गण्डकी। ९ वर्षदेखि बन्द रहेको गोरखकाली रबर उद्योग पुनःसञ्चालन गर्ने योजना कार्यान्वयनमा आउन सकेको छैन। सरकारले चालू आवको नीति तथा कार्यक्रममा रुग्ण अवस्थाको सो उद्योग सञ्चालनमा ल्याउने घोषणा गरेको थियो। सरकार र राजनीतिक नेतृत्वबाट उक्त उद्योग चलाउने प्रतिबद्धता आए पनि कार्यान्वयनमा ढिलाइ भइरहेको हो।
सरकारको नीति तथा कार्यक्रममा समावेश भए पनि उद्योग सञ्चालनका लागि प्रकृया सुरु नभएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। सो उद्योग सञ्चालनका लागि ठोस कार्ययोजना र ढाँचा तय भइनसकेको उद्योग विभागका निर्देशक अर्जनसेन ओलीले बताए। 'मन्त्रालय तहबाट नीतिगत निर्णय त भएको हो, तर उद्योग सञ्चालनको गृहकार्य अघि बढेको छैन,' उनले भने।
मन्त्रालयले रुग्ण तथा बन्द अवस्थामा रहेका उद्योग सञ्चालनका लागि विसं २०७८ मा प्रारम्भिक अध्ययन गरी सरकारलाई प्रतिवेदन बुझाएको निर्देशक ओलीले बताए। 'हेटौडा कपडा उद्योग सञ्चालनको जिम्मा नेपाली सेनालाई दिनेबारे सरकारले छलफल चलाइरहेको छ, तर गोरखकाली रबर उद्योग सञ्चालनको ढाँचा र लगानी स्रोतबारे अहिलेसम्म कुनै निर्णय भएको छैन,' उनले भने।
सरकारले नीति तथा कार्यक्रममार्फत गरेको उक्त निर्णयले आशा जगाए पनि घोषणा कार्यान्वयनमा हुनेमा जनस्तरमा संशय कायमै छ। यसअघि पनि गोरखकाली रबर उद्योगलगायत बन्द तथा रुग्ण अवस्थामा रहेका स्वदेशी उद्योग चलाउने सरकारी प्रयासले सार्थकता पाउन सकेको थिएन।
गोरखकाली देशकै एकमात्र टायर उत्पादन गर्ने उद्योग हो। विसं २०४९ साउनदेखि व्यावसायिक उत्पादन थालेको सो उद्योग व्यवस्थापनको कमजोरीका कारण विसं २०७२ देखि पूर्ण रुपमा बन्द छ। सरकारले उद्योगमा कार्यरत २८० कर्मचारीलाई विसं २०७६ फागुनमा ९६ करोड रुपैयाँ दायित्वसहित अवकाश दिएको थियो। अहिले उद्योगको रेखदेखका लागि करारका कर्मचारी र सुरक्षागार्ड छन्। रासस