पछिल्लो समय मुलुकमा घरजग्गा कारोबार सुस्त छ। लामो समयदेखि घरजग्गा व्यवसायीले सरकारबाट सुधारको अपेक्षा गरिरहेका छन्। सरकारसमक्ष विभिन्न माग पनि राख्दै आएका छन्।
तर, समग्र अर्थतन्त्रमा देखिएको सुस्तताले घरजग्गा कारोबार मौलाउन सकेको छैन। सरकारबाट पनि यो क्षेत्र चलयमान बनाउनकै लागि भनेर खास कार्यक्रमहरु आएका छैनन्। यसैले पनि व्यवसायीहरु केही निराश छन्। तथापि, यही अवस्थामा पनि नेपाल जग्गा आवास तथा विकास महासंघले नेपाल रियल इस्टेट सम्मेलन आयोजना गर्ने तयारी गरिरहेको छ।
महासंघले यहि वैशाख २३ र २४ गते कुपण्डोलस्थित होटल हिमालयनमा ‘नेपाल रियल इस्टेट’ सम्मेलन गर्दैछ। सम्मेलनमा स्वदेशी तथा विदेशी लगानीकर्ता तथा व्यवसायी सहभागी हुने बताइएको छ। अर्थतन्त्रमा देखिएको समस्याका कारण अहिले घरजग्गा कारोबार बढ्न सकेको छैन। त्यसैले व्यवसायीहरूले अन्तर्राष्ट्रिय अनुभवहरू साटासाट गर्ने उद्देश्यले सम्मेलन गर्ने तयारी गरेका हुन्।
रियल इस्टेट सम्मेलनमा ‘विश्व परिदृश्यमा रियल इस्टेटको अवस्था र नेपालले लिनुपर्ने कार्यदिशा’ बारेमा स्वदेशी तथा विदेशी विज्ञ तथा सहभागीबीच खुला छलफल हुने बताइएको छ। साथै, प्राप्त अवसरहरुलाई कसरी उपयोग गर्ने भन्ने विषयमा पनि सम्मेलनमा अन्तर्क्रिया हुनेछ।
रियल इस्टेट सम्मेलनको उद्देश्य, यसबाट हुने फाइदा र वर्तमान घरजग्गा कारोबारको अवस्थाका विषयमा केन्द्रित रहेर क्यापिटल नेपालकी कमला भण्डारीले महासंघ अध्यक्ष भेषराज लोहनीलाई गरेको पाँच प्रश्नको सम्पादित अंश :
अहिले घरजग्गाको कारोबार सुस्त भएकै अवस्थामा रियल इस्टेट सम्मेलन गर्न लाग्नुभएको छ। यो बेला सम्मेलन गर्नुको उद्देश्य के हो?
समग्र अर्थतन्त्र सुस्ताएको अवस्थामा घरजग्गा कारोबार पनि सुस्त हुनु स्वभाविक हो। घरजग्गा कारोबार नबढ्नुका पछाडि यससम्बन्धी ऐन, कानुन तथा अन्य विभिन्न पक्षहरु छन्। भूमिको नीति कस्तो हुनुपर्छ? विदेशी मुलुकमा कस्ता किसिमका नीतिगत व्यवस्था छन्? यी विषयमा पनि मध्येनजर गर्न आवश्यक छ। त्यसैले यी कुरालाई केन्द्रमा राखेर नै हामीले ज्ञान साटासाट गर्ने उद्देश्यसहित रियल इस्टेट मेला आयोजना गर्न लागेका हौं। यसले हाम्रो घरजग्गा कारोबारको वर्तमान अवस्था, समस्या र आगामी बाटो पहिल्याउन मद्दत पुग्नेछ।
विगतमा पनि यस्ता सम्मेलन भएका थिए। त्यसको परिणाम कस्तो देखिएको छ?
हाम्रो मुलुकमा नीति बनाउने कुराहरु एकदमै धेरै हुन्छ। हरेक क्षेत्रमा प्रतिबद्धता गर्ने तर, कार्यान्वयन नहुने विगतदेखिकै समस्या हुन्। कोरोना महामारीभन्दा अगाडि हामीले दुई वटा घरजग्गा तथा आवास व्यापार सम्मेलन गरेका थियौं। यसले तत्काल परिणाम दिइहाल्ने भन्दा पनि एउटा नीति निर्धारण गर्न मद्दत गर्दछ। मानिसमा भएका अलगअलग आइडिया र विचारलाई साटासाट गर्ने प्लेटफर्म यसले प्रदान गर्दछ। सम्मेलनको मुख्य योजना भनेको पनि यिनै ज्ञान र विचार साटासाट गर्नु हो। यसले सबैलाई फाइदा पुर्याउँछ।
हामीले गर्ने सम्मेलनले अगाडि कसरी बढ्ने भन्ने विषयलाई मद्दत पुर्याउँछ। उदाहरणका लागि केही दिन अघि भएको लगानी सम्मेलनले तत्कालै ठूलो मात्रामा लगानी भित्र्याइहाल्दैन। तर, यसले एक किसिमको ब्रान्डिङ गर्छ र पछि दिर्घकालीन रुपमा फाइदा पुर्याउँछ। हामीले गर्ने सम्मेलन पनि यस्तै किसिमको हो। यसले तत्कालै देखिने परिणाम नल्याए पनि केही समय पछिका लागि राम्रो वातावरण तयार गर्न मद्दत पुर्याउँछ। यसले एउटा सकारात्मक र बजार चलायमान हुने सन्देश दिन्छ।
सम्मेलनमा व्यापार पनि हुन्छ कि, खालि जानकारी दिने उद्देश्य मात्र हो? यस्ता सम्मेलनमा संघले गरेको खर्च पनि उठ्दैन भन्ने गुनासो छ नि?
