काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय मुलुकको आर्थिक स्थितिमा सुधार आएको बताएको छ।
शुक्रबार काठमाडौंमा नेपाल पत्रकार महासंघको २६औं महाधिवेशनलाई सम्बोधन गर्दै उनले आफू प्रधानमन्त्री हुँदाको आर्थिक स्थितिभन्दा अहिलेको आर्थिक स्थितिमा धेरै सुधार आएको बताए। साथै नेपाल आयल निगम, नेपाल विद्युत प्राधिकरण, नेपाल वायुसेवा निगमलगायत सार्वजनिक संस्थाहरु पनि पछिल्लो समय नाफामा गएको उनले दाबी गरे।
उनले नेपालमा पर्यटक आगमनको उल्लेख्य वृद्धि भएको पनि दाबी गरे। हालै सम्पन्न लगानी सम्मेलनमा विदेशी लगानीकर्ताको उत्साहपूर्ण सहभागिताले नेपाललाई विकासको गति दिने आधार तय भएको पनि उनले उल्लेख गरे। ‘मैले नेतृत्व सम्हाल्दै गर्दा देशको आर्थिक स्थिति के थियो? कुन सन्त्रासमा गुज्रिएका थियौँ भन्नेकुरा हामी सबैलाई थाहा छ,’ उनले भने, ‘अहिले क्रमशः सुधार आइसकेको छ। शोधनान्तर स्थिति, वैदेशिक मुद्राको सञ्चिति, विप्रेषण, आय, राजस्व संकलनमा सुधारजस्ता कारणले अर्थतन्त्रका सूचकहरु विस्तारै सकारात्मक दिशातिर अघि छन्।’
उनले वित्तीय नीति र मौद्रिक नीतिमा एकरुपता ल्याइ लगानीको वातावरण सिर्जना गरिएको पनि दाबी गरे।
बैंकको ब्याजदर घटाइएको र लघुवित्त तथा सहकारीका समस्या समाधानको पहल गरिएको पनि उनले बताए। ‘सार्वजनिक संस्था र संस्थान व्यवस्थापनमा सुधार गरिँदैछ। नेपाल आयल निगम, नेपाल विद्युत प्राधिकरण, नेपाल वायुसेवा निगमलगायत सार्वजनिक संस्थाहरु नाफामा गएका छन्,’ उनले भने।
प्रधानमन्त्री दाहालले मिडियासम्बन्धी कानून निर्माणको प्रक्रियालाई सरकारले प्राथमिकतामा राखेको पनि बताए। सरकारले सञ्चार क्षेत्रको व्यवसायिक र संस्थागत विकासका लागि मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगसरह मान्यता प्रदान गरी संरक्षण र संवद्र्धन गर्ने नीति लिएको प्रधानमन्त्री दाहालको भनाइ थियो।