा ५५ देशका लगानीकर्ताको उपस्थिति रहेको थियो। चीन, बेलायत, अमेरिका, अस्ट्रेलिया, कोरिया, जापानलगायत ठूला अर्थतन्त्र भएका मुलुकका लगानीकर्ताको सहभागीता रहेको थियो। सम्मेलनका क्रममा उद्योग विभागमार्फत विभिन्न चार वटा परियोजनाका लागि ९ अर्ब १३ करोड बराबरको लगानी स्वीकृत भएको छ।
त्यस्तै नेपाल र भारतको महालेखापरीक्षक कार्यालयबीच सार्वजनिक लेखा परीक्षणमा सहकार्य गर्ने सम्झौता भएको छ। महालेखा परीक्षकका तोयम राय र भारतका महालेखापरीक्षक गिरिशचन्द्र मुर्मुबीच वैशाख २० मा भएको भेटमा सार्वजनिक लेखापरीक्षणमा सहकार्य गर्ने सम्झौतामा हस्ताक्षर गरेका छन्। सम्झौताले सार्वजनिक लेखा परीक्षण कार्यमा संलग्न हुनेहरुको क्षमता अभिवृद्धि हुने विश्वास दिइएको छ। यस्तै लेखापरीक्षणका लागि अपनाइने विधिहरुमा पनि सुधार हुने अपेक्षा लिएको छ।
बिहीबार सरकार र इन्टरनेट सेवा प्रदायक सञ्चालकबीच विवाद हुँदा केही समय इन्टरनेट अवरुद्ध भयो। इन्टरनेट सेवा प्रदायकले सरकारले विदेशी मुद्रा भुक्तानीको स्वीकृति नदिँदा भारतीय ब्यान्डविथको भुक्तानी गर्न नसकिएको भन्दै बिहीबार दिउँसोदेखि इन्टरनेट सेवा अवरुद्ध गरे।
त्यस्तै नबिल बैंकको वीरगन्ज शाखाबाट १ करोड ३४ लाख ६५ हजार रुपैयाँ चोरी गर्ने चार जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ। उनीहरूमध्ये ३ जनालाई नेपालबाट र १ लाई भारतबाट पक्राउ गरिएको हो। उनीहरूले वैशाख १७ गते बैंकको पैसा राख्ने स्टिलको दराज फोडेर पैसा चोरेका थिए। प्रहरीले सीसीटिभी फुटेजका आधारमा पक्राउ गरेको जनाएको छ। उनीहरूले सुन गाल्ने केमिकल प्रयोग गरि भल्ट फुटाएका थिए भने गेटमा नयाँ लगाइदिएका थिए।
अघिल्लो साता १९६५.९३ बिन्दुमा रहेको नेप्से परिसुचक यो साताभर उतारचढाव भइरहँदा कारोबारको अन्तिम दिन बिहिबार १९९८.९६ बिन्दुमा बन्द भएको छ। समग्रमा नेप्सेमा ३३.०३ अंकले वृद्धि भएको देखिएको छ। सेयर बजारमा यो साता कुल १४ अर्ब ४३ करोड रुपैयाँको कारोबर भएको छ। अघिल्लो साता कुल ८ अर्ब ४९ करोड रुपैयाँको कारोबार भएको थियो।
पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विजुकुमार थपलिया र मध्यपश्चिम विश्वविद्यालयमा प्रा.डा. ध्रुवकुमार गौतम नियुक्त भएका छन्। प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहालले प्रा. डा. थपलिया र प्रा.डा. गौतमलाई वैशाख १८ मा उपकुलपतिमा नियुक्त गरेका हुन्। थपलिया पूर्वाञ्चल विश्वविद्यालय व्यवस्थापन संकायका पूर्व डिन हुन्। गौतम त्रिवि योजना निर्देशनालयका निर्देशक हुन्।
