काठमाडौं। बिहीबार दिउँसोदेखि इन्टरनेट सेवा अवरुद्ध भएको मौकामा नेपाल टेलिकम र एनसेलले आफ्नो प्रचार व्यापक बनाएका छन्।
पटकपटक ताकेता गर्दा पनि ब्यान्डविथको भुक्तानी नगरेको भन्दै भारतीय अपस्ट्रिम प्रदायकले आफ्नो सेवा रोक्का गरेको बहानामा बिहीबार अधिकांश इन्टरनेट कम्पनीले सेवा अवरोध गरेका थिए। सोही मौका छोपेर नेपाल टेलिकम र एनसेलले आफ्नो अफरको प्रचारदेखि ग्राहकको मोबाइलमा म्यासेजसम्म पठाउने गरेका छन्।
अधिकांश इन्टरनेटमा समस्या आइरहेका बेला नेपाल टेलिकमले आफ्नो आधिकारीक फेसबुक पेजमा ‘टेलिकमको भरपर्दो एनटी–फाइबर इन्टरनेट सेवाबारे जानकारी लिन, जडान तथा मर्मत सम्भारका लागि कार्यालय पुग्नुपर्दैन। शुल्क नलाग्ने नम्बर १९८ डायल गरी सेवा लिन सकिन्छ’ भन्दै पहिलो पोस्ट गर्यो। उक्त पोस्टमा एक महिनासम्म बिना कुनै शुल्क ५० एमबिपिएस स्पिड लिन पाउने उल्लेख छ।
यसको लगत्तै टेलिकमले फेसबुक पेजमा पुनः अर्को पोस्ट गर्यो। उक्त पोस्टमा ‘के तपाईं इन्टरनेट अवरुद्ध भएर समस्यामा त पर्नुभएको छैन?’ भन्दै प्रश्न गरिएको थियो। साथै, सोही पोस्टमा इन्टरनेट सेवा प्रदान गर्न टेलिकम हरदम तयार रहेको र टेलिभिजनसहितको फाइबर नेट जडान गर्न सकिने उल्लेख गरिएको थियो। फोरजी वाइफाइका लागि नमस्ते वाइफाइ प्रयोग गर्न टेलिकमले ग्राहकलाई सुझाएको थियो।
त्यसको करिब दुई घण्टापछि टेलिकमले फेरी सोही अफर र योजनाको प्रचार गर्दै आफ्नो फेसबुक पेजमा दुई ‘स्टोरी’समेत सेयर गरेको थियो। तर, नेपाल टेलिकमको प्रचार अभियान यतिमा मात्रै रोकिएन टेलिकमले आफ्नो सिमका प्रयोगकर्ताको मोबाइलमा म्यासेज नै पठायो। टेलिकमले पठाएको सन्देशमा ‘ढुक्कले इन्टरनेट सेवा चलाउन पाउनुभएको छैन? नेपाल टेलिकमको सस्तो एवं भरपर्दो फोरजी मोबाइल डेटा तथा एनटी फाइबर सेवामार्फत् ढुक्कले इन्टरनेट सेवा चलाउनुहोस्’ भनिएको छ।
यस्तै, नेपालको निजी दूरसञ्चार कम्पनीले पनि इन्टरनेट अवरुद्ध भएको समयमा आफ्नो प्रचारलाई प्राथमिकतामा राख्यो। एनसेलले आफ्नो आधिकारीक फेसबुक पेजमा ‘इन्टरनेटमा इस्यु? एनसेल डेटा चलाउनुहोस् कन्टिनिउ’ भन्दै पोस्ट गरेको थियो। कम्पनीले एनसेल डेटा भए कनेक्सनको के टेनसन? सर्वशुलभ साथ रहनुहोस् ढुक्कले सँधैं अन भन्दै प्रचार गर्यो।
यसपछि एनसेलले आफना् फेसबुक पेजमा पनि यस्तै स्टोरी सेयर गरेको थियो। कम्पनीले एउटै प्रचार पनि स्टोरीमा चारपटकसम्म सेयर गरेको छ। यद्यपि, नेपाल टेलिकमको तुलनामा एनसेल भने तुलनात्मक रुपमा केही कम सक्रिय भयो। नेपाल टेलिकमसँग फाइबर नेट भएकाले पनि उसले त्यसको प्रचार व्यापकरुपमा गर्यो।
बिहीबार दिउँसोबाट अन्तर्राष्ट्रिय ब्याण्डविथ प्रदायकले आफ्नो सेवा बन्द गराएपछि वल्र्डलिंक, सुबिसु, भायानेटसहितका सेवा प्रदायकमा समस्या आएको थियो। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मर्मत सम्भारमा देखिएको बेरुजु बक्यौता नतिरेको भन्दै विदेशी मुद्रा सटहीमा रोक लगाएको छ। सो कारणले गर्दा करिब एक वर्षदेखि नेपालका इन्टरनेट सेवा प्रदायकले अन्तर्राष्ट्रिय ब्यान्डविथको रकम भुक्तान गर्न सकेका थिएनन्।
सेवा प्रदायकले मर्मत सम्भारको दूरसञ्चार सेवा अन्तर्गत नपर्ने अडान राख्दै आएका छन्। उनीहरुले भुक्तानी रोकिएको नेपालको इन्टरनेट सेवा जुनसुकै समयमा अवरुद्ध हुने तर्क गर्दै आएका थिए। सोहीअनुसार बिहीबार दिउँसोबाट देशभरको इन्टरनेटमा समस्या आयो।
त्यसपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले साँझ एक विज्ञप्ति जारी गर्दै कानुन बमोजिम तिर्नुपर्ने राजस्व नतिरेर इन्टरनेट जस्तो अत्यावश्क सेवा अवरुद्ध नगर्न सेवा प्रदायकलाई आग्रह गरेको थियो। यसको केही समयपछि बिहीबार बेलुकाबाट नै इन्टरनेट सेवा पुनः सञ्चालनमा आइसकेको छ।