कार्यक्रमहरु खर्चिलो हुनु स्वभाविक हो। सम्मेलनमा खर्च हुने भएकाले हामीले आफ्ना सदस्यबाट पैसा उठाएर कार्यक्रम गर्ने गर्दछौं। यसका अलावा कार्यक्रम गर्नका लागि नै भनेर हामीसँग बेग्लै बजेट हुँदैन। यसर्थ, पनि आर्थिक रुपमा फाइदा पुग्ने वा आम्दानी हुने भन्ने विषय आउँदैन। आम्दानी गर्ने तथा कारोबारको मात्रा हेर्नेभन्दा पनि यो सम्मेलन विशुद्ध ज्ञान साटासाट गर्ने कार्यक्रम हो। विशेषगरी यस्ता कार्यक्रमहरुमा आर्थिक कारोबार हुँदैनन्। यो कार्यक्रम जनता, नीति निर्माता तथा व्यवसायी साथीहरुका लागि महत्त्वपूर्ण हुन्छ। व्यावसायिक साथीहरुलाई सबै कुरा जानकारी नहुने भएकाले हामीले ज्ञान साटासाटको महत्त्वपूर्ण प्लेटफर्मको रुपमा यसलाई प्रयोग गर्दै आएका छौं।
घरजग्गाको मूल्य अत्यधिक छ। अहिले पनि मूल्य नघटेसम्म कारोबार बढ्दैन भन्छन्। तपाईलाई के लाग्छ?
वास्तवमा घरजग्गाको मूल्य हाम्रो देशमा बढी नै छ। तर, आर्थिक कारोबार सुस्त छ। त्यसैको असर हाम्रो जग्गाजमीन कम कारोबार हुनेमा पनि परेको छ। आर्थिक कारोबार चलायमान भएको खण्डमा स्वाभाविक रुपले घरजग्गा कारोबार पनि बढ्छ। नेपालले पटकपटक आर्थिक मन्दी भोग्दै आएको छ। आर्थिक मन्दी हुँदा पनि घरजग्गाको मूल्य घटेका उदाहरण एकदमै कम छन्। कारोबार कम हुँदा मूल्य नै कम भएर गएको अवस्था देखिँदैन पनि।
यस्तो अवस्थामा मूल्य कम हुनेभन्दा पनि बरु स्थिर रहने गरेको उदाहरण प्रशस्त छन्। विगतका अनुभवहरुले पनि यस्तै देखाउँछ। यद्यपि, यो समयमा मूल्य यस्तो हुन्छ भनेर भन्न सकिँदैन। राष्ट्र बैंकले कर्जा अनुपात नीतिलाई खुकुलो बनाउन आवश्यक छ। हरेक क्षेत्रमा आम नागरिकको मनोबल कमजोर भएकाले यसलाई बढाउने वातावरण सरकार तथा सम्बन्धित निकायले गर्नुपर्दछ।
सरकारले आगामी आर्थिक वर्षको बजेट निर्माण गरिरहेको छ। केही समय पछि मौद्रिक नीति पनि आउँछ। यसबाट कस्तो नीतिको अपेक्षा गर्नुभएको छ?
मौद्रिक नीति समीक्षामा कर्जा अनुपातलाई सहज बनाउन आवश्यक छ। हरके वर्षको बजेटमा हामीले राख्दै र भन्दै आएका धेरै कुराहरु कार्यान्वयनमा आउन सकेका छैनन्। आगामी बजेटले यी कुरालाई मध्येनजर गर्छ भन्ने हाम्रो अनुमान छ। सरकारले करको दायरा फराकिलो बनाउने कुरा गर्दै गर्दा रियल इस्टेटको दायरा पनि फराकिलो बनाउन सक्नुपर्दछ।
जोखिमभार कम गर्ने, विदेशी नागरिकले पनि अपार्टमेन्ट खरिद गर्न पाउने व्यवस्था कार्यान्वयनमा ल्याउन आवश्यक छ। ल्यान्ड पुलिङको जिम्मा सरकारले निजी क्षेत्रलाई दिन आवश्यक छ। घरजग्गा कारोबार पारदर्शी बनाउन सेयर बजारमा धितोपत्र बोर्ड भएजस्तै एउटा नियामक निकाय बनाउन आवश्यक छ। यी कुराहरु आउनुपर्छ भनेर हामीले पटकपटक सरकार तथा सम्बन्धित निकायलाई भन्दै आएका छौं।