सरकारले समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समितिको अध्यक्षमा उच्च अदालतका पूर्वन्यायाधीश रमणकुमार गौतमलाई नियुक्त गरेको छ। वैशाख २० मा सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले उक्त समितिको अध्यक्षमा पूर्वन्यायाधीश गौतमलाई नियुक्त गर्ने निर्णय गरेको हो। साथै बैठकले वैशाख २८ गते संघीय संसदको दुवै सदनको अधिवेशन आहृवान गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।
बैठकले जापानी परराष्ट्रमन्त्री एचिएमएस कामिकावायोकोको २०८१ वैशाख २३ गते नेपाल भ्रमणको अवसरमा हुने दुई पक्षीय वार्ताका लागि नेपाली प्रतिनिधिमण्डल गठन गरी वार्ता गर्ने अख्तियारी दिने निर्णय गरेको छ।
त्यस्तै सरकारले स्वचालित मार्गबाट विदेशी लगानी स्वीकृति गर्ने विद्युतीय प्रणाली सञ्चालनमा ल्याएको छ। उद्योग विभागले स्वचालित मार्ग (अटोमेटिक रुट) बाट विदेशी लगानी स्वीकृत गर्ने विद्युतीय प्रणाली सञ्चालनमा ल्याएको हो। अब लगानीकर्ताले सिधै ५० करोड रुपैयाँसम्म पुँजी भएका उद्योगल व्यवसाय र विदेशी लगानी अनलाइनमार्फत आवेदन दिन सक्ने छन्।
अटोमेटिक रुटबाट विदेशी लगानी स्वीकृतिसम्बन्धी सेवा उपलब्ध गराउने प्रयोजनका लागि विभागले ऐन तथा नियमावलीबमोजिम विदेशी लगानी स्वीकृतिका लागि पेस गर्नुपर्ने विवरण तथा कागजात विद्युतीयप्रणालीबाट पेस गर्न सक्नेछन्। विदेशी लगानी स्वीकृति लिन चाहने विदेशी लगानीकर्ताले विभागले सञ्चालन गरेको विद्युतीय प्रणालीमा लगइन गरी त्यसले माग गरेबमोजिमको विवरण तथा कागजात उक्त प्रणालीमा प्रविष्ट गर्नुपर्नेछ।
त्यसैगरी गत साता बझाङ र इलाममा उपनिर्वाचन सम्पन्न भएको छ। प्रनितिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा भएको उपचुनावमा एमालेका सुहाङ नेम्वाङ निर्वाचित भए भने बझाङ प्रदेश सभा १ का लागि भएको निर्वाचनमा एमालेका दमनबहादुर भण्डारी निर्वाचित भए।
त्यस्तै नेपाल क्रिकेट संघ (क्यान)ले आगामी जुनमा हुने टी–२० विश्वकप क्रिकेटका लागि खेलाडी छनोट गरेको छ। रोहितकुमार पौडेलको कप्तानीमा क्यानले १५ सदस्यीय टिम छनोट गरेको हो। पौडेलको कप्तानी रहेको टिममा आशिफ शेख, अनिलकुमार साह, कुशल भुर्तेल, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी छन्। त्यस्तै ललित राजवंशी, करण केसी, गुल्शन झा, सोमपाल कामी, प्रतिस जीसी, सन्दीप जोरा, अविनाश बोहरा, सागर ढकाल र कमल सिंह ऐरी टिममा छन्।
यसैबीच बिहीबार सरकार र इन्टरनेट सेवा प्रदायक सञ्चालकबीच विवाद हुँदा केही समय इन्टरनेट अवरुद्ध भयो। इन्टरनेट सेवा प्रदायकले सरकारले विदेशी मुद्रा भुक्तानीको स्वीकृति नदिँदा भारतीय ब्यान्डविथको भुक्तानी गर्न नसकिएको भन्दै बिहीबार दिउँसोदेखि इन्टरनेट सेवा अवरुद्ध गरे। बिहीबार राति सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सरकारी राजस्व तिर्न चेतावनी दिएपछि सेवा प्रदायकले इन्टरनेट सेवा सुचारु गरे। त्यस्तै सरकारले सयको नोटमा चुच्चे नक्सा राख्ने निर्णय गरेको छ।